स्थायी कमिटीमा पूर्वमाओवादी समेटिए, महिला अटाएनन्
पुनर्गठित स्थायी कमिटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, किरण गुरुङ, मणि थापा र पुष्पराज कँडेल छन् । एकजना पनि महिला नपरेकोमा असन्तुष्टि देखिएको छ ।
नवौँ महाधिवेशनबाट निर्वाचित नेता बाहिर, वामदेवले गरे अस्वीकार
एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने स्थायी कमिटीबाट हटाइएका छन् । गौतमले ओलीले गरेको पुनर्गठनलाई अस्वीकार गर्दै आफू नवौँ महाधिवेशनबाट निर्वाचित एमालेको उपाध्यक्ष रहेको बताएका छन् ।
अवैध निर्णयको कुनै औचित्य छैन : झलनाथ खनाल
बालुवाटारतिर गुटका भेला र छलफल भइरहन्छन् । एमाले बालुवाटारबाट चल्दैन । अहिले भइरहेका सबै गतिविधि अवैध हुन्, अवैध संस्थाले गर्ने निर्णय पनि अवैध नै हुन्छन् । अवैध निर्णयको कुनै औचित्य, उपादेयता र महत्व हुँदैन । हामी कसैलाई र हाम्रो अभियानलाई कुनै असर गर्दैन, अभियान जारी रहन्छ ।
आत्मसमीक्षासहित फर्किनेलाई जिम्मेवारी दिन्छौँ : प्रदीप ज्ञवाली
आत्मसमीक्षासहित फर्किनेलाई सम्मानपूर्ण व्यवहारसहित उचित जिम्मेवारी पनि दिइनेछ । त्यसैका लागि समानान्तर गतिविधि गरिरहेकालाई पार्टी एकतामा योगदान गर्न र मूल प्रवाहमा फर्किन पुनः आह्वान गर्ने निर्णय भएको छ । भूलवश त्यस्ता गतिविधिमा सहभागीलाई सच्चिन पार्टीले पुनः आग्रह गरेको छ ।
.... ....
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लगातार दुई दिन भेटवार्ता भए पनि पार्टी विवाद समाधानमा ठोस सहमति नबनेपछि एमालेका दुवै समूह अब भिन्दाभिन्दै कमिटी बनाउने प्रक्रियामा प्रवेश गरेका छन् । केही समययता एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभर समानान्तर कमिटीको अभ्यास गरेकै वेला संस्थापन मानिने ओली समूहले पनि खनाल–नेपाल समूहका नेताबाहेकका कमिटी गठन प्रक्रिया थालेको छ ।
ओलीले पार्टीभित्र असन्तुष्ट खनाल–नेपाल पक्षलाई बाहिर राखेर शुक्रबार स्थायी कमिटी पुनर्गठन गरेका छन् । केन्द्रीय कमिटी विघटन गेरर दशौँ महाधिवेशन आयोजक कमिटी बनाएका ओलीले स्थायी कमिटी पुनर्गठन गरेर धेरै नेतालाई चकित पारेका छन् । यससँगै लामो समयदेखि विवादमा अल्झिएको एमाले विवाद अब आखिरी चरणमा प्रवेश गरेको छ । खनाल–नेपाल समूहले देशभर समानान्तर गतिविधि चलाउने र ओली समूहले असन्तुष्ट पक्षका नेता तथा कार्यकर्तालाई कारबाही गर्ने तथा उनीहरूलाई हटाएर कमिटी पुनर्गठन गर्ने शृंखला तीव्र भएसँगै एमाले एकता जोखिममा परेको छ । दुवै पक्ष आ–आफ्नो कमिटीको होडबाजीमा जुटेपछि एमाले संकट झन्झन् गहिरो बन्दै गएको छ ।
गत ७ चैतको केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष र महासचिवबाहेक सम्पूर्ण केन्द्रीय कमिटीलाई दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरेका ओलीले विशेष परिस्थिति भन्दै शुक्रबार पुनः स्थायी कमिटीको संरचना खडा गरेका हुन् । उनले आफूपक्षीय दशौँ केन्द्रीय आयोजक कमिटीका नेताहरूको जिम्मेवारीसमेत तोकेका छन् । असन्तुष्ट पक्षका नेता नेपालसँग लगातार दुई दिनसम्मको छलफलपछि ओलीले चालेको यो कदमले एमाले विभाजनउन्मुख बनेको छ । एमालेका दुवै समूहले एक–अर्कोमाथि पार्टी विभाजनको गतिविधि गरिरहेको आरोप लगाएका छन् ।
ओलीको पछिल्लो कदमले आफूहरूले गरिरहेका पार्टी पुनर्गठनका कामलाई कुनै असर नपार्ने खनाल–नेपाल समूहको भनाइ छ । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले ओलीको कम्युनिस्ट आन्दोलन सकाउने षड्यन्त्रलाई बुझेर नै आफूहरू एमाले पुनर्गठनमा लागेकाले गुटको भेला गरेर के गर्छन् भन्ने विषयले आफ्नो अभियानमा खासै असर नपार्ने बताए ।
‘बालुवाटारतिर गुटका भेला र छलफल भइरहन्छन् । एमाले बालुवाटारबाट चल्दैन । ओलीले एमाले पहिल्यै विघटन गरिसकेका थिए । त्यसैले अहिले भइरहेका सबै गतिविधि अवैध हुन्, अवैध संस्थाले गर्ने निर्णय पनि अवैध नै हुन्छन् । अवैध निर्णयको कुनै औचित्य, उपादेयता र महत्व हुँदैन । ओलीको कदमले हामी कसैलाई र हाम्रो अभियानलाई कुनै असर गर्दैन, अभियान जारी रहन्छ,’ नेता खनालले भने ।
उनले ओलीको रवैयाले एकताको सम्भावना कमजोर बनाएको र नेपालसँग भएका बातचित आफूहरूलाई अलमल्याउने दाउपेच मात्रै भएको बताए । ‘यस्ता दाउपेच ओलीले धेरै जानेका छन्, हामीले राम्रोसँग बुझेका छौँ,’ खनालले भने, ‘एमाले पुनर्गठनको हाम्रो अभियान जारी राख्छौँ ।’
नेता प्रदीप ज्ञवालीले खनाल–नेपाल समूहका नेताहरू आत्ममीक्षासहित पार्टी फर्किएर सक्रिय भएमा सम्मानपूर्ण जिम्मेवारी दिन सकिने बताए । ‘आत्मसमीक्षासहित फर्किनेलाई सम्मानपूर्ण व्यवहारसहित उचित जिम्मेवारी पनि दिइनेछ । त्यसैका लागि समानान्तर गतिविधि गरिरहेकालाई पार्टी एकतामा योगदान गर्न र मूल प्रवाहमा फर्किन पुनः आह्वान गर्ने निर्णय नै बैठकले गरेको छ,’ नेता ज्ञवालीले भने, ‘भूलवश त्यस्ता गतिविधिमा सहभागीलाई सच्चिन पार्टी पुनः आग्रह गर्छ ।’ उनले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिले आफूलाई उम्मेदवारी दिने पार्टी र मत दिने जनताको भावनाको सम्मान गर्नुपर्ने विषयमा समेत सचेत गराउने बताए ।
तटस्थ बस्दै पार्टी एकताका लागि पहल गरिरहेका वामदेव गौतमलाई पनि ओलीले पुनर्गठित स्थायी कमिटीमा दोस्रो वरीयतामा राखेका छन् । तर, गौतमले भने त्यसलाई अस्वीकार गर्दै आफू नवौँ महाधिवेशनबाट निर्वाचित एमालेको उपाध्यक्ष भएको बताएका छन् ।
गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले गौतमलाई स्थायी कमिटीमा राख्ने वा हटाउने कुराले कुनै अर्थ नराख्ने बताए । ‘एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित आधिकारिक उपाध्यक्ष भएकाले पदाधिकारी खारेज गर्ने २८ फागुनको बैठक र निर्णय अवैधानिक हो भन्नेमा उहाँ स्पष्ट हुनुहुन्छ,’ सुवेदीले भने, ‘उहाँ अझै पनि एकता पक्षधर हो । पार्टी सञ्चालनसम्बन्धी ओलीको पछिल्लो कार्यशैलीमा उहाँको सहमति छैन ।’
त्यस्तै, शुक्रबार साँझ वरिष्ठ नेता नेपाल र गौतमबीच भेटघाट भएको छ । भेटमा ओलीले चालेका कदम र बिहीबार बालुवाटारमा ओलीसँग भएको गौतमको छलफलबारे कुराकानी भएको थियो । यद्यपि, नेता नेपालले जनकपुर हुँदै गौतमसँग आफ्नो फोन र म्यासेजमा कुराकानी भएको र ओली एकताको पक्षमा नरहेको थाहा पाएको बताएका थिए । गौतमले आफू अझै पनि पार्टी एकताका लागि पहल गर्ने भन्दै दुवै पक्षसँग समान ढंगले छलफल गरिरहेका छन् ।
असन्तुष्ट पक्षविनाको स्थायी कमिटी, प्रदेश सांसदलाई कारबाही
यसअघि ६ वैशाखमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले समानान्तर गतिविधिमा संलग्न र कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसपछि ओली स्वयंको प्रस्तावमा ८ र ९ गते नेता नेपालसँग ‘वान अन वान’ छलफल भए पनि कुनै प्रगति हुन सकेन । बरु त्यसअगावै ओलीले संघीय संसद्का २७ र कर्णाली प्रदेशका पाँच गरी ३२ जना सांसदलाई एकैपटक स्पष्टीकरण सोधेका थिए । करिब पाँच महिना लामो संवादहीनतालाई तोडेर ओली र नेपालबीच छलफल भएपछि एमाले विवाद समाधान हुने केही सकारात्मक संकेत देखिएका थिए । तर, छलफलमा नेपालले २८ फागुनपछि भएका सम्पूर्ण निर्णय खारेजीको माग राखे भने ओलीले कुनै हालतमा पनि आफूलाई साथ दिनेलाई दिएको जिम्मेवारीबाट पछाडि नहट्ने अडान लिए । परिणामतः शुक्रबारको बैठकबाट ओलीले खनाल–नेपाल समूहविनाको स्थायी कमिटी निर्माण मात्रै गरेनन्, कर्णाली प्रदेशका चारजना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरे । बरु माओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटीमा राखे ।
पुनर्गठित स्थायी कमिटीमा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, किरण गुरुङ, मणि थापा र पुष्पराज कँडेल छन् । तर, एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित माधवकुमार नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने स्थायी कमिटीबाट हटाइएका छन् । साथै, एकजना पनि महिलालाई ओली पक्षले स्थायी कमिटीमा स्थान दिएको छैन । कानुनतः हरेक पार्टी कमिटीमा महिलाको ३३ प्रतिशत संख्या सुनिश्चित गरिनुपर्दछ ।
ओलीले कर्णाली प्रदेशमा ३ वैशाखमा भएको मतदानमा ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चारजनालाई पार्टी सदस्यबाट निष्कासन र प्रदेश सभालाई आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराउने निर्णय गरेका छन् । ज्ञवालीका अनुसार प्रदेश सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई कारबाही गर्ने निर्णय बैठकले गरेको छ । ज्ञवालीका अनुसार ‘फ्लोर क्रस’ गरेर सच्याएकी अर्की सांसद दिलकुमारी ओलीलाई भने २७ जना संघीय सांसदसँगै के गर्ने भन्ने स्थायी कमिटीले निर्णय गर्नेछ । ‘बाँकी एकजना र संघीय संसद्का २७ जना सांसदको स्पष्टीकरणको जवाफ अध्ययन गरेर निर्णय गर्ने जिम्मेवारी नवगठित स्थायी कमिटीलाई दिइएको छ,’ ज्ञवालीले भने ।
बैठकले दुई सय ६५ जनाको केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनसमेत गरेको छ । अधिकांश केन्द्रीय सदस्यलाई जिल्लाको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिएको छ । विभागमध्ये संगठन विभाग प्रमुखको जिम्मेवारीमा विष्णु पौडेल, प्रचार विभाग प्रमुखको जिम्मेवारीमा प्रदीप ज्ञवाली र स्कुल विभागको जिम्मेवारीमा अध्यक्ष ओली आफैँ छन् । विदेश विभागको जिम्मेवारी राजन भट्टराईलाई दिइएको छ । विद्यार्थी विभागमा खिमलाल भट्टराई, युवामा महेश बस्नेत र महिला विभागमा गोमा देवकोटा प्रमुख भएका छन् ।
त्यस्तै, माओवादी केन्द्र छाडेपछि रामबहादुर थापाले गुमाएको राष्ट्रिय सभा सदस्य पदको स्थानमा हुन लागेको आसन्न उपनिर्वाचनमा पुनः ओली पक्षले थापालाई नै उम्मेदवार बनाउने भएको छ । ‘निर्णय भइसकेको छैन, उहाँलाई नै उम्मेदवार बनाउने सम्भावना बढी छ,’ ज्ञवालीले भने ।
ओली–नेपाल छलफलपछि सम्बन्ध झनै तिक्त

दुई दिन लगातार ‘वान अन वान’ वार्ता गरेका ओली र नेपालले त्यसको भोलिपल्ट परिस्थिति थप जटिल बनेको संकेत गरे । राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीका नेताहरूविरुद्ध विष वमन गर्ने, सरकारको आलोचना गर्ने र पार्टी खोस्ने ढंगले आउनेलाई अब पार्टीमा स्थान दिन नसकिने स्पष्ट पारे ।
उनले त्यसअघि बिहीबार एमालेको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पनि पार्टीभित्र भइरहेका गुटगत गतिविधिलाई कुनै हालतमा मान्यता दिन नसकिने बताएका थिए । ‘नेताहरूलाई सम्झाउने–बुझाउने प्रयास गरिरहेका छौँ । त्यसलाई कमजोरीको रूपमा नलिइयोस्,’ उनले भनेका थिए, ‘अहिले पनि हाम्रो प्रयास पार्टीभित्र क्षति नहोस् भन्नेमा छ । तर, पार्टी जे पनि गर्न पाइने, अराजकता पनि हुने, अनुशासनहीनता पनि चल्ने खालको ठाउँचाहिँ होइन । पार्टी अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैन ।’
उनले नेपालसँग भइरहेको छलफललाई इंगित गर्दै व्यक्तिगत तवरमा सबैसँग कुराकानी हुन सक्ने, तर गुटगत हिसाबले कसैसँग पनि छलफल नहुने पुरानै भनाइलाई दोहो¥याएका थिए । उनले यसलाई कमजोरी ठाने र पार्टीलाई फेरि बिथोल्न सकिन्छ भन्ने मनसायले गुटको प्रतिनिधित्व गर्दै कसैले कुरा गर्न खोजे त्यो सम्भव नभएको बताएका थिए । त्यसपछि नेपाललाई भेट्न होटेल मेरियट पुगेका ओलीले नेपालले राखेको २८ फागुनपछि भएका निर्णय खारेजीको मागलाई सम्बोधन गर्न नसक्ने भन्दै अघिल्लो दिनको भन्दा कडा जवाफ दिए ।
पार्टी कार्यालय शिलान्यास गर्दा ओलीले दिएको अभिव्यक्ति आफूपक्षीय स्थायी कमिटी नेताहरूसँग बसेर सुनेका नेता नेपालले दोस्रो भेटमा ‘कुनै प्रगति नभएको’ प्रतिक्रिया दिएका थिए । त्यसको भोलिपल्ट नेता नेपालले जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीको कडा आलोचनासमेत गरेका छन् । ‘मिल्नका लागि वार्ता गर्न जाँदा ओलीले उल्टै दम्भ देखाएको र हुर्मत लिन खोजेको’ प्रतिक्रिया नेपालले दिएका छन् । ‘ओली कुनै हालतमा एकताको पक्षमा हुनुहुन्न । एउटा भनाइ छ– खाए खा, नखाए घिच । माने मान, नभए बाटो खुला छ, जा । यो ढंगको अहंकार र दम्भ छ ओलीमा,’ नेता नेपालले भने, ‘ओलीको दम्भ अहिले धरहराभन्दा माथि चढेको छ । त्यो दम्भको कुनै अर्थ छैन ।’