पछिल्लो समय कुम्भमेला र चुनावी र्यालीजस्तो भिड हुने कार्यक्रम धेरै आयोजना भएर संक्रमण नियन्त्रण भगवान् भरोसामा छाडिएको थियो
अघिल्लो वर्ष यही समयमा भारतको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कोरोनाको दैनिक संक्रमण कति दिनमा दोब्बर भइरहेको छ भन्ने हिसाब गरिरहेका थिए । दोब्बर हुने दरले नयाँ संक्रमण बढ्ने दर कम भए नभएको अन्दाज लगाउन सकिन्छ । सेप्टेम्बरमा नयाँ संक्रमण एक लाख पुगेपछि घट्न थालेको थियो जुन १० हजारभन्दा तल गएको थियो । अन्य देशमा संक्रमणको दोस्रो, तेस्रो लहर आइरहँदा भारत भने महामारीलाई जितेझैँ जोसमा थियो ।
आज भारतको कोरोनासंक्रमण दोब्बर हुने दर यस्तो छ– आठ दिनमा संक्रमितको संख्या २० हजार बाट ४० हजार पुग्यो । १४ दिनमा ८० हजार भयो र त्यसको दुई गुणा अर्थात् १६० हजार हुन १० दिन मात्र लाग्यो । र, चौथोपटक संक्रमितको संख्या दुई गुणा हुँदै छ । अस्पतालमा बेड, भेन्टिलेटर, अक्सिजनको कमी आउन थालेको छ । मेको मध्यमा दैनिक ६ लाख संक्रमितसम्म पुग्न सक्ने प्रक्षेपण छ । यसले सम्पूर्ण व्यवस्थामाथि ठूलो दबाब पार्नेछ । त्यतिवेला आउने भयानक महामारी भारतले अहिलेसम्म नदेखेको स्तरको हुन सक्छ । र, पुनः लामो लकडाउन लगाउनुपर्ने हुन सक्छ । पछिल्लो वर्ष सूचना नदिई लगाएको लकडाउन (जुन पूरै देशमा लगाइएको थियो जब कि त्यसवेला कोरोनाका केसहरू केही क्षेत्रमा मात्र देखिएका थिए)बाट प्राप्त गरिएको अनुभव योपटक भयानक असरबाट बच्न काम लाग्न सक्छ ।
खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रको क्षमता तीव्रताका साथ बढाउन आवश्यक छ । कैयौँ कम्पनी र व्यवसायी क्षेत्र पहिलेदेखि संकटग्रस्त थिए, नयाँ झट्काले उनीहरू उठ्न नसक्ने भएका छन् ।
कामदारलाई तिनकै कार्यस्थलमा सहयोग दिएर अड्याउन सकिन्छ । गाउँ फर्कन चाहनेहरूका लागि यातायातको व्यवस्था मिलाउन सकिन्छ । मद्दतका लागि अगाडि आउन चाहने सामाजिक संगठन र कार्यकर्तालाई प्रोत्साहन दिन सकिन्छ । समय निकै कम भएकाले लकडाउन विस्तार हुनुअघि नै यी व्यवस्थामा ध्यान दिनु उपयुक्त हुन्छ । बढ्दो आलोचनाबाट बच्न सरकारले ढिलै भए पनि खोप सप्लाई बढाउने निर्णय गरेको छ । तर, खोपको एक निर्माताले सप्लाई बढाउन आर्थिक सहायताको माग गर्यो, तर त्यसको जवाफ दिइएको छैन । खोपमा मूल्य नियन्त्रण हटाउनुपर्छ । यो विषयमा विमर्शको आवश्यकता जरुरी छ । खोपको मूल्य निर्माताका लागि केही फाइदा आउने गरी राख्नुपर्छ । फाइदा नहुने मूल्यको नतिजा उल्टो हुन सक्छ ।
अहिलेकै शैलीले खोप अभियान तीव्र सञ्चालन गर्न सम्भव छैन । यसले गर्दा महामारी नियन्त्रणमा थप कठिनाइ आउँछ । खोप अभियान तीव्र बनाउन स्वास्थ्यसेवाको क्षमता व्यापक बढाउन जरुरी देखिन्छ ।
उत्पादनमा आएको गिरावटले देशको आर्थिक पुनर्बहालीको सम्भावनामाथि नै प्रश्न उब्जिएको छ । कैयौँ कम्पनी र बिजनेस सेक्टर पहिलेदेखि आर्थिक रूपमा बिरामी थिए, अहिलेको नयाँ झट्काले उनीहरूलाई निकै असर गर्छ । नोक्सान स्थायी बनाउनबाट रोक्न र आर्थिक पुनर्बहालीमा नकारात्मक असर हुन नदिन पछिल्लो वर्षमा जस्तै आर्थिक सहायता, सहुलियतको ऋण र अन्य उपाय अभ्यासमा ल्याउन सकिन्छ । आर्थिक सहायताको आवश्यकता उद्योगलाई मात्र नभएर उपभोक्तालाई पनि छ । यो वर्ष आर्थिक घाटा र सार्वजनिक उधारोबाट बच्न मुस्किल छ । यो संकटसँग जुझ्न महँगो मूल्य तिर्नुपर्नेछ ।
स्कुले शिक्षा, साक्षरता र स्कुलमा हुने कम भर्नाबाट पनि बच्न असम्भव नै छ । तर, विद्यार्थीको एक शैक्षिक सत्र बचाउने हरसम्भव प्रयास गर्नु जरुरी छ । महामारी घट्नुअघि बोर्ड परीक्षाहरू लिन सकिँदैन । त्यसैले अगाडिका शैक्षिक सत्रलाई छोट्याउनु पर्छ । यी तमाम मुद्दामा सरकारले समाधान खोज्नुपर्छ । राज्य सरकारले मृत्युको तथ्यांकमाथि छेडखानी गर्न बन्द गर्नुपर्छ । संकटबाट सही तरिकाले बच्नु छ भने त्यसको विकरालतालाई बुझ्नुपर्छ ।
विगतमा थाल ठटाउनेदेखि लिएर बत्ती निभाउने, नौ बजे राति नौवटै मैनबत्ती बाल्ने, हेलिकोप्टरबाट अस्पतालमा फूल वर्षा गर्नेजस्ता गैरजिम्मेवार कार्य हामीले देख्यौँ । पछिल्लो समय कुम्भमेला र चुनावी र्यालीजस्तो भिड हुने कार्यक्रम धेरै आयोजना भए । संक्रमण नियन्त्रण भगवान् भरोसामा छाडिएको थियो । समय बितिसकेको छ । अब रोग नियन्त्रणमा सरकार गम्भीर भएर लाग्न जरुरी छ ।
(नायनन बिजनेस प्राइभेट लिमिटेडका अध्यक्ष हुन्)
द प्रिन्टबाट