२० वर्षको युद्धमा जीवन गुमाएका एक लाख अफगान नागरिकको बेवास्ताप्रति अब प्रश्न गरिनुपर्छ, तर बाइडेनले तिनको उल्लेख गर्न पनि आवश्यक ठानेनन्
अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अफगानिस्तानबाट अमेरिकी सैनिकको फिर्तीको अन्तिम समयसीमा तोकेर धेरैलाई आश्चर्यमा पारे । बाइडेनले यही वर्षको सेप्टेम्बर ११ सम्म अफगानिस्तानमा तैनाथ सबै अमेरिकी फौज फिर्ता गरिसक्ने घोषणा गरे । यस वर्ष अमेरिकी भूमिमा अलकायदाको आक्रमणको २० वर्ष हुनेछ । नेटोले पनि उही समयतालिका पछ्याएर आफ्ना ७ हजार गठबन्धन सेना फिर्ता गर्ने घोषणा गर्यो । अफगान युद्ध अन्त्यको बाचा गर्ने बाइडेन चौथो अमेरिकी राष्ट्रपति हुन् । युद्धमा दुई हजार ३०० भन्दा बढी अमेरिकी सेनाको मृत्यु भयो भने २० हजारजति घाइते भए । युद्धको मार मुख्यतः अफगान नागरिकमाथि प/यो । यस युद्धमा झन्डै एक लाख अफगान नागरिकको मृत्यु भयो । ९/११ को आक्रमणपछि पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले अफगानिस्तान युद्धमा जाने निर्णय गरेका थिए । त्यसवेला यो युद्ध कसरी अगाडि बढ्नेछ र कति वर्ष लम्बिनेछ भन्ने अनिश्चितता थियो ।
बुसले अलकायदालाई उचित सजाय दिलाएलगत्तै युद्ध अन्त्य हुने घोषणा गरेका थिए । तर, अलकायदाका प्रमुखलाई मार्ने सफलता भने बुसका उत्तराधिकारी बाराक ओबामाले पाए । ओबामाले निगरानीमा अमेरिकी नेभीले सञ्चालन गरेको गोप्य अप्रेसनले सन् २०११ मे २ मा ओसामा विन लादेनलाई मार्यो ।
ओबामापछि डोनाल्ड ट्रम्पले तालिवानसँग वार्ता सुरुवात गरे । अफगान युद्धलाई अन्त्य गर्ने यो कदम बुद्धिमत्तापूर्ण थियो । तर, वर्तमान राष्ट्रपति बाइडेनले विन लादेन मारिएकै १० वर्ष भएकाले अमेरिकी युद्ध अन्त्य गर्ने समय आएको बताए । तर, उनले ‘हामी पछि हट्दा तालिवानले आक्रमण गरे आफू र आफ्नो सहयात्रीको प्रतिरक्षामा सम्पूर्ण शक्ति प्रयोग गर्ने बताए ।’ बाइडेनको भाषणमा अफगानिस्तानभित्रको नागरिक हताहती उल्लेख नहुनु सबैभन्दा दुःखद पक्ष हो ।
९/११ को आक्रमणमा अफगान जनताको कुनै संलग्नता नै थिएन, अफगान युद्ध अमेरिकाको सबैभन्दा ठूलो रणनीतिक असफलता हो
विगत २० वर्षको युद्धमा जीवन गुमाएका एक लाख अफगान नागरिकको बेवास्ताप्रति अब प्रश्न गरिनुपर्छ । लादेन मारिएपछि अमेरिकाको अफगानिस्तानमा कुनै काम थिएन भने यत्रो दश वर्ष किन अलमलिएको भनेर पनि प्रश्न गर्नुपर्छ । विगत २० वर्षको अवधिमा अफगानिस्तानमा अमेरिकाले के पायो भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । झन्डै लाखको संख्यामा अफगान नागरिक मारिए, त्योभन्दा धेरै नागरिक अंगभंग भएका छन् , तर बाइडेनले तिनको उल्लेख गर्न पनि आवश्यक ठानेनन् । जुन अवस्थाको लागि अमेरिकी साम्राज्यवाद सबैभन्दा बढी जिम्मेवार छ, बाइडेनले त्यसको चर्चा नै गरेनन् ।
गैरजिम्मेवार टिप्पणी गर्नुभन्दा अमेरिकी राष्ट्रपतिले आतंकवादविरुद्धको युद्ध अभियानलाई असफल घोषित गर्नुपथ्र्यो । अफगान नागरिक विगत २० वर्षमा अमेरिकाले पुर्याएको सहयोगका लागि कृतज्ञ छन् । तर, तिनले अमेरिकाको बसाइ लम्ब्याउन भिख मागेका थिएनन् । बरु अफगान शासकलाई एकताको प्रदर्शन गरेर संकटको नेतृत्व गर्ने ठूलो अवसर थियो । भावी दिनमा पनि अफगान नेतृत्वले बलियो एकता प्रदर्शन गरेर राष्ट्रिय स्वार्थका लागि व्यक्तिगत तथा समूहगत स्वार्थभन्दा माथि उठ्नुपर्छ । अहिलेको सबैभन्दा महत्वपूर्ण विषय सबै अफगान (जसमा तालिवानसमेत पर्छन्)ले एकअर्काको कुरा सुन्नुपर्छ र वर्तमान द्वन्द्वको समाधान खोज्नुपर्छ ।
९/११ को आक्रमणपछि अमेरिकाले सबै प्रकारका आतंकवादविरुद्ध युद्धको घोषणा गर्यो र यसको सुरुवात विश्वको गरिबमध्येको एक देश अफगानिस्तानमाथि आक्रमणबाट भयो । जबकि ९/११ को आक्रमणमा अफगान जनताको कुनै संलग्नता नै थिएन । यो अमेरिकाको सबैभन्दा ठूलो रणनीतिको असफलता हो । लगत्तै इराक निसाना बन्यो । इराकको पनि ९/११ आक्रमणमा संलग्नता थिएन । शान्ति र सार्वभौमिकता उपभोग गरिरहेको इराक खरानीमा परिणत भयो । यी दुवै आक्रमणबाट विश्व पहिलेभन्दा कुनै हिसाबमा पनि सुरक्षित बनेको छैन ।
९/११ को आक्रमणमा ज्यान गुमाएका तीन हजार निर्दोष नागरिकका लागि बदला लिन अमेरिकाले विभिन्न देशमा आक्रमण गर्यो । र, अमेरिकी भूमिमा भएको आक्रमणमा कुनै भूमिका नभएका लाखौँ निर्दोष नागरिक मारिए र थप कैयौँ मानिस घाइते भए । आतंकवादविरुद्धको युद्धले अफगानिस्तान र इराकी नागरिकलाई थप युद्ध तर थप आतंक मात्र दियो । आज अफगानिस्तानमा एक दर्जन आतंकवादी समूह सक्रिय छन् । अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थितिमाझ नै आइएसजस्तो अतिवादी समूह फैलियो । यो अमेरिकाको आतंकवादविरुद्धको युद्ध असफल रहेको दृष्टान्त हो । कल्पना गर्नुस् ९/११ को आक्रमणपछि अमेरिकाले आतंकवादविरुद्ध युद्ध घोषणा नगरेर प्रहरी, अन्तर्राष्ट्रिय कानुन, गुप्तचर सूचना आदानप्रदान र वार्तामाथि भर परेको भए विश्व अहिलेभन्दा बढी शान्तिपूर्ण हुने थियो ।
(फैजी अफगानिस्तान टाइम्सका प्रधानसम्पादक हुन्)
ग्लोबल टाइम्सबाट