त्रिदेशीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेलमा सोमबार मलेसियासँग प्रतिस्पर्धा गर्दै छ । प्रतियोगिताको उद्घाटन खेलमा शनिबार नेदरल्यान्ड्सलाई ९ विकेटको अन्तरले पराजित गरेको नेपालले मलेसियाविरुद्ध पनि जितको शृंखला कायमै राख्ने अपेक्षा गरिएको छ । खेल त्रिवि क्रिकेट मैदानमा दुई बजेपछि सुरु हुनेछ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट प्रभावित मलेसिया र नेपाली दुवै टोली १३ महिनापछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फर्किएका हुन् ।
नेपाल र मलेसियाले पछिल्लोपटक १७–२३ फागुन ०६७ मा थाइल्यान्डमा भएको एसियाली क्रिकेट काउन्सिल (एसिसी) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सँगै खेलेका थिए । उक्त प्रतियोगिताअन्तर्गत भएको भेटमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो ।
टी–२० क्रिकेटमा नेपालले मलेसियासँग समग्रमा अहिलेसम्म आठ खेल खेल्दा पछिल्लो पराजय मात्रै दोस्रो थियो । नेपालले त्यसअघि सन् २००९ को एसिसी ट्रफीअन्तर्गत भएको प्रतिस्पर्धामा ६ विकेटको पराजय व्यहोरेको थियो । त्यसबाहेकका ६ खेलको नतिजा नेपालले आफ्नो पक्षमा पारेको थियो । सोमबारको भेटअघि नेपाली टोलीलाई यो इतिहासले पनि प्रेरित गर्नेछ । त्यसमाथि शनिबार बलियो टोली नेदरल्यान्ड्सलाई ९ विकेटको भारी अन्तरले पराजित गरेकाले पनि नेपाली खेलाडीहरू उच्च मनोबलमा छन् ।
त्यसको तुलनामा मलेसियाको सुरुवात भने सुखद हुन सकेन । मलेसिया आइतबार भएको खेलमा नेदरल्यान्ड्सँग १५ रनले पराजित भएको छ । दोहोरो राउन्ड रोविन लिग प्रणालीमा प्रतिस्पर्धा हुने यो प्रतियोगिताको फाइनल पुग्न यो खेलमा दुवै टोलीलाई जितको नतिजा महत्वपूर्ण रहेको छ ।
विशेषगरी नेदरल्यानड्सविरुद्ध जस्तै नयाँ र युवा खेलाडीबाट प्रतियोगिताका बाँकी खेलमा पनि निरन्तर उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ । नेदरल्यान्ड्सविरुद्धको खेलबाटै टी–२० अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि एक सय १६ रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पारेको थियो । अस्ट्रेलियन प्रशिक्षक देव वाटमोरको नेतृत्वमा पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भइरहेको नेपालले थप सफलता आत्मसात् गर्ने विश्वास गरिएको छ ।
म्याक्स ओडोउडको शतकमा नेदरल्यान्ड्स विजयी
प्रारम्भिक ब्याट्सम्यान म्याक्स ओडोउडको शतकीय इनिङ्समा त्रिदेशीय शृंखलाअन्तर्गत नेदरल्यान्ड्सले दोस्रो खेलमा महत्वपूर्ण जित हात पारेको छ । नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले पराजित गर्यो । त्रिवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ९१ रनको योगफल तय गरेको थियो । टोलीका लागि म्याक्सले अविजित एक सय ३३ रनको शतकीय योगदान दिए । उनी टी–२० क्रिकेटमा शतक प्रहार गर्ने नेदरल्यान्ड्सको पहिलो क्रिकेटरसमेत बनेका छन् ।
जवाफी ब्याटिङमा आएको मलेसिया निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ७६ रनमै रोकिएपछि नेदरल्यान्ड्स विजयी बनेको हो । मलेसियाका लागि चौथो क्रमका ब्याट्सम्यान भिरन्दीप सिंहले ५३ बलमा ८७ रनको योगदान दिएका थिए । उनी आउट भएसँगै मलेसियाको जितको आशा पनि समाप्त भएको थियो । नेदरल्यान्ड्सले प्रतियोगितामा दोस्रो खेलबाट पहिलो जित हात पारेको छ भने मलेसियाले पहिलो खेलमा पराजय व्यहोरेको छ ।