नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको संख्यामा वृद्धि भएको छ ।
गत महिनासम्म न्यून मात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा रु. ३४ करोडभन्दा बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन ०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र रु. ३४ करोड ३० लाखभन्दा बढीको कारोबार भएको छ ।
गत माघमा रु. एक अर्ब ७१ करोड २० लाखबराबरको कारोबार भएकोमा फागुनमा रु. दुई अर्ब ५५ करोडबराबरको कारोबार भएको हो । यसैगरी, गत माघ महिनामा पाँच लाख ३५ हजार सात सय ९० पटक कारोबार भएकोमा फागुनमा ६ लाख ३५ हजार सात सय ३८ पटक कारोबार भएको छ । पछिल्लो समय कनेक्ट आइपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत रु. १० अर्बभन्दा बढीको कारोबार भएको छ ।
कनेक्ट आइपिएसमार्फत एक खर्ब दश अर्बको कारोबार
राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकअनुसार कनेक्ट आपिएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करिब डेढ खर्बभन्दा बढीको कारोबार भएको छ । माघमा मात्र रु. एक खर्ब ७२ अर्ब चार करोड ६० लाखभन्दा बढीको कारोबार भएको छ । गत माघमा रु. एक खर्ब ६३ अर्ब ८७ करोडभन्दा बढीको कारोबार भएको थियो । गत माघको तुलनामा फागुनमा मात्र रु. आठ अर्ब १७ करोड ६० लाखभन्दा बढीको कारोबार भएको छ ।
यसैगरी माघमा मोबाइल बैकिङमार्फत रु. ४० अर्ब ३५ करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ । गत माघमा रु. ३८ अर्ब ५९ करोडभन्दा बढीको कारोबार भएको थियो । फागुनमा मोबाइल बैंकिङमार्फत एक करोड ८२ हजारपटक कारोबार भएको छ । इन्टरनेट बैंकिङमार्फत रु. आठ अर्ब ८८ करोड बढीको कारोबार भएको छ । वालेटमार्फत रु. १० अर्ब १८ करोडभन्दा बढीको कारोबार भएको छ । गत माघमा वालेटमार्फत रु. नौ अर्ब ९४ करोड ८० लाखबराबरको कारोबार भएको थियो । एक महिनामा एक करोड ६१ लाख चार हजारपटक कारोबार भएको छ ।
यसैगरी गत माघमा अनलाइन (इ–कमर्स) बाट रु. ९३ करोड २० लाखबराबरको कारोबार भएकोमा फागुनमा उक्त रकममा कमी आएको छ । गत माघको तुलनामा इ–कमर्सको कारोबारमा रु. दुई करोड ८० लाखले कमी आएको हो । इ–कमर्सबाट फागुनमा रु. ९० करोड ४० लाखबराबरको कारोबार भएको छ । रासस