कसरी जोगिने वायु प्रदूषणबाट ?

सोमबार, ३० चैत, २०७७
डिजिटल संस्करण

इन्डियन डाटा इन्टेलिजेन्स युनिट (आडिआइयू)ले सन् २०१९ मा गरेको अध्ययन अनुसार, २४ घन्टामा प्रतिघनमिटर हावामा पिएम २.५ को मात्रा २२ माइक्रोग्रामभन्दा बढी हुँदा एक खिल्ली चुरोट पिएबराबर हुन्छ । यसको अर्थ यदि हावामा पर्टिकुलर म्याटर (पिएम) २.५ को मात्रा तीन सय पुग्यो भने एक दिनमा श्वास लिँदा १४ वटा चुरोट पिएबराबरको धुवाँ शरीरमा प्रवेश गर्छ । अर्थात् पछिल्लो समय खतराको तह नाघेको एक्युआईले प्रत्येक व्यक्तिमा गम्भीर असर पुर्यारहेको छ । लगातार दुई साताभन्दा बढी प्रदूषित हावामा श्वास फेर्दा स्वास्थ्यमा तत्कालीनभन्दा दीर्घकालीन असर बढी देखिन सक्छ । 

एयर क्वालिटी इन्डेक्स सयभन्दा माथि हुनु खासगरी बालबालिका र वृद्धवृद्धाका लागि हानिकारक हुने गर्छ । तर, अन्य उमेर समूहमा पनि प्रदूषित हावाले उत्तिकै असर पुर्याइरहेको छ । सामान्यतया फोक्सोमा समस्या भएका बिरामी, एलर्जी, संक्रमण फैलिएको समयमा वायु प्रदूषणले बढी असर पुर्याउने गर्छ । 

प्रदूषणले आँखा पोल्ने, रुघा लाग्ने, छाला चिलाउनेलगायतका लक्षण अल्पकालीन रूपमा देखिन थालिसकेको छ । प्रत्येक वर्ष प्रदूषणको स्तर बढ्दै गएकाले साना बालबालिकामा पनि रुघाखोकी लागिरहने, एलर्जी हुने, आँखा पोल्ने, रातो हुने, वयस्कमा छटपटी हुने रिस उठ्ने झर्को लाग्नेजस्ता मनोवैज्ञानिक असर र वृद्धवृद्धामा दम र अन्य श्वास–प्रश्वासका समस्या देखिने दर बढ्दै गएको छ । छालाको समस्या भएका व्यक्तिमा एलर्जीको समस्या हुने गर्छ । 

वायु प्रदूषणको असर तत्काल त्यति धेरै महसुस हुँदैन, तर श्वास–प्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गरेका मसिना कणहरूले सिओपिडी, निमोनिया, उच्च रक्तचाप, पक्षघात, हृदयघातको जोखिम ४० प्रतिशतले बढाउँछ । साथै, बढ्दो प्रदूषणले मुटु, फोक्सो तथा मस्तिष्कमा दीर्घकालीन समस्या सिर्जना गर्ने विभिन्न अध्ययनले देखाएका छन् । 

वायु प्रदूषणले फोक्सोमा सीधा असर गर्ने हुँदा कोभिड संक्रमणमा समेत सहयोग पुग्ने देखिन्छ । महामारीको समयमा वायु प्रदूषणले विशेष भूमिका खेल्न सक्छ । फोक्सो र श्वास–प्रश्वासमा कोभिडको जोखिम बढी हुने र प्रदूषणले समेत सोही समस्या देखाउने हुँदा कोभिडको जोखिम बढ्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । अस्पतालमा श्वास–प्रश्वाससम्बन्धी संक्रमणका समस्या लिएर आउने बिरामीको संख्या बढ्नुको कारण प्रदूषण भएको अनुमान गरिन थालिएको छ ।

सुझावित समाचार