मुस्लिम उत्पीडनको वास्तविक अर्थ

सोमबार, ३० चैत, २०७७
डिजिटल संस्करण

केही दिनअघि मात्रै डासना, गाजियाबादमा एकजना मुस्लिम बालक आसिफलाई नराम्रो गरी कुटियो । उसको ‘घोर अपराध’ भनेकै ऊ पानी खानका लागि एउटा मन्दिरमा छिरेको थियो । अर्को घटनामा दिल्लीको खजुरी क्षेत्रमा एकजना मुस्लिम युवकलाई उठाउँदै थेचार्दै निर्मम ढंगले कुटियो । केसैले के तर्क दिन सक्छन् भने देशैभरि झन्डै ५२ लाख अपराध हुँदै गर्दा यी दुइटा अपराधको विषयलाई लिएर कसरी बहस गर्न मिल्छ ? यसको कारण यी अपराधको अमानवीय क्रूरता र पीडितलाई अपमानित गरिनु नै हो । दुवै पक्षले प्रहार गरेका हुन्थे भने त्यसलाई नदेखेझैँ गर्न सकिन्थ्यो । तर, यी घटनामा पीडित पक्ष नितान्त असहाय थियो र उनीहरूले लेस मात्र पनि प्रतिरोध गरेनन् ।

त्यसैले उनीहरूलाई कुट्ने होइन कि विनाकुनै भयका साथ अधिकारपूर्वक ‘दण्डित’ गरिँदै थियो र निःसन्देश यो चिन्ताको विषय हो । आसिफलाई कुट्दै गरेको भिडियोमा हमलावर श्रृंगी यादवले दाहिने हात पूरै बटारेर उसलाई भुइँमा लडाइदिएको थियो र बारम्बार आसिफको अण्डकोषमा लात्ती हानिरहेको थियो । मेडिकल साइन्सका अनुसार अण्डकोषमा ‘वेगस नर्व’ हुने गर्छ, जसमा आघात पुग्दा ‘वासोवेगल सक’का कारण जोकोहीको पनि मृत्यु हुन सक्छ ।

यसकारण कसैको मृत्यु भएमा यो कानुनी दायरामा तानिने गर्छ । यस प्रसंगमा जियाउद्दीन (२०१०), रविन्दर सिंह उर्फ प्रताप (२०१४) र प्रेम सिंह उर्फ फौजी (२०१४)को आदेश उल्लेखनीय छ । यसलाई आधार मानेर हेर्दा श्रृंगीलाई सेक्सन ३०८ (दण्डनीय मानववधको प्रयासमा ७ वर्षसम्म सजाय)अनुसार मुद्दा दायर हुन सक्थ्यो । तर, के कुरा बाहिर आइरहेको छ भने प्रहरीले हमलावरलाई समर्थन गर्ने धार्मिक–राजनीतिक गुटप्रति आफ्नो भक्तिभाव देखाउँदै मुद्दा दायर गरेन । त्यसैगरी खजुरीको घटनामा पीडित व्यक्तिले हमलावरको पाउ समाएर दयाको भीख मागिरहेको छ भने कुट्नेले उसलाई कुट्दै ‘पाकिस्तान मुर्दावाद’ र ‘ओवैसी मुर्दावाद’को नारा घन्काउन लगाइरहेको छ । 

तपाईंलाई थाहा होला फरवरी २०२० को दिल्ली दंगाका वेला पनि प्रहरीले केही मुस्लिम युवकलाई नराम्रो गरी कुटेको थियो, जसमध्ये फैजानको पछि मृत्यु भयो । भुइँमा लडेका वेला उनीहरूलाई राष्ट्रगान गाउन बाध्य पारिएको थियो । किन ? कुरा स्पष्ट छ– प्रहरीद्वारा नै उनीहरूको देशभक्तिमाथि प्रश्न चिह्न खडा गरिएको थियो । यो सबै के भइरहेको छ भनेर हामीले सोच्नुपर्नेछ ।

अल्पसंख्यकमाथिको उत्पीडन र अपमान गर्नका लागि बहुसंख्यक मानिसलाई कहाँबाट बल आइरहेको छ ? यसको सही उत्तर हो– उनीहरू अल्पसंख्यकमाथि पूर्ण वर्चस्व स्थापित गर्न चाहन्छन्
 

भारतीय समाजका विविध झगडाहरूमा हिंसा र क्रूरता त सुरुदेखि नै देखिने गथ्र्यो, तर पीडितलाई अपमानित गर्ने विषय यति आम थिएन । योभन्दा पनि चिन्ताको विषय के हो भने यस्तो घटनामा बहुसंख्यक समाजले यसको जति निन्दा गर्नुपथ्र्यो, त्यति पनि हुन सकेको छैन । बरु यसको विपरीत डासनाको घटनामा सामाजिक सञ्जालमा आरोपीको पक्षमा माहोल तयार गरियो र मन्दिरका महन्तले भिडियो अन्तर्वार्ता दिए । 

यसबाट के प्रश्न उठ्छ भने कतै बहुसंख्यक समाजले यस्ता कृत्यलाई मौन समर्थन त दिइरहेको छैन ? यस्तो किन हुने गर्छ भनेर हामीले यसमा विचार गर्नुपर्नेछ । पहिले के ठानिन्थ्यो भने यो सबै भोटका लागि गरिँदै छ । तर, वास्तविकता के हो भने पछिल्ला कैयौँ वर्षका अथक प्रयासबाट भोटको धु्रवीकरण भइसकेको छ ।

यो मध्ययुग होइन भन्ने यिनीहरूलाई राम्रोसँग थाहा छ । र, कुनै पनि हालतमा अब देशका २० करोड मानिसबाट छुटकारा पाउन सकिँदैन । यति हुँदाहुँदै पनि अल्पसंख्यकमाथिको उत्पीडन र अपमान गर्नका लागि बहुसंख्यक मानिसलाई कहाँबाट बल आइरहेको छ ? यसको यही उत्तर हो– उनीहरू अल्पसंख्यकमाथि पूर्ण वर्चस्व स्थापित गर्न चाहन्छन् । उनीहरूलाई के पनि थाहा छ भने हाम्रो देशको महान् संविधानका कारण मुसलमानहरूलाई उनीहरूको राजनीतिक अधिकारबाट वञ्चित गर्न सकिँदैन । त्यसैले उनीहरू मुस्लिमलाई सामाजिक रूपमा पूर्ण रूपले शक्तिविहीन बनाउन चाहन्छन् ।

मुस्लिमहरूसँग जे भइरहेको छ, त्यो गहिरो षड्यन्त्रको हिस्सा प्रतीत हुन्छ, जसका तहत मुसलमानहरूले यो हदसम्मको अपमान सहनु पर्दै छ । उनीहरूको आत्मसम्मानलाई यसरी आहत गरिदिने कि उनीहरू आफैँले आफैँलाई ‘पराजित’ महसुस गर्न थालुन् । यति मात्र होइन, उनीहरूलाई दोस्रो दर्जाको नागरिक भएको अनुभूत गराउनका लागि पनि यो सबै गरिँदै छ । मुस्लिमहरूलाई लागोस् कि ऐतिहासिक रूपमा उनीहरूलाई यो धर्तीमा उभिने अधिकारसमेत छैन ।

मुस्लिमहरूको सामाजिक बहिष्कार, उनीहरूलाई आर्थिक रूपमा किनाराकृत बनाउन, अन्डर ट्रायल कैदीका रूपमा जेलमा उनीहरूलाई जनसंख्याको अनुपातमा भन्दा ठूलो संख्यामा थुन्न, आतंकवादसम्बन्धी झुटो मुद्दामा फसाउनु, अन्तर–धर्म विवाहमा दुःख दिनु र मुस्लिम भएको भन्दै कोठा नदिनु यो सबै त्यो गहिरो षड्यन्त्रको हिस्सा हो । सामाजिक सञ्जालमा उनीहरूका खिलाफ निरन्तर घृणा फैलाउने काम गरिँदै छ । यो यति व्यापक रूपमा भइरहेको छ कि प्रहरीले समेत उनीहरूको गुनासो सुन्दैन र मुद्दा दायर गर्दैन । अर्थात् प्रहरीसमक्ष जानु भनेको उनीहरू थप अपमानित मात्रै हुनु हो 
(लेखक केरल प्रहरीका अवकाशप्राप्त महानिर्देशक हुन्) द वायरबाट 

सुझावित समाचार