टोकियो ओलम्पिक आयोजना गरिछाड्ने हठ

मंगलबार, २४ चैत, २०७७
डिजिटल संस्करण

जापान सरकार महामारीका बाबजुद जसरी पनि ओलम्पिक खेल आयोजना गर्ने पक्षमा देखिन्छ 

जापानले मार्च २५ मा ओलम्पिक ज्योतिको रिले दौड उद्घाटन गर्यो । सन् १९३६ को ओलम्पिकबाट प्रयोग सुरु भएको ओलम्पिक ज्योति यात्राको अभ्यास कोरोना भाइरसका कारण एक वर्ष ढिलो गरी सुरु भयो । ओलम्पिक खेल यसै गृष्ममा आयोजना हुने कार्यतालिका छ । जापानी प्रधानमन्त्री योसिहिदे सुगाले ओलम्पिक आयोजना गरेर ‘कोरोना भाइरसविरुद्ध मानवताको जितको प्रमाण’ दिने घोषणा गरेका छन् । तर, कोरोना भाइरसमाथि मानवताको जित त परको कुरा, जापानले पनि जित हासिल गरेको संकेत देखिएको छैन । 

कोरोना भाइरसविरुद्धको युद्धमा जापानले अमेरिका र धेरै युरोपेली देशभन्दा राम्रो काम गरेको साँचो हो । १२.५ करोड जनसंख्या भएको जापानमा हालसम्म चार लाख ५० हजार संक्रमित र आठ हजार नौ सय मृत्यु दर्ता भएको छ । तर, बिस्तारै संक्रमण दर बढ्न थालेको छ र जापानको खोप लगाउने दर निकै सुस्त देखिन्छ । मार्च २१ सम्म ओइसिडीका ३७ देशमध्ये प्रतिव्यक्ति खोप दरका आधारमा जापानको नाम अन्तिममा छ । ब्लुमबर्गका अनुसार ०.३ प्रतिशत जापानीले मात्र खोप लगाएका छन् ।

जुलाईको अन्तिममा ओलम्पिक सुरु हुँदासम्म पर्याप्त संख्यामा जापानीलाई खोप लगाइसक्ने सम्भावना कम छ । अघिल्लो साता जापानले विदेशी दर्शकलाई खेलमा सहभागी हुनबाट रोक्ने घोषणा गर्यो । यो निर्णय सार्वजनिक धारणालाई ख्याल गरेर आएजस्तो देखिन्छ । अघिल्लो महिना सम्पन्न भएको एक मतसर्वेक्षणमा ७७ प्रतिशत उत्तरदाताले विदेशी समर्थकलाई सहभागी हुन दिने कुराको विरोध गरेका थिए । अर्को मतसर्वेक्षणअनुसार नौ प्रतिशत उत्तरदाताले मात्र पूर्वनिर्धारित समयमा ओलम्पिक खेल गर्न सहमति जनाए, जबकि ३२ प्रतिशत प्रतियोगिता रद्द गर्नुपर्ने पक्षमा थिए । 

महामारी अझै प्रमुख स्वास्थ्य समस्याका रूपमा कायम हुँदा र आमविरोधका बाबजुद जापानी सरकार आलोम्पिक खेल गराउन किन अघि बढ्दै छ ? जवाफ उही चिरपरिचित हो : एलिटहरूमाझको साँठगाँठ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्ष पदमा सुगाको कार्यकाल सेप्टेम्बरमा अन्त्य हुनेछ । अक्टोबरको अन्त्यसम्म विधायिकी चुनाव भइसक्नुपर्नेछ । यसै कारणले सुगाले ओलम्पिक खेललाई आफ्नो गिर्दो लोकप्रियता सुधार गर्न प्रयोग गरिरहेका छन् । यसै उद्देश्यले मिडियामा ओलम्पिक खेलबारे सकारात्मक समाचारको बाढी आउन थालेको छ । 

जापानमा लिबरल डेमोक्रेटिक पार्टी, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मिडिया उद्योगबीच त्रिकोणात्मक सम्बन्ध छ । सुगा त्रिकोणका महत्वपूर्ण व्यक्ति हुन् । यो गठजोड ओलम्पिकलाई जुनै मूल्यमा पनि अगाडि लाने सोचमा छ, यसका लागि विदेशका दर्शकलाई नै रोक्न किन नपरोस् ? 
 

सुगाले सिन्जो आबेबाट सत्ता लिँदा लिबरल डेमोक्रेटिक पार्टीको सरकार विभिन्न काण्डमा मुछिएको थियो । सुगाको आगमनपछि सरकारको नाममा केही काण्ड थपिएको छ । 

सुगा प्रधानमन्त्री आबेका दाहिने हात थिए र सुगाको मिडियामा बलियो प्रभाव थियो । आबेको पहिलो शासन (२००६–२००७) मा उनी आन्तरिक मामिला तथा सञ्चारमन्त्री थिए । दोस्रो कार्यकाल (सन् २०१२–२०२०)मा उनी प्रमुख क्याबिनेट सेक्रेटरी र प्रवक्ता थिए । आबेको पछिल्लो कार्यकालमा रिपोर्टर विदआउट बोर्डरको विश्व प्रेस स्वतन्त्रता सूचकमा जापानको स्थान २२ बाट खस्केर ६६ मा पुगेको छ । जापानमा लिबरल डेमोक्रेटिक पार्टी, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मिडिया उद्योगबीच त्रिकोणात्मक सम्बन्ध छ । सुगा त्रिकोणका महत्वपूर्ण व्यक्ति हुन् । यो गठजोड ओलम्पिकलाई जुनै मूल्यमा पनि अगाडि लाने सोचमा छ, यसका लागि विदेशका दर्शकलाई नै रोक्न किन नपरोस् ? 

उदाहरणका लागि जापानको सबैभन्दा ठूला विज्ञापन तथा पिआर (पब्लिक रिलेसन) संस्था डेन्ट्सुलाई लिउँ । यो संस्था टोकियो २०२० ओलम्पिकको प्रमुख विज्ञापन एजेन्सी हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका पूर्वउपमन्त्री सुन सकुराई अहिले सो कम्पनीका कार्यकारी उपाध्यक्ष तथा प्रतिनिधि निर्देशक छन् । सरकारी मन्त्रालयमा काम गरेर सोही मन्त्रालयले नियमन गरेका विज्ञापन कम्पनीमा उच्च कर्मचारीसम्मको यात्रालाई जापानी भाषामा ‘अमाकुदारी’ भनिँदै छ । यसको अर्थ हुन्छ, स्वर्गबाट पदार्पण । 

लिबरल डेमोक्रेटिक पार्टीसँग डेन्ट्सुको नजिकको सम्बन्ध छ । जापानी कम्युनिस्ट पार्टीले लिबरल डेमोक्रेटिक पार्टीले जापानी नियमअनुसार अनिवार्य दर्ता गरेको हिसाबकिताबको विश्लेषण गरेको छ । यसमा पार्टीले सन् २००० र सन् २०१८ बीच डेन्ट्सुलाई १० करोड डलर शुल्क तिरेको देखिएको छ । डेन्ट्सुले पनि लिबरल डेमोक्रेटिक पार्टीको चुनावी अभियानमा ठूलो योगदान पुर्याएको देखिन्छ । जापान सरकारले ल्याएको २० अर्ब डलरको कोभिड सहायता प्याकेजमा पनि डेन्ट्सुको नाम जोडिएको छ । 

जापानमा आयोजना हुन लागेको ओलम्पिकमा डेन्ट्सुको संलग्नता गहिरो र समस्याग्रस्त देखिन्छ । फ्रेन्च वकिलहरूका अनुसार टोकियोमा खेल आयोजनाका लागि अग्रसरता लिएको जापानी समितिले पूर्वडेन्ट्सु कार्यकारीलाई ८० लाखभन्दा बढी रकम तिरेको थियो । सो रकम अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का सदस्यलाई घुसका रूपमा दिइएको वकिलको दाबी छ । डेन्ट्सु आफैँमा आइओसीको विज्ञापन सहयात्री हो । यो कुराले कमिटीको ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ (स्वार्थको द्वन्द्व) को कानुनलाई मिचेको छ । 

टोकियो २०२० खेलले ओलम्पिक इतिहासकै सबैभन्दा बढी प्रायोजन पाएको छ । खेलका लागि जापानी कम्पनीबाट झन्डै ३.१ अर्ब डलर उठेको छ । यसमा डेन्ट्सुको महत्वपूर्ण योगदान छ । घरेलु प्रायोजकमा जापानका प्रमुख पाँच राष्ट्रिय पत्रिका आसाही, योमिउरी, मैनिची, निकेई र सानकाई पनि छन् । यी पाँचै संस्थाका आ–आफ्नै प्रसारण सञ्जाल छ । ती सञ्जाललाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले नियमन गर्छ र उनीहरू प्राइम टाइम विज्ञापन स्लटका लागि डेन्ट्सुमा निर्भर छन् । 

महामारीले अझै पनि टोकियो ओलम्पिकलाई प्रभावित पार्न सक्छ । संक्रमणलाई कारण देखाएर कैयौँ चर्चित खेलाडी तथा सेलेब्रिटीले ओलम्पिक ज्योतिको दौडमा सहभागिता जनाएनन् । केही राष्ट्रिय टिम प्रतिस्पर्धाबाट बाहिरिन सक्छन् । यी सबका बाबजुद यी ओलम्पिक आयोजना भयो भने त्यो जापानको राजनीतिक तथा मिडिया एलिटबीचको साँठगाँठको सफलता हुनेछ । साथै, त्यो आगामी चुनावमा आमधारणा बदल्ने तिनको प्रयासको सफलता हुनेछ । 

कोइची नकानो टोकियोस्थित सोफिया विश्वविद्यायलका राजनीतिशास्त्रका प्राध्यापक हुन् । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार