तमिलनाडुमा आदिवासी र दलितका देवी–देवतालाई समाजमा फेरि स्थापित गर्दै भाजपा मतदाताबीच आफ्नो स्थान बनाउन चाहन्छ
सन् २०१४ र २०१९ को लोकसभा निर्वाचनमा भाजपा हिन्दुत्वको एजेन्डा, मजबुत नेतृत्व र सशक्त चुनावी मसिनरीको काँध चढेर दिल्लीको सत्तामा स्थापित भयो । भाजपा केन्द्रमा सजिलो गरी सरकार बनाउन सफल रहे पनि राज्य निर्वाचनमा यसको ट्र्याक रेकर्ड भने अलिक भिन्न नै थियो । गुजरातमा यसले बल्लबल्ल आफ्नो सत्ता जोगाएको थियो भने उत्तर प्रदेशमा आफ्ना प्रतिद्वन्द्वीलाई नराम्रो गरी पराजित गरेको थियो । असम र पूर्वोत्तर भारतमा भाजपाले आफ्नो भूगोलको राजनीतिलाई बलियो बनाइसकेको थियो । केही विद्रुपता र कांग्रेसका बागीहरूको मद्दतले यसले मध्यप्रदेश र कर्नाटकमा फेरि सत्ता हात पा¥यो र अरुणाञ्चल प्रदेशमा पहिलोचोटि सरकार बनाउन सफल रह्यो । महाराष्ट्र, जहाँ भाजपा शासित सरकार हुनुपर्ने थियो, त्यहाँ ऊ सत्ताबाहिर हुन पुग्यो । किनभने निर्वाचनपूर्वको सहयोगी शिवसेनाले अप्रत्यासित रूपमा एनसिपी र कंग्रेससँग गठबन्धन गर्न पुग्यो । यसैगरी राजस्थानमा निकै कम मतान्तरले कंग्रेस अघि देखियो र मुख्यमन्त्री अशोक गहलोतले जसरी–तसरी सत्ता कायम राख्न सके ।
देशैभरि प्रधानमन्त्री नरेन्द्र मोदी जति नै लोकप्रिय भए पनि तमिलनाडुका सन्दर्भमा यो अपवाद हो भन्ने भाजपाले बुझिसकेको छ । त्यसैले उसले आफ्ना उमेदवारलाई आफ्नो अनुकूलतामा रणनीति बनाउन भनेको छ ।
यही कारण हो कि भाजपाले छिटै ‘कंग्रेसमुक्त भारत’को सपना उत्तर, पश्चिम र पूर्वोत्तरमा साकार हुँदै गरेको देख्न सक्यो । जबकि पश्चिम बंगाल, आन्ध्र प्रदेश, ओडिसा र तमिलनाडु, जुन केरलको तटीय क्षेत्र हुँदै पश्चिमसम्म फैलिएको छ, त्यहाँ यसको अनुभव अलिक भिन्न देखियो । यी राज्यमा कंग्रेस बिस्तारै कमजोर हुँदै जानुले भाजपालाई एउटा राम्रो अवसर प्राप्त भयो । तर, क्षेत्रीय शक्तिहरूले उसलाई चुनौती दिइरहे । वर्तमान विधानसभा चुनावमा भाजपा जहाँ पश्चिम बंगालमा यी सबै अप्ठेरालाई चिर्दै सरकार बनाउने हरसम्भव प्रयास गरिरहेको छ, त्यहीँ तमिलनाडुमा आफ्नो उपस्थिति देखाउनका लागि ऊ न्वारनदेखिको बल लगाइरहेको छ । तमिलनाडुमा ऊ अन्नाद्रमुक र पुडुचेरीमा रगासामी कंग्रेसको सहयोगमा सत्तामा आउन चाहन्छ भने केरलमा सन् २०२६ मा सरकार बनाउने योजनाका साथ ऊ अघि बढिरहेको छ । तर, प्रश्न के हो भने यी राज्यमा भाजपा कसरी सरकारमा आउन सक्छ, जहाँको सामाजिक–राजनीतिक समीकरण देशको उत्तर तथा पश्चिमी क्षेत्रभन्दा बिलकुलै भिन्न छ । भाजपाले यो कुरालाई पक्कै पनि मसिनो गरी बुझेको हुनुपर्छ । उसको कार्डले यो क्षेत्रमा त्यति काम नगर्न सक्छ ।
यसैकारण यो क्षेत्रमा उसले आफ्नो योजनालाई नयाँ ढंगले अघि बढाउने छाँट देखाएको छ । यो परिवर्तन तमिलनाडुका सन्दर्भमा स्पष्ट देख्न सकिन्छ । देशैभरि प्रधानमन्त्री नरेन्द्र मोदी जति नै लोकप्रिय भए पनि तमिलनाडुका मामिलामा यो अपवाद हो भन्ने भाजपाले बुझिसकेको छ । त्यसैले उसले आफ्ना उमेदवारहरूलाई आफ्नो अनुकूलतामा रणनीति बनाउन भनेको छ । त्यसैको परिणामस्वरूप केही प्रत्यासीले मोदीको साटो आफ्नो पोस्टरमा एमजिआर र जयललिताको तस्बिरलाई प्रमुखताका साथ प्रचारमा ल्याएका छन् । भाजपाले भलै हिन्दू कार्डलाई महत्वपूर्ण माने पनि यो क्षेत्रमा ऊ यसपटक अलिक लचक देखिएको छ । उदाहरणका रूपमा केरलमा इसाई समुदायको समर्थन हासिल गर्नका लागि इसाईबहुल क्षेत्रमा इसाईलाई र मुस्लिमबहुल क्षेत्रमा मुस्लिम उमेदवारलाई टिकट दिनका लागि ऊ लचिलो देखिएको छ । तर, सबैभन्दा महत्वपूर्ण कुरा भाजपाको सोसल इन्जिनियरिङ हो । उसले तमिलनाडुको दक्षिणी हिस्सामा यही कार्ड प्रयोग गरेको छ । यो ठ्याक्कै उत्तर प्रदेशको पछिल्लो निर्वाचनका क्रममा अपनाएको रणनीतिजस्तै हो ।
तमिलनाडुमा झन्डै १८ प्रतिशत दलित र दुई प्रतिशत आदिवासी छन् । भाजपाले उत्तर प्रदेशमा यादव र जाटहरूमाथि गरेको प्रयोगजस्तै यिनलाई पनि फकाएर ऊ तमिलनाडुको सत्तामा वर्चस्व कायम गर्न चाहन्छ । दलितको संख्याको आधारमा हेर्दा उत्तर प्रदेश र तमिलनाडु झन्डै–झन्डै समान धरातलमा छन् । यी सबैमा अहिले पनि विचार विमर्श जारी नै छ । राष्ट्रिय स्वयंसेवक संघ र यसका अन्य सहयोगी संगठन भाजपालाई जिताउन समाजको दमित वर्गबीच चुपचाप काम गरिरहेका छन् । आदिवासी र दलितका देवीदेवतालाई समाजमा फेरि स्थापित गर्दै, उनीहरूको पहिचानलाई उचाल्दै भाजपा मतदाताबीच आफ्नो स्थान बनाउन चाहन्छ । यो हिन्दुत्वको अंकगणितमा पनि सही ठहरिन्छ । यो सोच कुन विचारमा आधारित छ भने जात–व्यवस्थाको जन्जिर चुँडालिनुपर्छ र सबै समुदायलाई हिन्दुत्वको विशाल छाताभित्र समाहित गर्नुपर्छ । भलै तमिलनाडुका दलित दलहरूले भाजपाको यस कदमको दोहोलो काढ्दै यसलाई भाजपाको षड्यन्त्रको संज्ञा दिएका छन् । यसबाट कुनै पनि दलित र आदिवासीलाई फाइदा हुँदैन भन्दै त्यहाँ उनीहरूले भाजपाको यो प्रयोगको विरोध गरेका छन् ।
(श्रीनिवासन, भारतका वरिष्ठ पत्रकार हुन्)
हिन्दुस्तानबाट