तीन औद्योगिक क्षेत्र बहुवर्षीय आयोजनाका रूपमा अघि बढाइँदै

बिहिबार, १९ चैत, २०७७
डिजिटल संस्करण

कञ्चनपुरको दैजी, बाँकेको नौवस्ता र मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रलाई पाँच वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाइँदै, हरेक वर्ष ५ अर्ब बजेट चाहिने

राष्ट्रिय योजना आयोगले तीनवटा औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको छ । आयोगले कञ्चनपुरको दैजी–छेला, बाँकेको नौवस्ता र मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको हो । 

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको प्रस्तावमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउनका लागि स्वीकृति मागेको थियो । ती औद्योगिक क्षेत्र आयोगको आयोजना बैंकमा समेत समावेश भएका छन् । आयोगले ९ चैतमा उपाध्यक्षस्तरीय बैठकले औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिँदै स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयको सहमति माग गर्ने निर्णयसमेत गरेको हो । 

आयोगले ‘बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड २०७७’ अनुसार ती औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको हो । ५० करोड रुपैयाँभन्दा बढी लागत अनुमान भएका तथा निर्माण सम्पन्न गर्न दुई वर्षभन्दा बढी समय लाग्ने आयोजनालाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाइने मापदण्डमा उल्लेख छ । स्वदेशी लगानीमै निर्माण अघि बढाइने तीनवटा ठूला औद्योगिक क्षेत्रको कुल लागत करिब २५ अर्ब रुपैयाँ हुन आउँछ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न हुने गरी तीन औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन लागेको लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए ।

‘दैजी, नौवस्ता र मयुरधाप औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन योजना आयोगले स्वीकृत दिइसकेको छ, अब अर्थ मन्त्रालयले लगानी सुनिश्चितता गर्न बाँकी छ’ बस्नेतले भने, ‘यसअघिनै अर्थमन्त्रीले तीनै आयोजना अघि बढाउन अनौपचारिक निर्देशन दिइसकेका कारण स्रोतको सुनिश्चितता हुनेमा निश्चिन्त छौँ ।’ गत १३ माघमा अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको समेत सहभागितामा आयोजित छलफल कार्यक्रम सरकारले घोषणा गरेका औद्योगिक क्षेत्र निर्माणका लागि तयारी कार्य अघि बढाउने निर्णय गरेको थियो । 

बहुवर्षीय आयोजनाका रूपमा अघि बढाइने तीनै औद्योगिक क्षेत्रको शिलान्यास भइसकेको छ । प्रधानमन्त्री केपी ओलीले दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास १० फागुन गरेका हुन् । त्यस्तै, नौवस्ता औद्योगिक क्षेत्र र मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले क्रमशः ११ फागुन र १४ फागुनमा शिलान्यास गरेका थिए । औद्योगिक क्षेत्रका लागि आगामी पाँच वर्षसम्म अर्थ मन्त्रालयले हरेक वर्ष करिब ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिदिनुपर्ने उनले बताए । 

मयुरधाप : ७ अर्ब लगानी १० हजारलाई रोजगारी 
सरकारले हेटौँडा उपमहानगरपालिकामा पर्ने मयुरधापमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा १२ वैशाख २०७३ मा गरेको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिले १९ जेठ २०७५मा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको हो । करिब २ सय बिघामा फैलिएको यस औद्योगिक क्षेत्रको कुल लागत ७ अर्ब २ करोड रुपैयाँ लाग्ने देखिएको छ । कुल ६२ वटा प्लट रहने यस औद्योगिक क्षेत्रले १० हजारलाई रोजगारी दिनेछ । 

नौवस्ता : सवा ३ सय बिघामा बन्ने पौने ९ अर्ब लगानी
बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले १ चैत २०७२ मा घोषणा गरेको थियो । आयोजनाको डिपिआर १८ जेठ २०७५ मा स्वीकृत भएको हो । कुल ३ सय ३८ बिघा क्षेत्रफलमा फैलिएको यस औद्योगिक क्षेत्रमा १ सय ११ वटा प्लट हुनेछन् । औद्योगिक क्षेत्र निर्माणका लागि ८ अर्ब ७७ करोड रुपैयाँ लाग्ने देखिएको छ । यस औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि २० हजारले रोजगारी पाउने अनुमान गरिएको छ । 

दैजी : ९ अर्ब लागत, २२ हजारलाई रोजगारी
नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयले १ चैत २०७२ मा सुदूरपश्चिमअन्तर्गत कञ्चनपुरको दैजी–छेलामा औद्यागिक क्षेत्र निर्माणको घोषणा गरिएको हो । २६ मंसिर २०७५ मा यस आयोजनाको डिपिआर स्वीकृत भएको हो । ३ सय ५५ बिघाको दैजी–छेलामा ७ कट्ठादेखि ५ बिघाका १ सयवटा प्लट हुनेछन् । यस आयोजनाको कुल लागत ९ अर्ब लाग्ने देखिएको छ भने आयोजना निर्माणपछि २२ हजारले रोजगारी पाउने अनुमान गरिएको छ । 

सुझावित समाचार