कोरोना भाइरसको खोप सबै स्थानमा समानतापूर्वक वितरण नभएसम्म ‘खोप पासपोर्ट’ले कोभिड–१९ को विस्तार रोक्न सघाउँदैन
विश्वभर कोरोना खोपका ४५ करोडभन्दा बढी डोज प्रयोगमा आइसकेको छ । खोप अभियानले केही देशमा दैनिक जीवन आंशिक सामान्य अवस्थामा फर्किएको छ । आफ्ना ५० प्रतिशतभन्दा बढी जनसंख्यालाई खोप लगाइसकेको इजरायलले खोप लगाएको पहिचानका लागि हरियो पास वितरण गरेको छ । तिनलाई देखाएर रेस्टुराँ, फिल्म हल तथा जिम प्रवेश गर्न सकिन्छ । युरोपेली संघ र चीनले आफ्नै खालको खोप पासपोर्टको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय यात्रा तथा सीमा नियमनका लागि अरू देश पनि खोप पासपोर्टलाई प्रयोगमा ल्याउने सोचमा देखिन्छन् ।
अहिले विश्वका अधिकांश भागमा कोरोना भाइरस खोपको अभाव छ । केही देशले त हालसम्म एक डोज खोप पनि पाएका छैनन् । धनी मुलुकका सरकारले खोप पासपोर्टमार्फत सामाजिक नियन्त्रण खुकुलो बनाउने प्रयास गरिरहँदा महामारी छोट्याउने तिनको तत्परता कमजोर हुन सक्छ । अहिले खोप पासपोर्टलाई जोड दिने चीन र युरोप मात्र होइनन् । ‘वल्र्ड इकोनोमिक फोरम’ले कारोना भाइरस खोपको रुजु गराउन ‘कमन प्रोजेक्ट’ नामक समूहसँग समन्वय गरिरहेको छ । आइबिएमले पनि ‘डिजिटल हेल्थ पास’को विकास गरिरहेको छ । वायुसेवा उद्योगको व्यापारिक समूह ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ले यात्रुलाई परीक्षण तथा खोपको मापदण्डबारे सूचना दिने मोबाइल एप बनाइरहेको सार्वजनिक भएको छ ।
अन्तर्राष्ट्रिय आवागमनमा खोप पासपोर्ट प्रयोगमा ल्याउँदा कैयौँ चुनौती आइपर्नेछ । अन्तर्राष्ट्रिय रूपमा पहिलेदेखि नै यात्रुले ‘यल्लो फिभर’विरुद्ध खोप लगाएको प्रमाणित गर्नुपर्ने व्यवस्था छ । तर, कोरोना भाइरस खोप नयाँ हो र यसमाथिको पहुँच निकै सीमित छ । फरक देशले फरक खोपलाई स्वीकृति दिएका छन् । आफ्नो सिमानामा प्रवेश पाउने नियम बनाउँदा पनि फरक–फरक व्यवस्था हुन सक्छ । चीनले आफ्नो देशमा बनेको खोप लगाएका विदेशीलाई मात्र प्रवेश दिने बताइसकेको छ । अमेरिकामा उपलब्ध कुनै पनि खोप चिनियाँ कम्पनीमा बनेका छैनन् । अक्सफोर्ड–अस्ट्राजेनेका खोप ८६ देशमा प्रयोग भइरहेको छ, तर अमेरिकामा यो खोप प्रयोगको स्वीकृति पाइसकेको छैन । केही देशमा प्रयोग भएका खोपले कोरोनाका नयाँ भेरियन्टविरुद्ध प्रभावकारी काम नगर्न सक्छ ।
यो समस्यालाई विश्वव्यापी स्तरमा सम्बोधन गर्न आवश्यक छ । विश्व स्वास्थ्य संगठनको मेमा आयोजना हुने विश्व स्वास्थ्य भेलामा सरकारहरूले यो प्रश्नमा छलफल गराउन सक्छन् । खोप पासपोर्ट प्रणालीमा कुन–कुन खोपलाई स्विकार्ने भन्ने स्पष्ट पारिनुपर्छ । सार्वजनिक स्वास्थ्य निर्देशिका परिवर्तन हुँदा तिनमा पुनरावलोकन हुने व्यवस्था राखिनुपर्छ । यस प्रणालीअन्तर्गत देशहरूलाई मनपरी ढंगका प्रमाणपत्र जारी गर्नबाट रोक लगाउनुपर्छ । अन्तर्राष्ट्रिय सहमतिविना भूराजनीतिक विभाजन गहिरिँदै जाने जोखिम बढ्नेछ । यसले महामारीलाई थप बढाउनेछ । करोडौँ मानिस खोपकै प्रतीक्षामा बसिरहँदा केही देशका नागरिक मात्र खोप पासपोर्टबाट देश–विदेश सयर गर्न पाउने अवस्थाले विश्वव्यापी असमानता बढाउने निश्चित छ ।
अमेरिकाले अहिलेसम्म खोप पासपोर्ट वा पासको घोषणा गरेको छैन । खोप लगाउने अमेरिकीले खोप लगाएको मिति र खोपको प्रकार उल्लेख भएको कार्ड पाउँछन् । तर, यी कार्डलाई पासको मान्यता दिइएको छैन र आवश्यक पर्दा त्यस्ता जाली कार्ड बनाउन सकिन्छ । अमेरिकामा पहिलो लटको खोपमा असमता देखियो, अश्वेत तथा ल्याटिनो मानिसलाई श्वेतलाई भन्दा निकै न्यून खोप वितरण भयो । बालबालिकालाई अझै खोप वितरण भइसकेको छैन र गर्भवतीले खोप लगाउँदा उत्पन्न हुने सुरक्षाबारे सीमित जानकारी मात्र उपलब्ध छ । खोप पास वा पासपोर्ट वितरण गरिँदा त्यसकै आधारमा मानिसलाई देशभित्रकै रोजगारी, सेवा वा शिक्षाबाट विमुख नबनाइने संयन्त्र निर्माण गर्न आवश्यक छ ।
रोजगारदाता तथा व्यवसायीले खोपको प्रमाण मागे भने तिनमा नैतिक मात्र होइन, कानुनी अड्चन आइपर्नेछ । ग्राहक तथा कामदारबाट खोपको माग गर्ने व्यवसायले खोप पासको प्रमाणीकरण गर्ने प्रणाली निर्माण गर्नुपर्छ, जसले ठूलो आर्थिक भार थप्नेछ । पहिलेदेखि संघर्षरत व्यवसायले त्यति वित्तीय बोझ उठाउन हिच्किचाउनेछन् । विद्यालय तथा स्वास्थ्य सेवाप्रदायकले निश्चित खोपको माग गर्ने भए पनि धेरै कम्पनीले खोपलाई कहिल्यै पनि अनिवार्य गरेका छैनन् ।
यदि खोप पासपोर्ट मोबाइल एपको रूपमा आयो भने केही मानिसले तिनलाई प्रयोग गर्न सक्नेछैनन् । खोप पासपोर्टले व्यक्तिको निजी स्वास्थ्य तथ्यांकको रेकर्ड राख्ने भएकाले कमजोर सुरक्षाका कारण तिनको दुरुपयोग हुन सक्छ । विश्वभरका मानिस महामारीको अन्त्यको प्रतीक्षामा छन् र खोप लगाएकाहरू खोपले दिने स्वतन्त्रताको सदुपयोग गर्न व्यग्र छन् । तर, खोप पासपोर्ट लागू गर्ने जुनसुकै प्रयासलाई अन्तर्राष्ट्रिय समन्वयको आवश्यकता छ र खोपको विश्वव्यापी तथा समतामुखी प्रयोग पनि सँगसँगै लगिनुपर्छ ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य
पोपेस्कु जर्ज म्यासन विश्वविद्यालयका संक्रमण रोगविद् हुन् भने फेलन जर्जटाउन विश्वविद्यालयसँग सम्बद्ध विश्वव्यापी स्वास्थ्य वकिल हुन् ।