प्रशामक स्वास्थ्य सेवा बढाऔँ

मंगलबार, १७ चैत, २०७७
डिजिटल संस्करण

प्रशामक सेवामा बिरामीको अवस्थाअनुसार बिरामी र परिवारसमेतको सहमतिमा उपचारदेखि परामर्शको सेवा दिने गरिन्छ 

गम्भीर प्रकृतिको रोगका कारण जीवन–मृत्युको दोसाँधमा रहेका बिरामी र तिनका परिवारले भोगेका शारीरिक, मानसिक, सामाजिकलगायतका पक्षलाई लक्षित गरी संस्थागत वा समुदायस्तरबाट तालिमप्राप्त स्वास्थ्य कार्यकर्ताबाट प्रदान गरिने उचित परामर्श र विशेष प्रकारको उपचार सेवालाई प्रशामक सेवा (प्यालिएटिभ केयर) भनिन्छ । गत वर्ष प्रशामक सेवाको नारा मेरो उपचार, मेरो सहजता (माई केयर, माई कम्फर्ट) थियो । यसको महत्वलाई आत्मसात् गरेर प्रशामक सेवालाई स्वास्थ्यको सर्वव्यापी पहुँच र दिगो विकास लक्ष्यमा (लक्ष्य ३.८) समेत समेटिएको छ । 

नेपालमा प्रशामक सेवाको थालनी भएको दुई दशकजति भयो । यहाँका ठूला अस्पताल विशेषगरी पाटन अस्पताल, पोखराको ग्रिन पास्चरलगायत भरतपुर र भक्तपुरमा खुलेका क्यान्सर अस्पतालहरूले विशेषज्ञ चिकित्सकको निगरानीमा प्रशामक सेवा दिँदै आएका थिए । सुरुवाती अवस्थामा क्यान्सरका बिरामीलाई मात्रै लक्षित यो सेवा पछिल्लो समय अन्य बिरामी (अत्यधिक रक्सी सेवनका कारण कलेजो बिग्रेका, फोक्सो बिग्रेका, मिर्गौलाले काम नगरेका, मुटुमा गम्भीर समस्या भएका, प्यारालाइसिस, नसाको रोग भएका, कुँजिएका, औषधि वा अन्य चिकित्सा विधिले काम नगर्ने अवस्थाका बिरामी)लाई समेटिने गरेको छ ।

अस्पतालभन्दा बाहिर संस्थागत रूपमा (हसपिसमार्फत) यो सेवाको थालनी सन् २००२ मा पाटन अस्पतालले विस्तार गरेको थियो । नेपालको पहिलो हसपिस केन्द्रले हालसम्म १५० भन्दा बढी व्यक्तिलाई सेवा दिई त्यसमध्ये आधालाई सफल उपचार गरेको छ । सन् २००५ देखि पाटन अस्पतालले यो सेवालाई काठमाडौं उपत्यकामा समुदायस्तरसम्म पुर्यायो । 

देशमा सञ्चालन भएका प्रशामक कार्यक्रमहरूलाई थप व्यवस्थित गर्ने उद्देश्यले सन् २००९ मा स्थापित नेप्लिज एसोसिएसन अफ प्यालिएटिभ केयरले अन्य साझेदार संस्थासमेतको सहकार्यमा नीति निर्माणदेखि सेवालाई सहरदेखि ग्रामीण क्षेत्रमा विस्तारसम्मका प्रयास गरिरहेको छ । भौतिक तथा प्राविधिक पक्षको विकास एवं चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई तालिमको व्यवस्था गर्दै आएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ०७१ सालदेखि मकवानपुरको थाहा नगरपालिकाको सहकार्यमा समुदायस्तरमा प्रशामक सेवाको सफल कार्यान्वयन गरिरहेको छ । त्यहाँ तालिमप्राप्त स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएका छन् । जिल्लाका अन्य ६ पालिकामा पनि यो कार्यक्रम विस्तारित भएको छ । 

गत वर्ष प्रकाशित तथ्यअनुसार सन् २०१२ मा नेपालमा ५८ हजारभन्दा बढी मानिसलाई प्रशामक सेवा आवश्यक पर्ने अनुमान थियो । पछिल्लो समय नेपालमा नसर्ने दीर्घरोगको चाप उच्च देखिँदै गएको छ । मुटु (१५.२ प्रतिशत), दीर्घ श्वासप्रश्वास (१४.७ प्रतिशत), क्यान्सर (७.३ प्रतिशत) बिरामीको संख्या उच्च हुँदै गएको छ । यसबाट प्रशामक सेवाको आवश्यकता बढ्दो रहेको स्पष्ट हुन्छ । 

विपन्न र ग्रामीण क्षेत्रका बिरामी र तिनका परिवारले जटिल रोगका कारण थप समस्या भोग्नु परिरहेको हुन्छ । यस्तो अवस्थामा बिरामीले भोग्नुपर्ने शारीरिक, मानसिक, सामाजिकलगायतका समस्यालाई सहज गर्न केही सरलीकृत सेवा बिरामीको पहुँचमा हुने गरी विस्तार हुँदै आएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले सन् २०१४ मा मकवानपुरमा गरेको सर्वेक्षणअनुसार कुल जनसंख्याको ६ प्रतिशतमा नसर्ने रोग लागेको देखिन्छ । अधिकांश ग्रामीण क्षेत्रमा बसोवास गर्ने मानिसको आर्थिक अवस्था वा भौगोलिक अवस्थितिका कारण पनि गम्भीर रोग लागी कष्टपूर्वक सहेर बाँच्नेको संख्या निकै हुन सक्छ । 

नीतिगत व्यवस्था : नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य नीति २०७६ मार्फत प्रशामक सेवालाई राष्ट्रिय स्वास्थ्य प्रणालीको अंगको रूपमा विस्तार गर्ने प्रयास गरिएको छ । प्रशामक सेवाको आवश्यकता पर्ने बिरामीको अत्यधिक दुखाइ कम गर्न प्रयोग हुने मर्फिनजस्ता औषधि सहज उपलब्ध हुन थालेपछि आयातित र महँगा औषधिमाथिको निर्भरतासमेत कम हुँदै गएको छ । 

नेपालले आफ्नो क्षमताले भ्याएसम्म अस्पताल निर्माण, स्वास्थ्यकर्मी उत्पादन, स्वास्थ्य पूर्वाधारको जोहो र औषधिको आपूर्तिमा जोड दिँदै जानुपर्छ । यसका अलावा रोग लाग्नै नदिने अवस्थाको सिर्जना गर्ने, रोग लागिहालेमा प्रारम्भिक अवस्थामै पहिचान गरी उपचार गर्ने, र गम्भीर प्रकृतिका बिरामीका लागि प्रशामक सेवामा पनि राज्यले लगानी बढाउनुपर्छ । 

चुनौती : हाम्रा सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक, आर्थिक अवस्थाका कारण प्रशामक सेवाको विकास र विस्तारमा केही अप्ठ्यारा छन् । हाम्रो समाजले अझै पनि कष्टकर मृत्युलाई स्वाभाविक मान्छ । यद्यपि, मृत्युलाई पनि सहज बनाउनुपर्छ भन्ने आमधारणा क्रमिक विकास हुँदै गएको छ । उमेरले बुढ्यौली लागेका मानिसलाई रोग लागेपछि जतिसक्दो चाँडो उपचारका लागि स्वास्थ्य संस्थामा लैजानेबारेमा समस्या छ । आर्थिक रूपमा विपन्न अवस्थाका परिवारले खर्चका कारण उपचार लिन नसक्ने अवस्था छ । कतिपय रोगलाई परिवार वा समुदायमा हेलाको भावनाले हेरिने वा अन्य समस्याका कारण बिरामीले उचित स्याहारसुसार र उपचार नपाउने अवस्था पनि छ । मनोवैज्ञानिक डरका कारण कतिपय बिरामीले आफ्नो रोगको बारेमा परिवार वा आफन्तलाई जानकारी नदिने वा आफन्त वा परिवारले पनि सम्बन्धित बिरामीलाई रोगको बारेमा नबताउने प्रवृत्ति पनि देखिन्छ । जब बिरामीको अवस्था निकै गम्भीर हुन्छ, त्यस अवस्थामा बिरामी शारिरीक रूपमा निकै कमजोर हुनुका साथै मानसिक रूपमा पनि निकै कठिन अवस्थामा रहने कारण समस्याहरू थपिँदै जान्छन् । यस्तो अवस्थामा उपचारकर्ताले रोगको बारेमा बिरामी वा आफन्तलाई उचित परामर्श दिन चाहेर पनि दिन नसक्ने वा परामर्श कला नभएका कारण अप्ठ्यारो हुने गर्छ । बिरामीको स्याहारमा परिवारलाई प्रशिक्षण गर्ने कुरा प्रशामक सेवाको अभिन्न अंग हो । 

समाधानका उपाय : प्रशामक सेवामा बिरामीको अवस्थाअनुसार बिरामी र परिवारसमेतको सहमतिमा उपचारदेखि परामर्शको सेवा दिने गरिन्छ । यसले कठिन समयमा पनि बिरामीलाई परिवारको अभिन्न सदस्य भएको महसुस गराउन र बाँकी जीवन सहज बनाउन मद्दत मिल्छ । यस्तो सेवामा अन्य कुराका अतिरिक्त बिरामीको पीडा कम गर्ने उपचारको निकै ठूलो भूमिका हुन्छ । यसका लागि वरदान साबित भएका दुखाइ कम गर्ने औषधिको उपलब्धता र त्यसको उचित प्रयोगमा सेवाप्रदायक, बिरामी र बिरामीको परिवारका बीचमा समन्वय र सहकार्य हुनु जरुरी हुन्छ । बिरामी पीडामुक्त भएको अवस्थामा बिरामी र उसका परिवारलाई राहत हुन्छ र बिरामीको बाँकी जीवन सहज हुन्छ । यसका लागि प्रशामक सहजकर्ता छनोट गरी तालिम दिई त्यस्ता बिरामीको पहिचान गर्ने, आवश्यकता र क्षमताका आधारमा उपचारात्मक सेवाका लागि परिचालन गर्नु बढी सान्दर्भिक हुन्छ । यसर्थ, स्थानीय सरकारले आफ्नो सामाजिक सुरक्षाका कार्यक्रममा प्रशामक सेवालाई प्राथमिकतामा राखी सञ्चालन गर्नुपर्छ ।

अन्तमा, यो सेवा मानवअधिकारको विषय पनि हो । विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा ४ प्रतिशत मानिसलाई मात्र प्रशामक सेवाको पहुँच छ । नेपालको हकमा यो सेवा भर्खर समुदायमा विस्तारको क्रममा रहेको हुँदा धेरै मानिसलाई जानकारीसमेत नहुन सक्छ । अतः केन्द्रीय वा प्रादेशिक अस्पताल वा हसपिसहरूमा प्रशामक सेवाको विकास विस्तारका साथै समुदायमा यसका गतिविधि सञ्चालन गर्न उपलब्ध जनशक्तिलाई आवश्यक तालिम र अत्यावश्य सामग्रीसहित परिचालन गर्नुपर्छ । कतिपय गम्भीर रोग वा स्वास्थ्य अवस्थाका कारण मानिसलाई (पूर्ण) निको पार्न नसकिएला, यद्यपि बिरामीको बाँकी जीवनलाई पीडामुक्त गरी परिवार र आफन्तलाई केही राहत दिनु अति महत्वपूर्ण हुनेछ ।

सुझावित समाचार