कोभिडका बाबजुद यो वर्ष १३ लाख १७ हजार ६३२ को आँखा जाँच र एक लाख २१ हजार ३६२ को शल्यक्रिया भएको छ
विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको ‘वर्ल्ड रिपोर्ट अफ भिजन ग्लोबल म्याग्निट्युड’को तथ्यांकअनुसार हाल संसारमा दुई अर्ब २० करोड व्यक्तिमा कुनै न कुनै किसिमको आँखा रोगको समस्या छ । जसमध्ये कम्तीमा एक अर्ब मानिस अझै सेवाको पहुँचबाहिर छन् । आइपिबिएको तथ्यांकअनुसार विश्वमा तीन करोड ६० लाख मानिस दृष्टिविहीन छन् । १२ करोड ४० लाख मानिसमा दृष्टिदोषको समस्या छ । ६ करोड ५० लाख मानिसमा मोतियाबिन्दु छ । जसमध्ये ७५ प्रतिशत अन्धोपन उपचारद्वारा निको पार्न सकिन्छ । ८९ प्रतिशत आँखाका रोगीहरू अति कम विकसित तथा विकासोन्मुख देशमा बस्ने छन् ।
सन् १९८१ मा नेपालमा गरिएको पहिलो राष्ट्रिय अन्धोपन सर्वेक्षणले अन्धोपन मुलुककै एक जटिल जनस्वास्थ्य समस्याका रूपमा रहेको तथ्य उद्घाटित गरेको थियो । विश्वमै पहिलोपटक कुल जनसंख्यामा आधारित भएर गरिएको अन्धोपन सर्वेक्षणबाट नेपालमा दृष्टिविहीनताको स्थिति ०.८४ प्रतिशत पाइएको थियो । सर्वेक्षणले मोतियाबिन्दु, ट्रकोमा, जलबिन्दु, भिटामिन ‘ए’को कमीका कारण हुने अन्धोपन र आँखामा लाग्ने चोटपटकलाई अन्धोपनको प्रमुख कारकका रूपमा पहिचान गरेको थियो । साथै, सर्वेक्षणले पुरुषमा भन्दा महिलामा अन्धोपनको समस्या बढी रहेको पनि देखाएको थियो । यो अध्ययनबाट कुल अन्धोपनमध्ये ८० प्रतिशत अन्धोपनको समस्यालाई उपचारबाटै निराकरण गर्न सकिने भन्ने पनि देखियो ।
नेपाल नेत्रज्योति संघले विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा सन् २०११ मा नेपालमा अन्धोपनको पछिल्लो अवस्थाको जानकारी प्राप्त गर्न आरएएबी (र्यापिड एसेस्मेन्ट अफ एभोइडएबल ब्लाइन्डनेस) सर्वे गरेको थियो । यो सर्वेअनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ को ०.८४ प्रतिशतबाट घटेर सन् २०११ मा ०.३५ प्रतिशतमा झरेको पाइयो । यसबाट संघले नेपालमा अन्धोपन न्यूनीकरणका लागि अवलम्बन गरिएका नीति र मोडेल सफल रहेका ठहर गरेको थियो । हामीले अवलम्बन गरेका नीति र मोडेललाई विश्वका अन्य मुलुकले पनि अनुसरण गरेका छन् । देश संघीय संरचनामा गइसकेको अवस्थामा प्रदेशस्तरमा सन् २०१९÷२० मा गरिएको आरएएबी सर्वेको प्रारम्भिक नतिजाअनुसार सन् २०११ को तुलनामा अन्धोपनको स्थिति प्रभावकारी रूपमा घटेको भने पाइएको छैन । जनसंख्या वृद्धि, नेपालीको औसत आयुमा बढोत्तरीलगायतले अन्धोपन न्यूनीकरणमा चुनौती थपिदिएको छ ।
सन् १९८१ ताका नेपालमा बर्सेनि कुल आठ सयजनाको आँखाको मात्र शल्यक्रिया हुने गरेको, तर आँखाका रोगी एवं दृष्टिविहीनको चाप अत्यधिक भएको परिप्रेक्ष्यमा सरकारी क्षेत्रबाट मात्र आँखा उपचार सेवालाई आवश्यकताबमोजिम सर्वसुलभ गराउन नसकिने तथ्यलाई हृदयंगम गरी वरिष्ठ समाजसेवी तथा नेत्रज्योति संघका परिकल्पनाकार वरिष्ठ नेत्र विशेषज्ञ डा. रामप्रसाद पोख्रेलको सक्रियतामा विभिन्न क्षेत्रका समाजसेवी, उद्योगपति तथा व्यापारीको सामूहिक प्रयासबाट आँखा क्षेत्रको पहिलो गैरसरकारी विशुद्ध सामाजिक संस्थाको रूपमा ०३५ सालमा नेपाल नेत्रज्योति संघको स्थापना भयो । काठमाडौं जिल्ला प्रशासनमा दर्ता भई समाज कल्याण परिषद्मा आबद्धता लिएको यस संघको परिकल्पना आँखा स्वास्थ्य सेवामा सम्पूर्ण नेपाली नागरिकको सहज पहुँच पुर्याउने हो ।

संघले अन्धोपनको अधिक प्रभावित क्षेत्र पहिचान गर्दै त्यस्ता स्थानमा आँखा अस्पताल तथा उपचार केन्द्रको स्थापना गरी सेवा प्रवाह गर्ने नीति अवलम्बन गर्यो । संघको मुख्य उद्देश्य आमसर्वसाधारणको पहुँचसम्म आँखा स्वास्थ्य सेवालाई सहज र सुलभ रूपमा पुर्याई सेवा र पैसाको अभावमा कुनै पनि नेपालीले दृष्टिविहीन भएर बस्नु नपरोस् भन्ने रहेको छ । संघका हालसम्मका सम्पूर्ण नीति यही उद्देश्य प्राप्तितर्फ केन्द्रित छन् । पछिल्लो समय संघले आँखासम्बन्धी विशेषज्ञको उत्पादनमा समेत विशेष ध्यान दिन थालेको छ । यस प्रयासले आँखा जनशक्तिमा संघ क्रमशः आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएको छ । ०६९ देखि संघले कानसम्बन्धी उपचार सेवा पनि प्रारम्भ गरेको छ ।
विश्वमा तीन करोड ६० लाख मानिस दृष्टिविहीन छन् । १२ करोड ४० लाखमा दृष्टिदोषको समस्या छ । ६ करोड ५० लाख मानिसमा मोतियाबिन्दु छ । जसमध्ये ७५ प्रतिशत अन्धोपन उपचारद्वारा निको पार्न सकिन्छ । ८९ प्रतिशत आँखाका रोगीहरू अति कम विकसित तथा विकासोन्मुख देशमा बस्ने छन् ।
नेपाल सरकारको सहयोगमा संघले राष्ट्रिय ट्रकोमा कार्यक्रम सञ्चालन गरी नेपाललाई विश्व स्वास्थ्य संगठनबाट दक्षिणपूर्वी एसियाली क्षेत्रमै जनस्वास्थ्य समस्याको रूपमा रहेको ट्रकोमा निवारण गर्ने पहिलो मुलुकका रूपमा सम्मानित हुने अवसर पनि प्राप्त गर्यो । यो संघको मात्र नभएर नेपालकै लागि समेत उल्लेखनीय उपलब्धि हो । यस अवधिमा पूर्वाधार विकास र नयाँ जनशक्ति उत्पादनको क्षेत्रमा उल्लेखनीय विकास भएको छ । हाल देशका सबै जिल्लामा प्राथमिक आँखा उपचार केन्द्र/आँखा अस्पतालका सेवा उपलब्ध छन् । आँखा उपचारमा अवलम्बन गरिएको प्रविधिलाई पनि नियमित रूपमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम अद्यावधिक गर्ने गरिएको छ । हाल स्वास्थ्य बिमामार्फत आँखा रोगको सेवालाई अधिकांश जिल्लामा सुलभ बनाउने प्रयासको थालनी भएको छ । हालै नेपाल सरकारले जारी गरेको राष्ट्रिय स्वास्थ्य नीति ०७६ को दफा ६.१७ र उपदफा ६.१७.१ मा आँखाको प्राथमिक उपचार सेवालाई आधारभूत स्वास्थ्य सेवामा एकीकृत गरिने उल्लेख छ । उपदफा ६.१७.२ मा सार्वजनिक निजी साझेदारीमा आँखा स्वास्थ्य सेवालाई विकास तथा विस्तार गर्दै केन्द्रीय निकायबाट समन्वय सहकार्य तथा नियमन गर्नका लागि संघीय स्वास्थ्य मन्त्रालयमा एक आँखा स्वास्थ्य एकाइ स्थापना गरिने रणनीति समावेश गरिएको छ । यो सकारात्मक पक्ष हो ।
विभिन्न चुनौतीका बाबजुद सेवा विस्तारका क्रममा संघको विभिन्न जिल्लामा ४२ जिल्ला शाखा, २१ आँखा अस्पताल र एक सय २६ आँखा उपचार केन्द्र सञ्चालित छन् । पाँच हजार पाँच सयजनाभन्दा बढी समाजसेवी संघमा आजीवन सदस्य रहेर सेवा पुर्याइरहेका छन् भने दुई हजार बढी प्रत्यक्ष सेवारत जनशक्ति आबद्ध छन् । सन् २०१९ मा संघले मातहतका आँखा अस्पताल तथा उपचार केन्द्रको माध्यमबाट कुल ३३ लाख २३ हजार ४४ को आँखा जाँच गर्नुका साथै दुई लाख ६५ हजार नौ सय ७८ व्यक्तिको मोतिबिन्दुलगायत आँखा रोगको शल्यक्रिया गरेको थियो । कोभिडका बाबजुद नेत्रज्योति संघबाट यो वर्ष १३ लाख १७ हजार ६ सय ३२ को आँखा जाँच र एक लाख २१ हजार तीन सय ६२ को शल्यक्रिया भएको छ ।
यति हुँदाहुँदै पनि नेपालको आँखा स्वास्थ्य सेवा आधारभूत स्वास्थ्य सेवासँग एकीकृत नहुँदा स्थानीय तहसम्म विस्तारित नेपालको स्वास्थ्य सेवाको बृहत् सञ्जालमा आँखा स्वास्थ्यलाई समावेश गराउन नसक्नु, समष्टिगत स्वास्थ्य उपचारमा आधारित आँखा स्वास्थ्य सेवाको विकास हुन नसक्नु तथा केही रोग (मोतियाबिन्दु, दृष्टिदोषजस्ता) उपचार सेवामा मात्र केन्द्रित रहने गरी आँखा अस्पतालको स्थापना हुनु, आँखा स्वास्थ्यलाई स्वास्थ्य सूचना प्रणालीमा एकीकरण नहुनुजस्ता समस्या र चुनौतीहरू विद्यमान नै छन् । वर्तमान अवस्थासम्म आइपुग्दा दृष्टिविहीनता न्यूनीकरणमा उल्लेखनीय सुधार भए पनि अन्धोपन निवारणको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि डब्ल्युचएओ वल्र्ड रिपोर्ट अन भिजन २०१९का सुझाबहरू कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
१३ चैत्र ०३५ बाट नेपाल नेत्रज्योति संघ विधिवत् दर्ता भई देशमा आँखा सेवामा लागेको दिनलाई नै ०५० सालदेखि ‘नेत्र ज्योति दिवस’का रूपमा मनाउन थालिएको हो । वास्तवमा यो दिवस मनाउनुको उद्देश्य जनमानसमा आँखा रोगबारे जनचेतना जगाई समयमै उपलब्ध सेवाको उपयोग गर्नमा अभिप्रेरित गराउनु रहेको छ । साथै नेपाल सरकार तथा गैर–सरकारी संघ–संस्था र मिडियालाई पनि संघको वर्तमान र भावी कार्यक्रमबारे जानकारी गराई आवश्यक सहयोग जुटाउनु पनि हो ।
(मिश्र नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक हुन्)