म्यानमारमा दमनको जवाफ हडताल

मंगलबार, १० चैत, २०७७
डिजिटल संस्करण

बैंकका झ्यालमा धुलो जम्न थालेका छन् । कार्गोहरू बन्दरगाहमा जस्ताका त्यस्तै छन् । राजधानी नेपिटस्थित विशाल सरकारी मन्त्रालयका कागजात चिसोले ढाडिन थालेका छन् । त्यहाँ थोरै मान्छे मात्र काम गरिरहेका देखिन्छन् । अघिल्लो महिनाको कुमा सेनाले सत्ता हातमा लिएदेखि देशभर यस्तै दृश्य देखिन्छ । अस्पताल, रेलसेवा, बन्दरगाहदेखि विद्यालय, पसल र व्यापारिक घरानासम्म समाजको ठूला हिस्सा ठप्प छ । हडतालको दबाबले सेना नागरिक सरकार फिर्ता गर्न बाध्य हुन्छ भन्ने रणनीतिमा यी भद्र अवज्ञाका कार्यक्रम अघि बढिरहेका छन् । 

फेब्रुअरी १ को कुपछि सुरु भएको प्रतिरोध आन्दोलनमा कम्तीमा २२० मानिस मरिसकेका छन् । आन्दोलन मत्थर हुने संकेत देखिँदैन । दमनका बाबजुद नागरिक प्रतिरोध बढिरहँदा सेनाले कठिनाइ महसुस गर्न थालेको छ । सेनाले कुका लागि जुन तयारी गरेको थियो, त्यसविरुद्ध उत्पन्न हुन सक्ने प्रतिरोधका लागि तयारी नगरेको देखिन थालेको छ । 

‘उनीहरूले हाम्रो निर्वाचित सरकारको शक्ति हत्याएका छन् । हाम्रो देशले भर्खर मात्र प्रजातान्त्रिक यात्रा सुरु गरेको थियो । हामी यसलाई पुनः गुमाउन सक्दैनौँ,’ विदेश मन्त्रालयकी क्लर्क चो चो नैङले बताइन् । दशौँ लाख मानिसले यसपटक जुन अवज्ञा गरिरहेका छन्, त्यसलाई अभूतपूर्व मानिएको छ । सरकारी मन्त्रालयका अधिकारीका अनुसार केन्द्रीय सरकारको झन्डै ९० प्रतिशत काम अवरुद्ध छ । उद्योगहरू पनि बन्द छन् । 

म्यानमारका झन्डै एकतिहाइ जनसंख्या पहिलेदेखि गरिबीको रेखामुनि बाँचिरहेका थिए । भद्र अवज्ञाले आममानिसको जीवनमा थप कठिनाइ उत्पन्न गरेको छ । हडतालकर्ताहरूमा थप केही हप्ता वा महिनाको प्रतिरोधले सेनालाई देश चलाउन गाह्रो पर्ने विश्वास छ । आइतबार म्यानमारको सबैभन्दा ठूलो सहर यांगुनको औद्योगिक जिल्लामा सेनाले प्रदर्शनकारीमाथि बल प्रयोग गर्दा दर्जनौँको ज्यान गयो । सो क्षेत्रमा अहिले मार्सल कानुन लागू गरिएको छ । धेरै कामदार अझै केही हार मान्ने पक्षमा छैनन् । 

अस्पताल, रेलसेवा, बन्दरगाहदेखि विद्यालय, पसल र व्यापारिक घरानासम्म ठप्प छन् । सरकारी मन्त्रालयका अधिकारीका अनुसार केन्द्रीय सरकारको झन्डै ९० प्रतिशत काम अवरुद्ध छ । उद्योग पनि बन्द छन् । 

सुधारको एक दशकमा विश्वव्यापी वित्तीय प्रणालीमा देश एकाकार हुन सुरु गरेकाले म्यानमारलाई नयाँ अवस्थाको बानी छैन । कुपछि छापा मारेर सेनाले नेसनल लिग फर डेमोक्रेसी पार्टीनजिकका सयौँ मानिसलाई पक्राउ गरेको छ । आङ सान सुकीका अस्ट्रेलियन आर्थिक सल्लाहकारलाई समेत सेनाले थुन्यो । केन्द्रीय बैंकका झन्डै दुई सय कामदार बर्खास्त भएका छन् । यसका कारणले म्यानमारको कर पनि संकलन भइरहेको छैन । आयात, निर्यातका लाइसेन्स पनि जारी भएका छैनन् । निजी बैंकका कर्मचारी पनि हडतालमा सहभागी भएकाले देश भित्रिने–बाहिरिने रकमको बहाव रोकिएको छ । धेरै उद्योग आफ्ना कर्मचारीको रकम तिर्न असमर्थ छन् । 

पैसा सकिने डरले सेनाका बैंकले पनि थोरै मात्र पैसा निकासा गरिरहेको छ । अघिल्लो साता सेनाले निजी बैंकमा कृषि व्यापारीले जम्मा गरेको पैसा राज्य तथा सैनिक बैंकमा जम्मा गर्न निर्देशन दियो । आगामी खेतीको समय आउन लागेको वेला किसानले पैसा निकाल्न आउने परिप्रेक्षमा उक्त निर्णय सुनाइएको थियो । तर, सेनाको निर्देशनको कुनै सुनुवाइ भएको छैन । 

म्यानमारमा धेरै कुराको अभाव सुरु हुन थालिसकेको छ । सवारीसाधनले डिजेल, पेट्रोल पाएका छैनन् । आयातीत बिउको अभाव सुरु भएको छ । यहाँसम्म कि विदेशी मञ्जन पाइन छाडेको छ । विश्व खाद्य कार्यक्रमका अनुसार यांगुन क्षेत्रमा पाम आयलको खुद्रा मूल्य २० प्रतिशतले बढिसक्यो । मानिसहरू एटिएमबाट पैसा निकाल्न र अवकाश रकमका लागि लामो लाइनमा बस्न विवश छन् । अभावग्रस्त मानिसलाई सघाउनका लागि विभिन्न सहयोग समूहहरू पनि बनेका छन् । देशको दोस्रो ठूलो सहर म्यान्डलेका बासिन्दाले खोलेको एउटा फेसबुक ग्रुपले झन्डै पाँच हजार प्रदर्शनकारीको खानपिन पुर्याउने गरी रकम उठाउँछ । 

दशकौँको सैनिक कुव्यवस्थापनका कारण म्यानमारको अर्थतन्त्र एसियाकै अल्पविकसित अर्थतन्त्रमध्येमा पर्छ । कोरोना महामारीले देशको अर्थतन्त्र पहिले नै प्रभावित गरेको थियो । कुपछि विदेशी लगानीकर्ता सशंकित बन्न थालेका छन् । टोयटाले देशभित्र खोल्ने भनेको उद्योग निर्माणमा ढिलाइ गर्यो । विश्व बैंकले अनुदान रोक्यो । पश्चिमी सरकारले सैन्य अधिकारीमाथि एकपछि अर्को प्रतिबन्ध लगाइरहेको छ । अमेरिकी सरकारले अमेरिकी वित्तीय संस्थानमा रहेका म्यानमारका झन्डै एक अर्ब डलर फ्रिज गरिदिएको छ । 

तर, सेनासँग अझै पनि आयका प्रशस्त स्रोत बाँकी नै छन् । विशेषतः तेल र ग्यासखानीले धेरै रकम दिन्छ । य क्वे थु विगत एक दशकदेखि सुदूर पश्चिमी राज्य रखाइनमा रहेको स्वे प्राकृतिक ग्यास परियोजनामा काम गर्छन् । उनका अधिकांश सहकर्मी विदेशी छन् । धेरै दक्षिण कोरियाली छन् । उनलाई आगामी दिनमा परियोजनाका अन्य म्यानमार नागरिकहरूलाई हटाएर विदेशी राखिनेछ भन्ने लाग्छ । तथापि, य क्वे थुलाई हडतालमा सहभागी हुने आफ्नो निर्णय सही लाग्छ । 

आफूलाई विघटित संसद्को प्रतिनिधि बताउने विधायकहरूको एक समूहले विदेशी तेल तथा ग्यास कम्पनीलाई पत्रमार्फत सैन्य शासकलाई भुक्तानी नगर्न आग्रह गरे । भुक्तानी जारी राखे ‘वर्तमान सैन्य सरकारको हिंसात्मक शासन’ र सैन्य जनरल थप बलशाली हुने तिनले चेतावनी दिएका छन् । तर, स्वे प्राकृतिक ग्यासको दोहन कुपछि पनि कम भएको छैन । त्यहाँ उत्पादित ग्यास चीन पठाइन्छ । म्यानमारको सेनाले देशको तेल र ग्यास खानीबाट मासिक नौ करोड डलर कमाउँछ ।

तेल र ग्यासबाहेक सेना र सेनासँग जोडिएका होल्डिङ कम्पनीले काठ तथा अन्य प्राकृतिक स्रोतको दोहनबाट पनि आयआर्जन गर्छ । नागरिक अवज्ञा आन्दोलनले यो अवैध गतिविधिलाई रोक्न सक्दैन । त्यसबाहेक राजनीतिक द्वन्द्वको माहोलमा मेथाम्झेटामाइन तथा अन्य लागुऔषधको निर्माण बढ्न सक्छ । तर, हडतालकारी भने सेनाले घुँडा नटेकेसम्म हार मान्ने पक्षमा देखिँदैनन् । 

हनाह विच द न्युयोर्क टाइम्सकी दक्षिणपूर्वी एसिया ब्युरो प्रमुख हुन्

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार