लगातार तीन दिन बढेको नेप्से परिसूचक सोमबार सामान्य करेक्सन भएको छ । सुरुमा बढे पनि नाफा बुक गर्ने लगानीकर्ता बढ्दा नेप्से २४ अंकले घटेको हो ।अघिल्लो बुधबारबाट करिब १ सय ५० अंकसम्म बढेको बजारमा लगानीकर्ताले प्रफिट बुक गर्न थालेपछि नेप्सेमा करेक्सन देखिएको हो । सोमबार नेप्से परिसूचक २४ दशमलव ०६ अंकले घटेर २ हजार ५ सय १४ बिन्दुमा आएको छ । प्रिसेसनमा बढेको बजार केही समयमै घट्न थालेको हो । बजार केही दिन २५ सयकै हाराहारीमा रहन सक्ने विश्लेषक तथा लगानीकर्ता विष्णु बस्याल बताउँछन् ।
‘क’ वर्गको कम्पनीको सेयर कारोबारमापक सेन्सेटिभ इन्डेक्समा घटेर ४ दशमलव ४ सय ४८ बिन्दुमा आइपुगेको छ । यस दिन कारोबारमा आएका १३ समूहमध्ये २ समूहको मात्र सूचक बढेको छ । होटेल तथा पर्यटन, हाइड्रोपावर समूहको सूचक ३ दशमलव ४७ देखि ४ दशमलव ७९ प्रतिशतले बढेको छ । बाँकी अन्य ११ समूहको सूचक ० दशमलव ३८ देखि २ दशमलव २७ प्रतिशतसम्म घटेको हो । यस दिन २ सय ११ किसिमका धितोपत्र र ऋणपत्रका १ करोड ९३ लाख कित्ता–इकाइ किनबेच हुँदा कुल ५ अर्ब ३५ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै कारोबार हुनेमा अपर तामाकोसी हाइड्रोपावर लिमिटेड रहेको छ । अपर तामाकोसीको ४६ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । त्यसपछि बढी कारोबार हुनेमा नेपाल बंगलादेश बैंक रहेको छ । बैंकको ३१ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै मूल्य बढ्नेमा अपर तामाकोसी हाइड्रोपावर कम्पनी रहेको छ । यस कम्पनीको १० प्रतिशतले सर्किट लागेर कारोबार बन्द भएको छ । त्यस्तै, चन्द्रागिरि हिल्सको पनि यस दिन ९ दशमलव ९९ प्रतिशत बढेर सर्किट लागेको छ ।
आइतबारदेखि लगानीकर्ता लघुवित्तमा आकर्षित भएका छन् । लघुवित्त कम्पनीहरूले ८–९ महिनादेखि वाणिज्य बैंकबाट सस्तो लागतमा पुँजी पाइरहेकाले कम्पनीहरूको नाफामा राम्रो सुधारसहितको वित्तीय विवरण आउने अपेक्षा लगानीकर्ताको छ ।
कम्पनी अरुण भ्याली हाइड्रो डेभलपर्स ७ दशमलव ४४ अंकले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै घट्नेमा पु्रडेन्सियल इन्स्योरेन्स रहेको छ । सो दिन ४ दशमलव ७१ प्रतिशतले घटेको छ । त्यसैगरी, सपोर्ट माइक्रो फाइनान्स ४ दशमलव ४७ प्रतिशतले घटेको छ । अन्य कारोबारमा आएका विभिन्न कम्पनीको ३ प्रतिशतदेखि १ प्रतिशतभन्दा कमले घटेका छन् ।
किसान लघुवित्तले फिर्ता गर्यो हकप्रद निष्कासन गर्ने प्रस्ताव
किसान लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्कासन गर्ने प्रस्ताव फिर्ता गरेको छ । आइतबार सूचना जारी गर्दै चैत २९ को साधारणसभामा १:१ अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव लैजाने बताएको भए पनि सोमबार पुनः सच्याएको हो । कम्पनीले हकप्रद दिने प्रस्ताव भुलवश परेको भन्दै सच्याइएको जनाएको छ ।