राजधानीको नेतृत्व गर्दै रेजर्स

सोमबार, ९ चैत, २०७७
डिजिटल संस्करण

वैशाख दोस्रो साताबाट नेपालमा पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) सुरु हुँदै छ । विभिन्न सात सहरका टोलीले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितामा राजधानीको प्रतिनिधित्व काठमाडौं रेजर्सले गर्दै छ । 

पहिलोपटक हुन लागेको फुटबलको यो फरक प्रतियोगितामा राजधानीको प्रतिनिधित्व गर्न पाउनुलाई क्लबले गौरवको विषय ठानेको छ । त्यही जिम्मेवारीलाई बुझेको काठमाडौंले प्रतियोगिताका लागि बलियो टोली तयार पार्ने प्रयास गरेको छ । क्लबले राष्ट्रिय टोलीका पूर्वसदस्य विज्ञानराज शर्मालाई कार्यकारी अध्यक्षका रूपमा नियुक्त गरेको छ । हाल राष्ट्रिय टोलीको प्रशिक्षक रहेका बालगोपाल महर्जनलाई प्रशिक्षक र गोलरक्षक विकेश कुथूलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको छ । 

टोलीले प्रतियोगितामा राजधानीको साख जोखाउन पनि बलियो टोली खडा गर्ने प्रयासमा देखिएको छ । काठमाडौं यामाहा मोटरसाइकलको विक्रेता एमएडब्लू ग्रुपको स्वामित्वमा रहेको क्लब हो । ‘यामाहा पहिलेदेखि नै नेपाली फुटबलसँग जोडिएकै छ । हामीले धेरैपटक सहिद स्मारक ए डिभिजन लिगलाई सहयोग गरेका छौँ’, क्लबका मालिक विष्णुकुमार अग्रवाल भन्छन्, ‘यसपटक पनि फुटबलकै विकासका लागि नयाँ ढंगले जोडिएका छौँ । प्रतियोगितामा राजधानीको नेतृत्व गर्दै छौँ । राजधानीको साख उँचो राख्नका लागि पनि हामीले टोली निर्माणदेखि नै मिहिनेत गरेका छौँ ।’

काठमाडौंलाई प्रतिनिधित्व गर्न पाउँदा टोलीका अन्य सदस्य र खेलाडी उत्साहित देखिएका छन् । ‘पहिलोपटक आयोजना हुन लागेको यो प्रतियोगितामा सहभागी हुन पाउनु र त्यसमाथि पनि राजधानीको टोलीलाई प्रतिनिधित्व गर्न पाउनु हाम्रा लागि खुसीको कुरा हो’, प्रशिक्षक महर्जन भन्छन्, ‘हाम्रो लक्ष्य उपाधि जित्ने नै हुनेछ । सोही उद्देश्यलाई मध्यनजर गरी टोलीमा बाँकी खेलाडीको अनुबन्ध गर्नेछौँ ।’

मार्की खेलाडी विकेशले टोलीको योजनाबाट आफू प्रभावित रहेको बताए । ‘राजधानीको टोली भन्नेबित्तिकै फरक अनुभूति हुन्छ । फरक खालको दबाब र उत्साह पनि हुन्छ’, कुथू भन्छन्, ‘राजधानीको टोलीको छवी बलियो बनाउन क्लबले राम्रो प्रयास गरिरहेको छ । टोलीको त्यही योजनामा प्रभावित भएपछि काठमाडौंसँग जोडिएको हुँ ।’ प्रतियोगिता ११ वैशाखबाट त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा हुँदै छ । 

See More On

सुझावित समाचार