दोस्रो चरणको कोरोना खोपअन्तर्गत बाँकेमा सञ्चालन भएको कोरोनाविरुद्धको खोप अभियानमा ८१ प्रतिशतले सहभागिता जनाएका छन् । ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरी सञ्चालन भएको उक्त अभियानमा कुल २५ हजार सात सय ८९ जनालाई खोप लगाउने लक्ष्य लिइएको थियो । तीमध्ये २० हजार सात सय ८६ जनाले खोप लगाएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)का कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
बाँकेमा पहिलो र दोस्रो गरी हालसम्म ३० हजार ६ सय १९ जनाले खोप लगाएका छन् । उनले अघिल्लोपटकको खोप अभियानमा ९ हजार आठ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लगाएको बताए । बाँकेमा पछिल्लो खोप अभियानमा दुई हजार एक सय ३८ भायल खोप खर्च भएको उनले बताए । ‘बाँकेका शतप्रतिशतले खोप नलगाए पनि प्रतिशतलाई हेर्दा सन्तोषजनक मान्नु पर्छ,’ उनले भने । स्थानीय तहमा रहेका ८१ वटा स्वास्थ्यचौकीमार्फत कोरोनाविरुद्धको खोप दिइएको थियो ।
बैजनाथमा ९२ प्रतिशतले खोप लगाए
बाँकेका आठ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै बैजनाथ गाउँपालिकाका ज्येष्ठ नागरिकले सेवा लिएका छन् । बैजनाथका ९२ प्रतिशतले खोप लगाएको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । कुल तीन हजार एक सय २१ जनालाई खोप लगाउने लक्ष्य गरिएकोमा दुई हजार आठ सय ६९ जनाले खोप लगाएको उनले बताए ।
कोहलपुर नगरपालिकाका ८७, राप्तीसोनारी गाउँपालिकाका ८५, जानकी गाउँपालिकाका ८१ र नेपालगन्ज उपमहानगरपालिकाका ६५ वर्षमाथिका ७९ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । बाँकेमा सबैभन्दा कम डुडुवा गाउँपालिकाका ज्येष्ठ नागरिकले खोप लिएका छन् ।
डुडुवाका ६६ प्रतिशतले मात्र खोप लिएको तथ्यांक छ । कोरोना फोकल पर्सन ओलीका अनुसार, नरैनापुरका ७६ र खजुरा गाउँपालिकाका ७७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । ‘खोपबारेमा गलत प्रचारप्रसार भएकाले कुनै–कुनै पालिकामा खोप लगाउनेको संख्या कम देखिएको हो,’ उनले भने ।