‘डिभोर्स’ माग्दा श्रीमतीको हत्या

बिहिबार, ५ चैत, २०७७
डिजिटल संस्करण

लागुऔषधका दुर्व्यसनी श्रीमान्बाट छुटकारा पाउन डिभोर्स माग्दा बल्खुकी सन्तोषी श्रेष्ठले गुमाइन् ज्यान

काठमाडौंको बल्खु सुकम्बासी बस्तीकी ३२ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको हत्याको कारण ‘डिभोर्स’ भएको खुलेको छ । सोमबार साँझ श्रीमान् सन्तोष सापकोटाले हथौडा प्रहार गरी उनको हत्या गरेका थिए ।

प्रहरीका अनुसार सन्तोष लागुऔषधका दुर्व्यसनी हुन् । आर्थिक अभावका कारण दम्पतीबीच सधैँ झगडा हुने गर्थ्यो । सोमबार सन्तोषीले ‘डिभोर्स’ मागेपछि सन्तोष उत्तेजित भएका थिए । यही क्रममा उनले सन्तोषीलाई हथौडाले टाउकोमा प्रहार गरेको र सोही कारण उनको मृत्यु भएको प्रहरीको अनुसन्धानले देखाएको छ । 

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले ‘डिभोर्स’को विषयमा विवाद बढेपछि हत्या भएको बताए । ‘सन्तोष लागुऔषधका दुर्व्यसनी रहेछ । आर्थिक विषयमा दम्पतीबीच सधैँ झगडा पर्ने रहेछ । दिक्क भएकी सन्तोषीले श्रीमान्बाट छुट्टिन खोजेकी रहिछन् । सोमबार पनि यही विषयमा दुईबीच विवाद भएछ । उत्तेजित बनेका सन्तोषले सन्तोषीको टाउकोमा हथौडा प्रहार गरेछन्,’ एसएसपी सिंहले भने, ‘चोटका कारण सन्तोषी कोठामै ढलिन् । अन्ततः सोही चोटका कारण उनको मृत्यु भएको जस्तो देखिन्छ ।’

प्रहरीका अनुसार हथौडा प्रहारपछि ढलेकी सन्तोषीको घाँटीमा पनि नीलडाम छ । सन्तोषले सन्तोषीको घाँटी पनि थिचेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृत्यु भएपछि सन्तोषले श्रीमतीको शवलाई तन्नामा बेरेका थिए । त्यसअघि श्रीमतीको कानको झुम्का, हातको बाला, सुनको लकेट, आइफोन र पर्समा रहेको २३ हजार रुपैयाँ पनि लिएका थिए । 

तन्नामा पोको पारिएको शवलाई भने उनले बल्खु सुकुम्बासी बस्तीस्थित नारायण सापकोटाको घरपछाडि रहेको जस्ताको बरन्डामा लुकाएका थिए । त्यसपछि कालिमाटी हुँदै बग्ने खोला किनारमा थकाइ मारे । यस क्रममा उनले रगत लागेको सुरुवाल र जुत्ता फेरे । साथमा रहेको लागुऔषध पनि त्यही ठाउँमा प्रयोग गरेका थिए । नसामा रहेका उनी त्यसपछि भने फरार भएका थिए । 

‘हत्यापछि यसले श्रीमतीको कानको मुन्द्रा, हातको बाला, आइफोन र नगद लिएपछि शवलाई तन्नामा पोको पारेको रहेछ । शव जस्ताको टहरोमा लगेर राखेपछि फरार रहेको देखिन्छ,’ एसएसपी सिंहले भने । प्रहरीले अभियुक्त सन्तोषलाई मंगलबार बल्खुस्थित तरकारी बजारबाट पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले आइफोन, सुनका मुन्द्रा, लकेट, बाला र २३ हजार रुपैयाँ बरामद गरेको छ । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको हथौडा, रगत लागेको कपडा, लागुऔषधका खाली सिरिन्ज बरामद गरेको थियो । 

लागुऔषध सेवनपछि टोखामा युवकको हत्या 
मोरङ बेलबारी नपा– २ का २२ वर्षीय आशिष लिम्बूको हत्या पनि लागुऔषधको नसाकै सुरमा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनको शव गत २९ फागुनमा टोखा नपा– १ मालुङस्थित सडकछेउ रहेको बाँसको झाङमा भेटिएको थियो ।

२८ फागुनमा उनको हत्या टोखा नपा– ३ सूर्यदर्शन हाइटस्थित मोहम्मद कासिम मन्सुरीले सञ्चालन गरेको मोटरसाइकल वर्कसपमा भएको थियो । नशामा रहेका मन्सुरी, सेख अब्दुल आलम र भूपेन्द्रकुमार साहले लिम्बूको घाँटी थिची हत्या गरेका थिए । हत्यापछि उनको शवलाई तन्नामा बेरेर मालुङस्थित सडकछेउ रहेको बाँसको झाङमा लगेर लुकाए थिए । शव ठेगाउन लगाउन स्कुटर प्रयोग गरेका उनीहरू सबैलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

‘लिम्बूको हत्या घाँटी थिचेर भएको जस्तो देखिन्छ । त्यसअघि उनीहरूले लागुऔषध सेवन गरेका थिए । नसामा रहेका दुई पक्षबीच विवाद भयो । विवादपछि कुटपिट भयो । उत्तेजित बनेका उनीहरूले लिम्बूको घाँटी थिचेका कारण मृत्यु भएको जस्तो देखिन्छ,’ परिसरका एसएसपी सिंहले भने ।

See More On

सुझावित समाचार