नवप्रवर्तनले महिलालाई स्वतन्त्रता दिलाउँछ

बुधबार, ४ चैत, २०७७
डिजिटल संस्करण

नवप्रवर्तन र मेसिनहरूको आविष्कार महिलाका लागि सधैँ नै मुक्तिदाता साबित भएका छन् 

जारी महामारीको विपत्ले थुप्रै आमालाई आफ्नो काम छोड्न बाध्य बनायो । ती काम गुमाएका तमाम महिलाले बालबच्चाको देखभाल, घरका वृद्धका अतिरिक्त स्याहार गर्नुपर्ने भयो, घरैबाट दूरशिक्षा लिन बाध्य बालबालिकाको सहयोगी पनि बन्नुपर्यो, उनीहरूलाई सित्तैमा गर्नुपर्ने कामको भारी थपियो । 

यहीबीच, रोबोट र अटोमेसन प्रविधिले मानिसको काम खोसिरहेकोमा चिन्ता बढेको छ । तर, नवप्रवर्तन र मेसिनको आविष्कार महिलाका लागि भने सधैँ नै मुक्तिदायक साबित भएका छन् । प्रत्यक्ष मौद्रिक लाभ प्राप्त नहुने महिलाका घरेलु काममा श्रम–बचत (लेवर–सेभिङ) प्रविधिले चमत्कारिक लाभ दिएको पाइन्छ । रोजगारी नाशक नवप्रवर्तन वा आविष्कारलाई महिलाका दृष्टिबाट हेर्दा मुक्तिदाताजस्तो लाग्ने अर्थशास्त्री जेरेमी ग्रिनउड, अनाथ सेसाद्री र मेहेमेत योरुकोग्लुले सन् २००५ मा ‘इन्जिन अफ लिबरेसन’ शीर्षको लेखमा लेखेका छन् । लेवर–सेभिङ टेक्नोलोजीले महिलाको उत्पादकत्व वृद्धि गरेर तीनले दिने सेवामा नयाँ माग सिर्जना गरिदिन्छ, महिलालाई आफ्नो समयमाथि नियन्त्रण राख्ने क्षमता दिन्छ, पेसा छनोटमा थप स्वतन्त्रता दिलाउँछ । केही उदाहरण हेरौँ :

पानीघट्ट : युरोपमा माध्यमिककालमा पानीघट्टको आगमनले महिलाको कार्य बिताउने समयमा आमूल क्रान्ति ल्याइदियो । गहुँ, जौ कुटानी र पिसानीमा महिलाले हरेक दिन ठूलो समय खर्चिनुपर्थ्यो। सन् १९९० ताका समेत मेक्सिकोका ग्रामीण भेगका महिलाले मकैको पिठो तयार गर्न परम्परागत तरिका नै अपनाउँथे । खाद्य इतिहासकार राचेल लाउदानका अनुसार ६ सदस्यीय परिवारका पिठो तयार गरेर खाना बनाउँदा एउटी महिलाले पाँच घन्टा खर्चन्थे । पानीघट्टले त्यो समयमा भारी कटौती गरिदियो र अर्काे कामका लागि समय उपलब्ध गराइदियो । पाटीघट्टले बचाइदिएको समय महिलाले ऊन कात्नेमा खर्चिए । ऊन आधारित व्यापारमा क्रान्ति आयो, एन्टवेर्प, लन्डन र फ्लोरेन्सजस्ता व्यापारिक केन्द्र खडा गर्यो । मध्यकालमा एउटी महिला चर्खा चलाएर सुरुवालका लागि चाहिने ऊन कात्न ११० घन्टा खर्चिन्थिन् । 

लेबर–सेभिङ टेक्नोलोजीले महिलाको उत्पादकत्व वृद्धि गरेर तिनले दिने सेवामा नयाँ माग सिर्जना गरिदिन्छ, महिलालाई आफ्नो समयमाथि नियन्त्रण राख्ने क्षमता दिन्छ, पेसा छनोटमा थप स्वतन्त्रता दिलाउँछ ।

स्पिनिङ मिल : आर्थिक इतिहासकार क्रेग मुलड्र्यु सन् १७६८ ताकाका बेलायतका ४० लाख श्रमबलमध्ये १० लाखजति महिला श्रमिक बुनाहको काम गर्थे । धागो उत्पादनमा महिलाको श्रम ठूलो मात्रामा खर्च हुन्थ्यो । तर, तिनको ज्याला ज्यादै न्यून थियो । स्पिनिङ मिलले यो गणितमा आमूल परिवर्तन ल्यायो । दिनभरिमा हुने काम मिनेटमा बदलिदियो । कपडा मिलले युवतीहरूलाई आफ्नै आय दिएर उनीहरूको क्षितिज उघारिदियो । महिलाले आफ्नै पैसाले राम्रा लुगा किन्ने अवसर पाउन थाले, नयाँ खालको स्वायत्तता आयो । चुलो–चौकोबाट निकालेर नयाँ पहिचान दियो । 

रोटरी प्रिन्टिङ प्रेस : सन् १८४० मा वाष्पशक्ति सञ्चालित छापाखानाको आविष्कार भयो । यो यन्त्र महिलाका निम्ति अर्काे मुक्तिदाता बन्यो । यसले प्रिन्टिङ क्षमतालाई दश गुणा बढाएर पुस्तक, पत्र–पत्रिकाको बजार विस्तार गरिदियो । कैयौँ महिलाले फिक्सन लेखेर राम्रो कमाइ गर्न थाले । केही महिला पत्रकारले महिलाको पक्षमा लेख्न थाले । 

लुगा सिउने मेसिन : ‘यो मात्रै यस्तो आविष्कार हो, जुन महिलाका लागि लाभदायक छ’, न्युयोर्क टाइम्सले सन् १८६० मा लेखेको थियो । यो मेसिनबाट महिलाले आफैँ व्यवसाय सुरु गर्न सक्ने भए । यसले कामलाई मात्रै सरलीकरण गरेन, व्यवसायको अवसर पनि दियो । सियोले १४ घन्टामा बन्ने सर्ट सिउने मेसिनबाट एक घन्टामै हुन थाल्यो । यहीकारण, एउटै मेसिनले पाँच विधवा र २५ बालबच्चाको रोटी खोस्ने भयो भनेर ओहायोका पत्रकारले यो मेसिनको आलोचना गरी लेखेका थिए । हाडको सियोलाई स्टिलको सियोले प्रतिस्थापन गर्यो । अहिले पनि विश्वका थुप्रै महिलाका लागि यो भरपर्दाे व्यवसाय बनेको छ । 

लुगाधुने मेसिन : यो मेसिन आउनुअघि लुगाधुने कार्य बढी नै श्रमप्रधान थियो । यसले लुगा धुने समयलाई पाँच गुणा घटाइदियो । समय मात्रै बचेन काम पनि सरल बन्यो । 

सिन्थेटिक फाइबर : २०औँ शताब्दीमा आइपुग्दासमेत वासिङ, लन्ड्रिङ तथा आइरनिङले निकै समय खान्थ्यो । सन् १९३४ मा नाइलनको आविष्कारले कपडा उद्योगमा क्रान्ति नै ल्यायो । यसले लन्ड्रीको कार्यभारलाई पनि थप सजिलो बनाइदियो । सिन्थेटिकबाट बनेका लुगा धुन सजिला भए । सिन्थेटिक फाइवरले हाम्रो फेसनमै आमूल परिवर्तन ल्याएको छ, जुन अहिलेको महामारीमा हामीले प्रयोग गर्दै गरेको योगा पेन्टसम्ममा जारी छ । सन् १९७० को दशकमा ठूलो संख्यामा श्रमबलमा छिरेका अमेरिकी महिलाले यसैबाट बनेका छरिता र सफा पोलिस्टरका पेन्टसुट लगाउन थाले । पछिल्ला दशकमा सिन्थेटिक फेब्रिक थप मुलायम र सुन्दर हुँदै गएको छ । प्रविधिले जति हाम्रो काम गरिदिएको छ, हामी उत्तिकै स्वतन्त्र हुँदै गएका छौँ । हाम्रा पूर्वज आमाहरूले गरेको असाध्य श्रमलाई फर्किएर हेर्दा हामी कामलाई कठिन र सुस्त बनाएर सजिलै थप काम सिर्जना गर्न सक्छौँ । तर, तपाईंले कामलाई सजिलो र छरितो बनाउनुभयो भने धन र स्वतन्त्रता दुवै कमाउनुहुन्छ । एउटी धोबिनीले एकथुप्रो कपडामा डिटर्जेन्ट छर्केर आफ्नो ल्यापटपमा अरू नै काम गर्ने अवसर पाएकी छिन् । 

(‘द फ्रेब्रिक अफ सिभिलाइजेसन : हाउ टेक्स्टायल मेड द वल्र्ड’ की लेखक पोस्ट्रेल ब्लुमवर्गकी स्तम्भकार हुन्) 
ब्लुमवर्गबाट

 

सुझावित समाचार