मंगलबार पनि सेयर बजार परिसूचक नेप्से २४ सय बिन्दुआसपासमा टेवा परीक्षणमा देखिएको छ । यसअघि पनि १८ माघमा २३ सय ७० सम्ममा टेवा पाएर नेप्से केही बढेको थियो । २४ सय बिन्दु लगानीकर्ताको मनोवैज्ञानिक बिन्दुसमेत बनिरहेको छ । मंगलबार पनि नेप्से २३ सय ७० सम्म पुगेर बजार बन्द हुनुभन्दा केही समयअघि मात्रै बढेको हो ।
नेप्से झिनो अंकले वृद्धि भएको छ । अघिल्लो दिनको भन्दा नेप्से २ दशमलव ५६ अंकले बढेर २ हजार ३ सय ९१ बिन्दुमा आइपुगेको हो । अहिले लगानीकर्ताले सस्तोमा सेयर बेच्न नचाहेकाले पनि बजार यही बिन्दुआसपास आएर अडिरहेको लगानीकर्ताको विश्लेषण छ ।
बजारमा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहँदा कारोबार रकम भने खस्किरहेको छ । कारोबार रकम ४ महिनायताकै सबैभन्दा कम भएको छ । यस दिन ३ अर्ब ३७ करोड रुपैयाँबराबरको कारोबार भएको हो । यसअघि २४ कात्तिकमा ४ अर्बभन्दा कम रकमको कारोबार भएको थियो । त्यसयता यो दरमा कहिल्यै पनि कारोबार रकम आएको थिएन ।
यस दिन ‘क’ वर्गको सेयर कारोबारमापक सेन्सेटिभ इन्डेक्स र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने सेयर कारोबारमापक फ्लोट परिसूचक पनि झिनो अंकले बढेका छन् । कारोबारमा आएका १३ समूहमध्ये यस दिन ७ वटा समूहको सूचक बढेको छ । बाँकी रहेका ६ समूहको सूचक घट्न पुगेको छ । होटेल तथा पर्यटन समूह र जीवन बिमा समूहगत परिसूचकमा सबैभन्दा धेरैले वृद्धि भएको हो । यी सूचकमा क्रमशः ३ दशमलव ३६ प्रतिशत र १ दशमलव ४६ प्रतिशतले वृद्धि भएको हो ।
यस दिन सबैभन्दा धेरै गुमाउनेमा व्यापार (ट्रेडिङ) समूह छ । सो समूहको सूचक १ दशमलव ९२ अंकले घटेको छ ।
यस दिन चन्द्रागिरि हिल्स ९ दशमलव ९८ प्रतिशतले सर्किट लागेर बन्द भएको छ । चन्द्रागिरि हिल्स अघिल्लो सातादेखि नै लगातार सर्किट लाग्दै बन्द भइरहेको छ ।
त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट ९ दशमलव २ प्रतिशत हाइड्रो लिमिटेड, ग्रिन लाइफ हाइड्रो पावर ९ दशमलव ७३ प्रतिशतले बढेको छ । मंगलबारबाट कारोबारमा आएको कम्पनीको २ सय ९९ बाट कारोबार सुरु भएकोमा बढदै गएर अन्तिम कारोबार ३ सय २८ सम्ममा भएको छ । कम्पनीले पहिलो कारोबारका लागि ९९ रुपैयाँदेखि २ सय ९९ सम्मको मूल्य रेन्ज पाएको थियो ।
मंगलबारबाट पहिलो कारोबार ४ सय ३८ रुपैयाँबाट भएको महिला लघुवित्तको ४ सय ४६ सम्म मूल्य पुगेको छ । १० कित्ताभन्दा कम दरमा समेत कम्पनीको सेयर कारोबार भएकोमा पूरै दिनमा ३० कित्ता सेयर कारोबार भएको छ । कम्पनीले पहिलो कारोबारका लागि ३ सय १३ देखि ९ सय ३९ रुपैयाँसम्म मूल्य रेन्ज पाएको थियो । यस दिन सबैभन्दा धेरै घट्नेमा पञ्चकन्या माई हाइड्रोपावर रहेको छ । कम्पनीको ४ दशमलव ८६ प्रतिशतले मूल्य घटेको हो । यस दिन सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको १९ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।