नेपाल–खनाल समूहको भेलामा नजान ओलीको निर्देशन (भिडियोसहित)

मंगलबार, ३ चैत, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टी नेतृत्वका विरुद्ध आफूखुसी गुटगत भेला नगर्न–नगराउन र त्यस्ता भेलामा नजान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहले आह्वान गरेको भेलामा सहभागी नहुन निर्देशन दिएका हुन् । 

उनले पार्टीभन्दा बाहिर गएर गुटगत भेला नगर्न पनि चेतावनी दिएका छन् । पार्टी विधिविधानअनुसार चल्ने भन्दै उनले मनपरी गर्ने छुट कसैलाई नभएको बताए । कानुनका नजरमा सबै समान हुने भन्दै उनले निर्देशनविपरीत गुटगत भेला भएमा कारबाही हुन सक्ने संकेत पनि गरे । 

उनले भने, ‘भोलि भेला आह्वान गरेको छ रे । नेकपा एमालेसँग आबद्ध नेता वा कार्यकर्ता गुटगत भेला नगर्न, नगराउन, त्यस्ता भेलामा नजान सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई सजग र सचेत गराउन चाहन्छु । पार्टी एकताको पक्षमा बस्न आग्रह गर्न चाहन्छु । र, त्यस्ता गुटगत भेलाहरूमा सरिक नहुन पनि म तमाम कार्यकर्तालाई आग्रह गर्दछु । यस पार्टीमा कसैमाथि अन्याय हुँदैन ।’

ओलीले सडकमा विधिविधानका कुरा गरेर नेपाल पक्षले जंगलको राज गर्न चाहेको टिप्पणी गरे । उनले भने, ‘जंगलको राज चलाउने अनि विधि–पद्धतिका कुरा गर्ने ? लोकतान्त्रिक मूल्य, मान्यता, पद्धति, विधि, नियम, कानुन, देशको संविधान केहीको पनि कुनै मतलब छैन । अहंकार स्वेच्छाचारिता । अब पार्टी ०७५ जेठ ३ भन्दा अगाडिको स्थितिमा फर्कियो भनेपछि पनि केही मानिसहरू छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन् । निहुँ खोजिरहेका छन् । ७ चैतमा फेरि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । उहाँहरू भोलि राष्ट्रिय भेला बोलाउने, भेलाबाट प्रतिवेदन पास गर्ने अरे । राष्ट्रिय भेलाबाट के–के समानान्तर कमिटी बनाउने अरे । समानान्तर होइन, अर्को कमिटी बन्ला । कसैले पनि अर्को कमिटी बनाउँछ कि पार्टी बनाउँछ कि त्यो त के गर्न सकिन्छ ? तर, यो एउटै पार्टीमा बसेर यस पार्टीमा अबउप्रान्त अराजकता, अनुशासनहीनता, उच्छृंखलताजस्ता कुराहरू, विधि–विधानविपरीतका कामकारबाहीहरू, पार्टीको एकताविरोधी क्रियाकलापहरूमा छुट हुने छैन । ती कुरा मान्य हुन सक्तैन । त्यस्ता कुराहरूलाई हामी सहेर बसिरहन सक्तैनौँ । पार्टीलाई पार्टीको रूपमा चल्न नदिने, भाँडभैलो मच्चाउने, जहिले पनि भाँडभैलो मच्चाउने कुरा हुन सक्तैन ।’

उनले पार्टीभित्र विचारमा एकताबद्ध भएर अनुशासित ढंगले काम गर्नुपर्नेमा जोड दिए । सत्य र अनुशासित समाज निर्माणका लागि एकताबद्ध, अनुशासित र गतिशील पार्टी हुनुपर्नेमा उनले जोड दिए ।

आत्मआलोचनासहित एकताको पक्षमा उभिन आग्रह
आफूहरूले फराकिलो सोच राखेको भन्दै उनले आत्मआलोचनासहित पार्टी एकताको पक्षमा उभिन नेपाल समूहलाई आग्रह गरे । उनले विगतमा जस्तै तमासा गर्ने छुट अब नहुने चेतावनी दिए । उनले भने, ‘ठुल्ठूला अपराध भएका छन्, तैपनि हामीले फराकिलो बुझाइ लिएका छौँ । लिन्छौँ फेरि पनि । एकदम अपराध गर्नेहरूलाई पनि स्वागत छ त म भन्दिनँ, तर स्वीकार्छौँ हामी । पार्टीमा आउन पाइन्छ । काम गर्न पाइन्छ । आत्मआलोचना गरेर सच्चिएर काम गर्नुपर्छ । हामी स्वीकार्छौँ । तर, फेरि उही सिलसिलाचाहिँ चल्दैन । हिजोकै झँै तमासा गर्ने, जगहँसाइ गर्ने अनि सञ्चारमाध्यमहरूलाई खेती दिने । बिजनेस दिने । त्यो खालको कुराहरू हुन सक्तैन ।’

ओलीले पार्टी अध्यक्षले आह्वान गरेको चियापानमा सहभागी नभएर नेपाल पक्षका नेता तथा कार्यकर्ताले राम्रो नगरेको बताए । ओलीले नेपाल पक्षले आयोजना गरेको भेलालाई आफूले हेरिरहेको भन्दै धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने नसोच्न चेतावनी दिए । उनले भने, ‘एकथरी अनुहारका साथीहरू चियापानमा देखिनुभएन । हिजो बेलुका मैले सुनेँ बैठक बसेर निर्णय गर्नुभयो अरे । पार्टीको चियापानमा नजाने । कसका चियापानमा पाए जानुहुन्छ ? पार्टी अध्यक्षको, प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको निम्ता पाए जानुहुन्छ ? हुन त सबैलाई थाहा छ, तर नभनौँ । थाहा त छ नि सबैलाई कसको निम्ता पाए जानुहुन्छ भनेर । कुनै कारणवश आउन भ्याउनुभएन होला भन्ने म ठान्छु । उहाँहरूले त्यस्तो निर्णय गरेको होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरू र कति तमासा गर्नुहुन्छ । एक नजरचाहिँ त्यता राखेको छु । पार्टीलाई धम्क्याएर, घुर्काएर ठेगान लगाउँछु भन्ने सोच्या छ भने त्यस्तो होइन । पार्टी विधि–विधान र तरिकाअनुसार चल्छ । नचाहिने कुराको अगाडि लत्रिने कुरा छैन । सत्यसँग नलड्ने निहुँ खोजुवाहरूसँग नझुक्ने । हाम्रो नीति त्यही हो ।’

सभामुख जिम्मेवार हुनुभएन
प्रधानमन्त्री ओलीले मुद्दा लडेर प्राप्त गरेको प्रतिनिधिसभा बैठक पनि सञ्चालन गर्न नदिएबाट आफूले प्रतिनिधिसभा विघटन गर्नुको औचित्य पुष्टि हुँदै गएको बताए । मुद्दा लडेर फिर्ता ल्याएको संसद् आफैँले चल्न नदिने, आफैँ बहिष्कार गर्ने, व्यवधान खडा गर्ने र आफैँ वेलमा गएर नारा लगाउने स्थिति देखिएको भन्दै ती कार्यले सरकारलाई पनि संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गर्न नदिएको टिप्पणी ओलीको छ । 

उनले भने, ‘अधिवेशन प्रारम्भ भएको पहिलो दिनको बैठकमा नै अध्यादेश प्रस्तुत गर्नपर्छ– संविधानअनुसार । त्यो सरकारलाई प्रस्तुत गर्न दिइएन । अथवा संविधान कार्यान्वयन गर्न दिइएन । संविधान कार्यान्वयन गर्न व्यवधान खडा गरियो । कार्यसूची बदलेर सभामुखजीले मन्त्रीजी एकछिन पख्नुहोस् भनेर रोकेर एकछिन स्थगित भनेर, फेरि अर्को दिनलाई स¥यो भनेर संविधानले पहिलो दिन नै पेस गर्नुपर्ने संवैधानिक दायित्व पनि सरकारले पूरा गर्न पाएन । त्यो जिम्मेवारीबाट सरकारलाई व्यवधान खडा गरेर वञ्चित गरियो ।’

ओलीले सभामुख अग्नि सापकोटाले पनि संविधान कार्यान्वयनप्रतिको जिम्मेवारी पूरा नगरेको आरोप लगाए । आफूले सधैँ संसद्लाई नेताहरूको स्वार्थ तथा दलीय र गुटगत खिचातानीको थलो नभई जनताको हितका लागि प्रयोग गरौँ भन्दै आए पनि संसद्लाई सो ढंगले चलाउन नदिएको ओलीको दाबी छ । 

ओलीले भने, ‘संविधानको कार्यान्वनयप्रति सभामुखको जुन प्रतिबद्धता हुनुपथ्र्यो, संविधान कार्यान्वयनप्रति उहाँको जुन कर्तव्य थियो, त्यसभन्दा पर भिन्न प्रकारका सहमति, भिन्न प्रकारका सेटिङबाट संविधानको कार्यान्वयन हुन नदिनु, अझ एसिड आक्रमणविरुद्ध, त्यो पर्खिरहन नहुने, कडा कानुन ल्याउनुपर्ने पीडितहरूको माग, सम्पूर्ण महिला समुदायको मागअनुसार कडा कानुन ल्याउनुपर्ने माग र संसदबाट कानुन ल्याएर प्रक्रियाबाट जाँदा ‘तुरुन्तै गर्नुपर्ने कुरालाई ध्यानमा राखेर अध्यादेश ल्याइएको थियो । त्यो पेस गर्न दिइएन भनेपछि संसद्लाई कति कामकाजी, कति प्रभावकारी बनाउन खोजिएको रहेछ भन्ने त्यसबाट स्पष्ट हुन्छ । संसद्लाई निष्प्रभावी बनाउने चेष्टा भइरहेको छ ।’

सुझावित समाचार