तरकारी खेतीबाट ५ लाखसम्म कमाउँछन् हुम्ली महिला

मंगलबार, ३ चैत, २०७७
डिजिटल संस्करण

हुम्लाका अधिकांश महिलाहरू तरकारी खेतीबाट मनग्य आम्दानी गर्ने थालेका छन् । आफ्नै जमिनमा उत्पादन भएको सबै तरकारी बिक्री हुन थालेपछि स्थानीय महिलाहरू खेतीतर्फ आकर्षित भएका हुन् । तरकारी खेतीबाट मनग्य आम्दानी गरी छोराछोरी पढाउँदै आएको सिमिकोट गाउँपालिका–४ की ढुन्जोग लामाले बताइन् ।

तरकारी खेतीको आम्दानीले नै छोरीलाई चितवन रामपुर कृषि क्याम्पसमा बिएससी पढाउन सकिएको लामाको भनाइ छ । ‘टमाटर र सागबाट वर्षमा ४ लाख आम्दानी हुन्छ, हामी पढेलेखेका छैनौँ, तरकारी खेतीबाट ४ जनालाई पढाउने खर्च भइरहेको छ,’ उनले भनिन्, ‘हामीले पढ्न पाएनौँ, छोराछोरीहरूलाई तरकारी बेचेर पढाइ खर्च जुटाइरहेका छौँ ।’ 

गाउँमै बेमौसमी तरकारी, खुर्सानी, टमाटर, काउली, प्याज उत्पादन गर्दै आएको सिमकोट गाउँपालिका–४ बुराउँसेकी च्यामा लामाले बताइन् । बुराउँसे गाउँमा व्यावसायिक रूपमा ४० जना महिलाहरू तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाटै ३ लाखभन्दा माथि आम्दानी गर्ने १० जना महिला रहेको लामाले जानकारी दिइन् । 

गुड नेभर्स इन्टरनेसनलमार्फत ग्रिन हाउसले त्रिपाल र सामग्री दिएपछि आफूहरूलाई राहत भएको स्थानीय कृषक तारासिंह लामाले बताए । अहिले अधिकांश महिलाहरू तरकारी खेतीबाटै आत्मनिर्भरको बाटो रोज्ने गरेको उनको भनाइ छ । गाउँमै प्रशस्त मात्रामा बेमौसमी तरकारी उत्पादन गरी महिलाहरू जीविकोपार्जनको बाटो रोज्न थालेका छन् ।

संस्थाबाट कृषकहरूलाई ग्रिन हाउसको सामानलगायत दिएपछि यहाँ महिलाहरू जीविकोपार्जनको बाटो रोज्न थालेको गुड नेभर्स इन्टरनेसनल हुम्लाका कार्यक्रम संयोजक वीरेन्द्र चौधरीले जानकारी दिए । महिलाहरू तरकारीबाटै वर्षमा ५ लाखसम्म आम्दानी गर्दैै घरपरिवारको खर्चदेखि छोराछोरी पढाइ खर्च तरकारीबाट धान्दै आएको उनले बताए । महिलाहरू सुरुका वर्षभन्दा हाल व्यवसायी रूपमा तरकारी खेतीतर्फ आकर्षण बढेको चौधरीको भनाइ छ ।

सुझावित समाचार