नेप्सेको ओरालो यात्रा कायमै

एकै दिन इन्फ्रास्ट्रक्चरको ८ लाख कित्ता किनबेच

मंगलबार, ३ चैत, २०७७
डिजिटल संस्करण

सेयर बजार घट्नेक्रमले सोमबार पनि निरन्तरता पाएको छ । बजार निरन्तर घट्न थालेपछि लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा रहँदा बजार बढ्न नसकेको विश्लेषकहरू बताउँछन् । अझै सुधार हुन अझै केही दिन लाग्ने उनीहरूको भनाइ छ ।   सोमबार नेप्से १८ दशमलव ०७ प्रतिशतले घटेर २ हजार ३ सय ८९ बिन्दुमा आइपुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबारमापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव १७ प्रतिशतले घटेर ४ सय ३० बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका १३ समूहमध्ये ३ समूह र १ उपसमूह बढेको छ । बाँकी रहेको ८ समूहको सूचांक घटेको छ । सोमबार सबैभन्दा धेरै बढ्ने समूहमा होटेल तथा पर्यटन क्षेत्र रहेका छन् । यो समूहको ३ दशमलव  ६९ प्रतिशतले बढेको छ भने अन्य २ समूह र १ उपसमूह बढेको छ ।

त्यस्तै, बैंकिङ, डेभलपमेन्ट बैंकको सूचक १ दशमलव १ प्रतिशतले घटेको छ । यस दिन पनि चन्द्रागिरि हिल्स बढेको छ । चन्द्रागिरिको ९ दशमलव ९५ प्रतिशतले बढेर सर्किट लागेको छ । चन्द्रागिरि अघिल्लो हप्तादेखि नै ९ प्रतिशतभन्दा बढीले बढिरहेको छ । त्यस्तै, घलेम्दी हाइड्रो लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर आँखुखोला जलविद्युत् ८ प्रतिशतभन्दा धेरैले बढेका छन् ।

सोमबार धितोपत्र र ऋणपत्र गरी २ सय १२ कम्पनीहरूको कारोबार हुँदा ९६ लाख कित्ता–इकाइ ४ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेको छ । बैंकको ८ लाख कित्ता सेयर किनबेच हुँदा ४३ करोड ६२ लाख रुपैयाँ कारोबार भएको छ । त्यस्तै, दोस्रो कारोबार हुनेमा अपर तामाकोसी हाइड्रोपावर रहेको छ, सो दिन यस कम्पनीको २९ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन महिला लघुवित्त वित्तीय संस्थाको १० लाख कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले पहिलो कारोबारका लागि ३ सय १३ देखि ९ सय ३९ रुपैयाँको मूल्य रेन्ज पाएको छ । पहिलो कारोबारका लागि नेटवर्थको ३ गुणासम्म मूल्य तोक्ने गरिन्छ । त्यस्तै, ग्रिन लाइफ हाइड्रोको पनि १ करोड ८० लाख कित्ता सेयर सूचीकरण भएको छ । ग्रिन लाइफका लागि भने ९९ रुपैयाँ ६७ पैसादेखि २ सय ९९ रुपैयाँ शून्य १ पैसाको मूल्य रेन्ज दिइएको छ । 

See More On

सुझावित समाचार