अझै पनि सबैले संक्रमणबाट जोगिन अपनाउनुपर्ने सबै सुरक्षा अपनाउनु नै राम्रो विकल्प हो
भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । बिहीबार मात्रै देशभरमा २३ हजार दुई सय ८५ नयाँ संक्रमित देखिएका छन्, जुन २३ डिसेम्बर २०२० पछि देखिएको सबैभन्दा धेरै संख्या हो । यसमा ६० प्रतिशतभन्दा धेरै महाराष्ट्रमा देखिएका छन् । यसैगरी केरलमा दुई हजार एक सय ३३ र पञ्जाबमा एक हजार तीन सय पाँच नयाँ संक्रमित फेला परेका छन् । अहिले प्रत्येक दिन कर्नाटक, गुजरात र तमिलनाडुमा नयाँ संक्रमण देखा परिरहेको छ । यसरी देशमा संक्रिय संक्रमणको संख्या १.९७ लाखभन्दा धेरै भइसकेको छ, जुन कुल संक्रमितको झन्डै १.७४ प्रतिशत हो । यसमा महाराष्ट्रलाई लिएर विशेष खालको चिन्ता व्यक्त गरिँदै छ । २१ फेब्रुअरीमा यहाँ कोभिड–१९का बिरामीको संख्या २१ लाख नाघिसकेको थियो, तर २२ लाख पुग्नका लागि जम्मा १३ दिन लाग्यो, जबकि यो २१ जनवरीमा २० लाखमा अडिएको थियो । संक्रमणको बढ्दो रफ्तारका कारण नै नागपुर र अकोला क्षेत्रमा फेरि लकडाउन लगाइएको छ ।
भाइरसले आफ्नो चरित्र फेरिरहेको छ, जुन उसको नैसर्गिक गुण हो । संक्रमण जति धेरै फैलिन्छ, भाइरसले पनि त्यति नै आफ्नो चरित्रलाई फेर्ने गर्छ । अहिले आएर प्रत्येक महिनामा भाइरसले कम्तीमा दुईचोटि आफ्नो चरित्र फेरिरहेको छ ।
उता पुणेमा रात्रिकालीन कफ्र्युको घोषणा गरिएको छ । मुम्बईमा पनि कोरोना पोजेटिभ रेट बढेर ७ देखि ७.७५ भयो । त्यति संक्रमणको दर १५ प्रतिशत पुगेको भए सरकारले पुनः लकडाउन लगाउने तयारी गरेको थियो । स्पष्ट कुरा के हो भने बल्लबल्ल नियन्त्रणमा आएको कोरोना फेरि फैलिने हो कि भन्ने डर देखिएको छ । यसका कैयौँ कारण हुन सक्छन् । पहिलो कारण के हुन सक्छ भने भाइरसले आफ्नो चरित्र फेरिरहेको छ, जुन त्यसको नैसर्गिक गुण हो । संक्रमण जति धेरै फैलिन्छ, भाइरसले पनि त्यति नै आफ्नो चरित्रलाई फेर्ने गर्छ । अहिले आएर प्रत्येक महिनामा भाइरसले कम्तीमा दुईचोटि आफ्नो चरित्र फेरिरहेको छ । त्यसैले यसको संक्रमणलाई हामीले पूर्ण रूपमा निषेध गर्न सकेका छैनौँ । यहाँ उल्लेखनीय कुरा के हो भने आफ्नो चरित्र फेरिरहने यस्ताखाले भाइरस सम्पूर्ण जनसंख्याका लागि त्यति नै घातक छ । त्यसैले संक्रमणको नयाँ–नयाँ चरण आउन सक्छ । पछिल्लो शताब्दीको स्पेनिस फ्लुमा हामीले के देखेका थियौँ भने संक्रमणको दोस्रो चरणमा धरै मानवीय क्षति भएको थियो । अर्को कारण के पनि हुन सक्छ भने हाम्रो शरीरमा प्रतिरोधी क्षमतामा ह्रास भइसकेको हुन सक्छ । ६–७ महिनामा हाम्रो शरीरको प्रतिरोधी क्षमतामा ह्रास आउनु स्वाभाविक पनि हो । हाम्रो जनसंख्याको ५५–६० प्रतिशतले यसका खिलाफ एन्टीबडीको निर्माण गरिसकेको छ ।
तथापि महाराष्ट्र, केरल र दिल्लीजस्ता राज्यमा सुरुमै भाइरसको प्रसार भइसकेको थियो । त्यसैले धेरै हदसम्म के सम्भावना छ भने यहाँ हर्ड इम्युनिटी खत्म भइसकेको हुन सक्छ । त्यसैले मानिसहरू फेरि संक्रमित हुन थालेका हुन् । कैयौँ यस्ता मामिला सतहमा देखिएका पनि छन्, जसमा एकचोटि कोरोनाबाट संक्रमित भएको मानिस फेरि यसको गिरफ्तमा आइसकेको होस् । यस्तोमा फेरि सिरो सर्वे गर्नुपर्ने हुन्छ । यसमा ब्लड सिरमको जाँच गरेर के पत्ता लगाउने गरिन्छ भने कोही मानिस भाइरससँगको लडाइँमा कुन हदसम्म लडिसकेको छ । अहिलेसम्म देशमा तीनचोटि देशव्यापी सर्वे भइसकेको छ । भलै हरेक सर्वेमा भाइरसका खिलाफ प्रतिरोधी क्षमता बढेको नै पाइयो । तर, जुन रफ्तारमा यो बढ्ने अनुमान गरिएको थियो, त्यस स्तरमा यो बढ्न सकेन । शरीरमा एन्टीबडीको अन्त्य भइरहेको भन्नु तेस्रो कारण हुन सक्छ । त्यसैले अब नयाँ ठाउँमा संक्रमणको प्रसार हुनेछ । महाराष्ट्र, अमरावती र नागपुरजस्ता क्षेत्रमा संक्रमणका धेरै मामिला सतहमा देखिएका छन्, जबकि धाराबीजस्ता क्षेत्र जुन संक्रमणको केन्द्र मानिन्थ्यो । राष्ट्रिय राजधानी दिल्लीमा पनि पहिलेको तुलनामा मध्यदिल्ली र बाहिरी सीमावर्ती क्षेत्रभन्दा धेरै संक्रमित पाइएको अनुमान छ । यसको अर्थ हो, पहिले जसलाई संक्रमण भएको छैन, उनीहरू धेरै खतरामा छन् ।
जबकि संक्रमणको नयाँ लहर नवजात शिशुको संख्या बढेकाले पनि आएको हुन सक्छ । तर, कोरोनाको संक्रमण केटाकेटीमा निकै कम प्रभावकारी देखिएको छ । मानवीय गतिविधि बढेका कारण पनि यो दर बढी देखिएको हुन सक्छ । बजारहरूमा चहलपहल बढेको छ । राम्रो कुरा के हो भने यसमा मृत्युदर अझै पनि कम नै छ । यसविरुद्धको खोप अभियान धेरै राम्रो विकल्प हो । त्यसैले सरकारले यसमा विशेष ध्यान दिइरहेको हो । तर, सबैले खोप लगाउन त्यति सम्भव भइरहेको छैन । त्यसैले अझै पनि सबैले संक्रमणबाट जोगिन अपनाउनुपर्ने सबै विकल्प अपनाउनु नै राम्रो विकल्प हो ।
(लेखक वरिष्ठ जनस्वास्थ्य विशेषज्ञ हुन्)
हिन्दुस्तानबाट