गाउँमा प्याराग्लाइडिङ देख्दा स्थानीय दंग

शुक्रबार, २८ फागुन, २०७७
डिजिटल संस्करण

गुल्मीको मालिका गाउँपालिका ८ मरभुङकी कमला अर्यालले गाउँमा प्याराग्लाइडिङ  हुने कल्पना पनि गरेकी थिइनन् । तर, साढे दुई हजार मिटरको उचाइबाट प्याराग्लाइडिङ  गरिन् । अर्याललाई उडेर आकाशबाट आफ्नो गाउँ देख्दा रमालो नलाग्ने कुरै भएन् । ‘सुरुमा मलाई पनि डर लाग्यो । जब उडियो मज्जाले गाउँ घुमियो,’ अर्यालले भनिन,‘अवसर र हिम्मत ठुलो कुरा रहेछ ।’ 

गाउँपालिका उपप्रमुख देवा अर्यालले पनि प्याराग्लाइडिङ गरिन् । उनले आफुलाई पनि मनोरञ्जन र अरुलाई पनि उत्साह दिन प्याराग्लाइडिङ गरेको बताइन् । मालिका गाउँपालिकाले पर्यटन विकासमा टेवा पुराउने उदेश्यले दुई बजार व्यावस्थापन समितिसंग सहकार्य गरेर मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना गरेको थियो । १५ दिनसम्म संचालन भएको महोत्सवमा ८६ उडान भएका थिए । दिउँसोमा हावाको चाप बढि हुने भएकाले बिहान ८ बजेबाट करिव १२ बजेसम्म ६ उडानको व्यावस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए । 

उनले बजार र व्यावसायीलाई उत्साह थप्न गाउँपालिकाले पनि केहि प्रतिशत लगानी गरेको बताए । ‘गाउँपालिका आफैले महोत्सव वा प्याराग्लाइडिङ संचालन गर्दैन,’उनले भने,‘समन्वय र सहकार्यका लागि कहिल्यै पछि पर्दैनौ ।’ अर्खाबाङ र सिमलटारी बजार व्यावस्थापन समितिको संयुक्त आयोजनामा मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको थियो । दैनिक ६ भन्दा बढि उडानको स्विकृती नभएकाले थुप्र्रैको प्याराग्लाइडिङ  गर्ने चाहाना पुरा गर्न नसकिएको अर्खाबाङ बजार व्यवस्थापन समिति अध्यक्ष बसन्त अर्यालले बताए ।

मालिका पोखराको बिकल्प 
यो ठाउँ उडानका दृष्टिकोणले अत्यन्तै राम्रो मानिएको छ । गत मंसिर अन्तिम साता स्काई लाइन प्याराग्लाइडिङ  पोखराको टोली मार्फत मालिका गाउँपालिका ४ को देउरालीबाट प्याराग्लाइडिङको सफल परिक्षण गरेको थियो । स्काई लाइन प्याराग्लाइडिङ  पोखराका संचालक तथा पाइलट भुवन गाहाले मालिका पोखराको विकल्प बन्न सक्ने बताए । 

पोखराको सराङकोट पनि १४ सय ५० मिटरको उचाईमा मात्रै भएकाले देउराली संराङकोटभन्दा राम्रो भएको गाहाले दावी गरे । उनले नेपालमा आफुले परिक्षण गरेका स्थानहरु मध्ये व्यावसायीक उडानका दृष्टिले महत्वपूर्ण मालिका भएको बताए । बाह्य पर्यटकले लामो दुरीमा प्याराग्लाइडिङ गर्न मन पराउने भएकाले गाउँपालिकाले व्यवसायीहरुसंग सल्लाह गरेर निरन्तरता दिन उनले जोड दिए । ‘अहिले लामो दुरीको लागि खर्च बढि पर्छ । तत्काल छोटो दुरीको प्याराग्लाइडिङ  गरौ,’गाहाले भने,‘पर्यटकको आकर्षण बढ्दै गएपछि लामो उडान गर्नुपर्छ ।’ उनले पछिल्लो पुस्ताले रुचाएको शाहसीक खेल भएकाले प्याराग्लाइडिङ को लागि पुर्वाधार निर्माणसहित होमस्टे संचालनमा जोड दिए ।

सहकार्यको प्रतिक्षामा स्थानीय सरकार

मालिका गाउँपालिका बिकटलाई निकट बनाउने दौडमा छ । जिल्लाको पश्चिम क्षेत्र भौगोलिक दृष्टिकोणले विकट छन् । तर, पर्यटनका प्रचुर संभावनाहरु पनि उत्तिकै छन् । त्यो मध्ये प्याराग्लाइडिङ  एक हो । मालिका गाउँपालिकाले पहिलो गाउँ सभामै प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने योजना अगाडी सारेको हो । तर, कार्यपालिका भित्रैका सदस्यहरुको अनेक सोचका कारण २ वर्षपछि मात्रै गत मंसिर १७ गते परीक्षण उडान गरिएको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । उनले गाउँपालिकाले व्यावसायको क्षेत्र पहिचान मात्रै गरेकाले प्याराग्लाइडिङ व्यवसाय संचालन गर्न आउनेहरु संस्था वा कम्पनीलाई आफुहरुले स्वागत र सहकार्य गर्ने बताए 

सुझावित समाचार