पुटिनको शासनमा रुस आर्थिक र प्राविधिक रूपमा मात्र होइन, जनसांख्यिक क्षेत्रमा पनि संकुचित भएको छ
सन् २००० मा भ्लादिमिर पुटिन सत्तामा आएदेखि उनले विभिन्न समयमा विरोध प्रदर्शनको सामना गरे । सन् २००५ मा वयोवृद्ध नागरिकहरू सरकारको पेन्सन सुधारविरुद्ध आन्दोलित भए । सन् २०११–१२ मा हजारौँ मस्कोवासीले सडकमा आएर चुनावी धाँधलीप्रति असन्तोष जनाए । संवैधानिक प्रावधानविपरीत केही वर्ष प्रधानमन्त्री रहेर पुटिन पुनः राष्ट्रपतिको पदमा उठेका थिए । तर, जति पनि प्रदर्शन भए, ती कसैले पनि पुटिनको राजनीतिलाई असर गर्न सकेन । अहिले फेरि रुसलाई आन्दोलनले छोपेको छ र केहीले अहिलेको प्रतिरोध विगतको भन्दा फरक रहेको बताइरहेका छन् ।
अघिल्लो वर्ष क्रेमलिनको हत्या प्रयासबाट बचेका एलेक्सी नभाल्नीले भर्खरै पुटिनलाई राजनीतिक रूपमा हानि गर्न सक्ने एक वृत्तचित्र सार्वजनिक गरेका छन् । वृत्तचित्रमा पुटिनले गलत तरिकाले कमाएको रकम भीमकाय दरबार निर्माणमा प्रयोग गरेको आरोप लगाइएको छ । पुटिनको आगामी राजनीतिक परीक्षण सेप्टेम्बरमा हुने डुमा निर्वाचनमा हुनेछ । पछिल्लो समय पुटिनसँग कुनै ठोस योजना छैन । पुटिनको पहिलो दुई कार्यकालमा (२०००–२००८) रुसको अर्थतन्त्र वार्षिक ७ प्रतिशतको दरमा बढ्यो । अहिले रुसको अर्थतन्त्रमा सुस्तता छाएको छ । यसले गर्दा सन् २०१३ मा २.३ ट्रिलियन डलर पुगेको रुसी अर्थतन्त्र घटेर १.५ अर्ब डलरमा झरेको छ । सन् २०१४–०१७ को चार वर्षको अवधिमा देशको जीवनस्तरमा १२.४ प्रतिशतको गिरावट आयो । सन् २०१८–१९ मा थामिएको यो दर सन् २०२० मा पुनः घटेको छ । रुसी अर्थशास्त्री भ्लादिमिर मिलोभ र सर्गेई गुरियभका अनुसार ६ वर्ष लामो बजेट संकुचनका कारण रुसी नागरिकको बचत घटिरहेको बताएका थिए ।
रुसी आर्थिक सुस्तताका तीन प्रमुख कारण छन् : पुटिनको अधिनायकवादी भ्रष्टतन्त्र, युक्रेनमाथिको रुसको आक्रमणपछि पश्चिमले लगाएको वित्तीय प्रतिबन्ध र न्यून मूल्यको तेल । पहिलो कारण सबैभन्दा महत्वपूर्ण छ । पहिलो दुई कार्यकालमा पुटिनलाई पूर्ववर्ती बोरिस एल्तसिनको पालामा सुरु भएको उदारवादी सुधारले फाइदा पुर्यायो । पहिलो कार्यकालमा शक्तिलाई आफूवरिपरि केन्द्रित गरेपछि पुटिनले अदालतमार्फत नाफामूलक निजी संस्थानहरू हत्याउन थाले । ती संस्थान एक–एक गर्दै सेन्ट पिटर्सवर्गका उनका नजिकका मित्रको हातमा गयो ।
पुटिनको शासनमा पछिल्लो समय रुसको अर्थतन्त्र र प्राविधिक दक्षतामा मात्र होइन, जनसंख्यामा पनि संकुचन आएको छ । कुनै पनि शासकको सबलता उसले शासन गर्ने देशको अर्थतन्त्र, प्रविधि र जनसंख्यामा भएका सुधारबाट झल्किन्छ ।
भन्न त रुसी अधिकारी पश्चिमी प्रतिबन्धलाई अप्रभावकारी बताउँछन्, तर पनि उनीहरू आफैँ प्रतिबन्धलाई लिएर गुनासो गर्ने गर्छन् । तर, प्रतिबन्धका असर देख्न सकिन्छ । सन् २०१३ को अन्त्यमा सेन्ट्रल बैंक अफ रसियाले देशको कुल वैदेशिक ऋण ७२९ अर्ब डलर मापन गरेको थियो, जुन सन् २०२० को अन्त्यसम्म घटेर ४७० अर्ब डलर पुगेको छ । यस अवधिमा अन्य उदाउँदो अर्थतन्त्रको ऋण भने बढेको छ । यसको अर्थ पश्चिमी प्रतिबन्धका कारणले रुसले २५९ अर्ब डलरको वैदेशिक ऋण गुमाउन बाध्य भयो । यो रकम लगानी र आर्थिक वृद्धिका लागि महत्वपूर्ण हुने थियो ।
पुटिनले रुसको कमजोर अर्थतन्त्रको दोष तेलको न्यून मूल्यलाई लगाएर उम्कने गरेका छन् । उनले अझै पनि रुसी अर्थतन्त्रको आर्थिक वृद्धिको स्रोतलाई विविधीकरण गर्न खासै उल्लेख्य काम गरेनन् । यसैले गर्दा रुसको मुद्रा, आयात र निर्यात सबै तेलको मूल्यमा आउने थपघटले प्रभावित हुन्छ । रुसको भ्रष्टतन्त्र र प्रतिबन्ध निम्त्याउने वैदेशिक नीतिले धेरै विदेशी लगानीकर्तालाई त्रसित बनाउने गर्छ । सन् २०१४ र सन् २०१९ को बीचमा रुसले पाएको फरेन डाइरेक्ट इन्भेस्टमेन्टको बहाव कुल गार्हस्थ्य उत्पादनको १.५ प्रतिशत थियो । त्यसअघिको पाँच वर्षमा यो दर दोब्बर थियो ।
अर्थतन्त्र कमजोर भइरहँदा पुटिनको ध्यान भने शक्तिमाथिको पकड बलियो बनाउनमै केन्द्रित देखिन्छ । शक्तिमाथि हावी हुनका लागि उनले आफ्ना नजिकका मानिसलाई थप समृद्ध बनाउन ध्यान लगाइरहेका छन् । देशभित्र आफ्नो छवि कमजोर हुनासाथ उनले भूराजनीतिक दबाब राखेर छवि सुधार्छन् । सन् २००८ अगस्टमा जर्जियाको युद्ध र सन् २०१४ मार्चमा क्रिमियाको कब्जामा उनले यही सफलता दोहोर्याए । यी दुई युद्धमा पुटिनको लोकप्रियता झन्डै ८८ प्रतिशतसम्म पुगेको स्वतन्त्र मतसर्वेक्षणले देखाएका छन् । तर, पछिल्लो समय पुटिनको लोकप्रियता घटेर ६४ प्रतिशतमा झरेको छ ।
रुसका एकतिहाइ जनसंख्या पुटिनलाई मन पराउँदैनन् भने अर्को एकतिहाइ उनका समर्थक छन् । बाँकी भने तटस्थ देखिन्छन् । पुटिनको डरका कारण तटस्थ बस्नेहरू उनीविरुद्ध नलागून् भन्ने नै छ । अधिकांश मानिस सचेत अवसरवादी हुन्छन् भन्ने मान्ने हो भने पुटिनले हारिरहेका छन् भन्ने पर्नासाथ यो समूह उनको विपक्षमा उभिन तयार हुनेछन् ।
पुटिनको शासनमा रुस आर्थिक र प्राविधिक रूपमा मात्र होइन, जनसांख्यिक क्षेत्रमा पनि संकुचित भएको छ । अघिल्लो वर्ष यसको जनसंख्या झन्डै सात लाखले घट्यो । यसमा ठूलो संख्याका योग्य युवाको विदेश पलायन पनि जिम्मेवार छ । यो पनि पुटिनको रुस सोचिएभन्दा कमजोर छ भन्ने संकेत हो ।
(अस्लन्ड एट्लान्टिक काउन्सिलका सिनियर फेलो हुन्)
प्रोेजेक्ट सिन्डिकेटबाट