ज्योति विकास बैंकले म्याग्दीको बेनी अस्पताल र बाग्लुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एक–एक थान बेबीवार्मर प्रदान गरेको छ । विकास बैंकले सामाजिक उत्तरदायित्वसम्बन्धी ‘हाम्रो विकास प्रवद्र्धन कोष’बाट बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्यलाई बेबीवार्मर हस्तान्तरण गरेको हो ।
बेनी अस्पतालमा आयोजित कार्यक्रममा विकास बैंकका बेनी शाखाका प्रबन्धक दीपेन्द्र शर्मा र आविष्कार केन्द्रका महिप केसीले संयुक्त रूपमा अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई बेबीवार्मर हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
त्यस्तै, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा विकास बैंकका ब्रान्डिङ तथा कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख कुशलजंग अधिकारी र आविष्कार केन्द्रका सुनील बानियाँले संयुक्त रूपमा अस्पताल सञ्चालक समिति सदस्य सीता कँडेल र डा. मिलन मल्ललाई बेबीवार्मर हस्तान्तरण गरेको जनाइएको छ ।
राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रूपमा बेबीवार्मर प्रदान गरिएको विकास बैंकले जनाएको छ । बेबीवार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाइराख्न सहयोग गर्छ ।
विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा यसअघि कपिलवस्तु सामुदायिक अस्पताल कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल नवलपुर, महाकाली अञ्चल अस्पताल कञ्चनपुर, प्युठान जिल्ला अस्पताल प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र महोत्तरी, आम्दा अस्पताल झापा, जिल्ला अस्पताल खोटाङ, सामरी स्वास्थ्यचौकी सामरीलाई १–१ वटा बेबीवार्मर प्रदान गरिसकेको जनाएको छ ।