ओली समूहमा आबद्ध नभएको भन्दै तीन कर्मचारी बर्खास्त

बिहिबार, २० फागुन, २०७७
डिजिटल संस्करण

केपी ओली समूहमा आबद्ध नभएको भन्दै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीको ठाडो निर्देशनमा तीनजना कर्मचारीलाई बर्खास्त गरिएको छ । 

केपी ओली समूहका केन्द्रीय सदस्य रहेका मेयर घर्तीले नगरपालिकामा कार्यरत एमआइएस अपरेटर पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई मंगलबार बर्खास्त गरेका हुन् । 

प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बुढाले उठाएको टिप्पणी  मेयर घर्तीले सदर गरेका छन् । कर्मचारी बर्खास्त गर्दा अधिकृतले सदर गर्नुपर्ने भए पनि मेयर आफैँले सदर गरेका छन् । तीनजना कर्मचारीलाई सोधिएको पत्रमा भनिएको छ, ‘तपाईंहरू प्रचण्ड र माधव समूहको प्रेस संगठन कर्णाली प्रदेश सदस्य रहेको कारण किन बखास्त नगर्ने ?’

तीनैजनाले आफूहरू कुनै पक्षमा नलागेको, तर विगतदेखि नै प्रेस संगठनमा रहेको जवाफ पठाएका थिए । आफूहरू प्रेस संगठनमा रहे पनि काममा बाधा  नपारेको पत्रमा उल्लेख गरेका छन् । 

पवन शर्मालाई केपी ओली गुटको जाजरकोटको संयोजक बनाएर बधाई दिएका मेयरले त्यसको एक हप्तापछि प्रचण्ड र माधव गुटनिकट पत्रकारको कर्णाली प्रदेश सदस्यमा तीनैजना कर्मचारीको नाम देखेपछि बर्खास्त गरेका हुन् । 


निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले बिहीबार एक विज्ञप्ति जारी गरी राजनीतिक आस्थाकै आधारमा कर्मचारी बर्खास्ती गर्नु राम्रो नभएको बताउँदै तुरुन्त यो कारबाही फिर्ता गर्न आग्रह गरिएको छ । 

सुझावित समाचार