नेपालका लागि चार हजार टन चिनियाँ युरिया मल खासा आइपुग्यो

बिहिबार, २० फागुन, २०७७
डिजिटल संस्करण

विगतमा छिमेकी मुलुक भारतको कोलकाता भएर आउने चिनियाँ युरिया मल योपटक तातोपानी नाका भएर नै नेपालमा भित्रिने भएको छ । चिनियाँ युरिया मल स्वशासित क्षेत्र तिब्बतको बाटो हुँदै नेपाल आउन लागेको यो पहिलोपटक हो । नेपालका लागि चीनको छिङहाई प्रोभिन्सबाट खरिद गरिएको रासायनिक युरिया मल तातोपानीपारि खासा भ्यान पार्किङमा आइपुगेको हो । सिल्क मार्केट कम्पनीले ल्याएको युरिया मल आइतबारसम्म नेपालतर्फ आयात हुने निश्चित भएको छ । 

भारतलगायत तेस्रो मुलुकबाट आयात भएको मलजस्तै चिनियाँ युरिया मलको अन्तर्राष्ट्रिय गुणस्तर र मूल्य एउटै भएको सिल्क मार्केट कम्पनीका अध्यक्ष रमेश शेर्पाले जानकारी दिए । ‘पानीजहाजबाट भारतको कोलकाता हुँदै आउने मल तथा अन्य लजिस्टिक सामग्री तिब्बत भएर सहज रूपमा नेपाल भित्र्याउने प्रक्रिया सुरु भएको छ,’ शेर्पाले भने, ‘मल मात्रै होइन, सबै चिनियाँ मालसामान तातोपानी र केरुङ भएर सहज रूपमा आयात गर्ने कार्यमा हामी लागिरहेका छौँ ।’

तत्कालका लागि चार हजार टन खरिद गरिएको उनले जानकारी दिए । ढुवानी, समय र यसको मागलाई विचार गरेर दोस्रो चरणमा ठूलो परिमाण आयात गर्ने कम्पनीको योजना छ । पहिलो चरणमा तातोपानी नाका भएर चार सय कन्टेनर मल काठमाडौं आयात हुँदै छ । 

 निकासीका लागि भन्सारको पहल
भूकम्पपछि खुलेको तातोपानी नाकाबाट आयात मात्रै भइरहेको छ । पटक–पटक खुल्दै र बन्द हुँदै आएको व्यापारिक केन्द्र खासामा नेपाली सामानको निकासी खुलेको छैन । सामान मात्रै होइन, कोरोना महामारीको बहानामा नाका खुलेयता नेपालीहरूलाई खासा क्षेत्र प्रवेशमा रोक लगाइएको छ । चिनियाँ पर्व स्प्रिङ फेस्टिभल सकिए तापनि पहिले जसरी आयात चलेको छैन ।

तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार आयात गर्ने सामान नै सकिएको छ । हाल दैनिक तीनवटा गाडीमा फलफूल र लसुन मात्रै आयात भइरहेको छ । ‘वर्ष दिनअघि व्यापारीले खरिद गरेको सामान आयात भइसकेको छ,’ खत्रीले भने,‘पछिल्लो समय थोरै परिमाणमा खरिद भएका सामग्री खासा आइपुगेको छैन ।’ व्यापारिक सामान आयात हुन २० दिन लाग्ने उनले बताए । 

ल्हासामा रहेका महावाणिज्यदूत नवराज ढकालसँग तातोपानी भन्सारले निरन्तर पहल गरिरहेको छ । तर, चिनियाँ पक्षले नेपाली सामान निकासीका लागि कुनै संकेत दिएको छैन । आउँदो वर्षसम्ममा निकासी खुलाउनेबारे महावाणिज्य दूतावासले चीन सरकारसँग कुराकानी गरिरहेको खत्रीले बताए । आयात–निर्यातका लागि चिनियाँ पक्षबाट कुनै पनि बेला ‘ग्रिन सिग्नल’ आउन सक्ने भएकाले भन्सारसम्बद्ध कर्मचारी, सवारीचालक, कन्टेनर ड्राइभर, लोड–अनलोड गर्ने मजदुरलाई कोरोनाविरुद्धको खोप लगाइसकेको उनले बताए । 

सुझावित समाचार