ब्राजिललाई अहिले धेरै संकटले एकैपटक घेरेको छ । स्वास्थ्य संकट, कमजोर अर्थतन्त्र र विषम राजनीतिक ध्रुवीकरणमा न्याय प्रणालीभित्रको भ्रष्टाचारको समाचार थपिएको छ । सात वर्षअघि ब्राजिलमा एउटा आशा पलाएको थियो । सर्गियो मोरो नामका युवा न्यायाधीशले लाभा जाटो वा ‘अपरेसन कार वास’ नामको भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेका थिए । मिडिया र न्याय प्रणालीको सहयोगमा मोरो र उनका वकिलले ब्राजिललाई रातारात सफा गर्नेछन् भन्ने विश्वास पलाएको थियो ।
छोटो समयमा असाधारण परिणाम हासिल पनि भयो : करोडौं डलर आरोपीले फिर्ता गर्ने भए, कैयौँ उच्चपदस्थ राजनीतिज्ञ तथा व्यापारीलाई जेल सजाय भयो । यही काण्डमा सन् २०१८ अप्रिलमा ब्राजिलका पूर्वराष्ट्रपति जुइस इनासिओ लुला दा सिल्भा पनि पक्राउ परे । तर, पछिल्ला दिन ब्राजिलमा एउटा प्रश्नमा बहस हुन थालेको छ– ‘अपरेसन कार वास’ले कानुनी प्रक्रियामार्फत देशलाई भ्रष्टाचारमुक्त बनाउन सक्छ भन्ने सन्देश दियो कि एउटा निश्चित राजनीतिक समूहलाई सहयोग पुर्यायो ?’
केही समयअघि ‘अपरेसन कार वास’सँग जोडिएका विभिन्न अँध्यारा पाटाहरू प्रमाणित भए । यसले अनुसन्धानका निष्कर्षप्रति धेरै देशवासीमा मोहभंग हुने अवस्था उत्पन्न भएको छ । विश्वको सबैभन्दा ठूलो भ्रष्टाचार अनुसन्धान भनिएको ‘अपरेसन कार वास’ अहिले ब्राजिलको न्यायिक इतिहासको सबैभन्दा ठूलो काण्ड बनेको छ । त्यसैले फेब्रुअरीमा अपरेसनको कुरिटिवास्थित मुख्यालयमा बसेको टास्कफोर्स खारेज हुँदा कसैले पनि दुःखमनाउ गरेनन् ।
भ्रष्टाचारलाई निर्मूल पारेर राजनीतिक क्षेत्रमा बृहत्तर पारदर्शिता ल्याउनेभन्दा पनि ‘अपरेसन कार वास’ले जेयर बोल्सोनारोको सत्तारोहण सहज बनाइदियो । बोल्सोनारोलाई टक्कर दिन सक्ने एक मात्र उम्मेदवार सिल्भालाई सिल्भियो मोरोको अनुसन्धानले चुनावका लागि अयोग्य घोषित गरिदिएपछि ब्राजिल आजको अराजकतामा फस्न पुग्यो ।
‘अपरेसन कार वास’का वकिलहरूले अनुसन्धानका क्रममा भने आफूहरूले १४५० भन्दा बढीलाई पक्रेको, १७९ मानिसविरुद्ध मुद्दा चलाएको र १७४ दोषीलाई जेल पठाउन सफल भएको बताएका छन् । तथापि, हाल बाहिरिएको म्यासेज संवाद हेर्दा मोरोको मुख्य ध्यान भ्रष्टाचारीलाई कारबाही गर्नेभन्दा पूर्वराष्ट्रपति लुलालाई कारबाही गराउने पो थियो कि भन्ने देखिन्छ ।
उनले अनुसन्धान पक्षका वकिललाई लुलाविरुद्ध कस्ता मुद्दा ल्याउन सकिन्छ भन्ने विषयमा नियमित सुझाब दिएको म्यासेज सार्वजनिक भएको छ । जबकि, न्यायाधीशको रूपमा तटस्थ बस्नुपर्ने मोरोले त्यसरी एक पक्षलाई दोषी ठहराउन वकिललाई सहयोग गर्न पाउँदैनथे ।
कमजोर आरोपमै मोरोले सिल्भालाई जेल पठाएका त सबैले समाचारमा देखेकै हुन्, तर लुलाविरुद्ध मुद्दा लगाउन पनि मोरोले नै सघाएको कुरा भने भर्खरै सार्वजनिक जानकारीमा आएको छ । मोरोले अनुसन्धानमा ब्राजिलको न्याय प्रणालीको न्यायिक सिद्धान्त उल्लंघन गरेका छन् ।
सिल्भाका वकिलले विगतमा आफ्ना मोबाइलमार्फत जासुसी निगरानी भइरहेको आरोप लगाउँदा त्यसो नभएको विश्वस्त गरिएको थियो । तर, अहिले सार्वजनिक भएको च्याटमा लुलाको वकिल मात्र होइन, लुला स्वयंको फोनमा बग पठाएर सुन्न सकिने बनाइएको उजागर भएको छ । अपरेसन कार वास अनुसन्धान पक्षधर वकिलले लुला र उनका वकिलको फोनको जासुसीमार्फत प्राप्त जानकारीबाट आफ्ना रणनीति बनाउने रहेछ ।
मोरो भ्रष्टाचारमा गुमेको रकम सरकारी ढुकुटीमा फर्काएको गर्व गर्ने गर्छन् । तर, अमेरिकी सरकारको डिपार्टपेन्ट अफ जस्टिसले पेट्रोब्रास र ओडेब्रख्तमाथि लागू गरेको प्रतिबन्धका कारण रकम अपरेसन कार वासका वकिलको निजी कानुनी फाउन्डेसनमा जाने देखिन्छ । यिनै कुरालाई देखाएर ब्राजिलको सर्वोच्च अदालतले सन् २०१९ मा फाउन्डेनलाई खारेज गरिदिएको थियो ।
अनुसन्धानका अन्य धेरै पक्षमाथि अझै प्रकाश परेको छैन । तर, हालसम्म प्राप्त जानकारीबाट मोरोले कानुनको शासनको धज्जी उडाएको देखिन्छ । मोरो यी कामका लागि पछि बोल्सोनारोबाट कानुनमन्त्री बनेर पुरस्कृत भए । भ्रष्टाचारविरुद्ध लड्नका लागि कुनै प्रभावकारी मार्ग छैन भन्ने होइन । ब्राजिलकै अनुभवबाट पनि महत्वपूर्ण पाठ हासिल हुन्छ । विगतमा सिल्भाको शासन अवधिमा ब्राजिलको न्याय प्रणालीमा उल्लेख्य स्रोत तथा बजेट बढाइएको थियो ।
सम्पत्ति शुद्धीकरणविरुद्ध लड्न विशेष कानुनहरू बनाइएका थिए । ठूला अपराधीलाई पक्रन अन्तरएजेन्सी सहकार्य बढाइएको थियो । तिनै सुधारका कारण मोरो र उनका अनुसन्धान टिमका सदस्यले स्वतन्त्र रूपमा काम गर्न सकेनन् । तर, स्वतन्त्रतालाई दुरुपयोग गर्दै मोरोले एक अल्पकालीन टास्कफोर्सलाई निश्चित राजनीतिक उद्देश्य प्राप्तिका लागि प्रयोग गरिदिए ।
‘अपरेसन कार वास’बाट अन्य पाठ पनि सिक्न सकिन्छ । ठूलो संख्याको पक्राउ र सजायले मात्र भ्रष्टाचार घटाउन सघाउँदो रहेनछ । ब्राजिलमा सयौँको पक्राउपछि पनि भ्रष्टाचारमा कमी आएको छैन । बरु अनुसन्धानपछि ब्राजिलको लोकतन्त्र नै धरापमा परेको छ ।
यसलाई बदल्न हामीले दण्ड–सजायमा मात्र केन्द्रित नभएर फराकिलो रूपमा अघि बढ्न सक्नुपर्छ । त्यसका लागि समस्याको मूल जरा अर्थात् राजनीतिक अभियानमा खर्च हुने अवैध लगानीलाई सम्बोधन गर्ने परिवर्तन स्थापित गर्नुपर्छ । अपरेसन कार वासजस्तो प्रकरणबाट बच्ने हो भने न्याय प्रणालीले थप जवाफदेही औजार ल्याउन आवश्यक छ । अपरेसन कार वासको अन्त्य भइसकेको छ र अझै यसका सम्पूर्ण कथा बाहिरिसकेका छैनन् । ब्राजिलले साँच्चै भ्रष्टाचारमाथि युद्ध सुरु गर्ने हो भने पहिले यो अनुसन्धान अभियानमाथि आलोचनात्मक विश्लेषण हुनुपर्छ ।
गेस्पार्ड एस्ट्राडा ‘पोलिटिकल अब्जरभेटरी अफ ल्याटिन अमेरिका’का कार्यकारी निर्देशक हुन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य