विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट केटू’का आरोही नेपाली टोलीलाई नेपाल उद्योग परिसंघ (सिएनआई)ले सम्मान तथा स्वागत गरेको छ । औपचारिक स्वागत तथा सम्मान समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोरसहितको टोलीले केटू आरोही निर्मल पुर्जा र आरोहण दललाई सम्मान तथा स्वागत गरेको हो ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मोरले आरोहीको सम्मानमा आयोजित कार्यक्रममा स्वागत एवं बधाई व्यक्त गरेको जनाइएको छ । उनले नेपाल उद्योग परिसंघ, सम्पूर्ण निजी क्षेत्रका साथै आफ्नो तर्फबाट समेत सबैमा हार्दिक स्वागत अभिवादन व्यक्त गरेको सिएनआईले जनाएको छ ।
टोलीले विश्वको दोस्रो अग्लो चुचुरो ‘केटू’को २०२१ जनवरी १६ का दिन हिउँदेयामको समयमा पहिलो सफल आरोहण गरेको थियो । कीर्तिमानी एवं साहसिक आरोहणबाट नेपाल र नेपालीको शिर उच्च बनाउँदै हिमालय आरोहणमा विश्व रेकर्ड कायम गर्न सफल भएको भन्दै मोरले बधाई दिएको जनाइएको छ ।
अध्यक्ष मोरले हिमशिखर आरोहणमा नेपालका शेर्पा र युद्ध कौशलतामा ‘गोर्खाज’ विश्वमा प्रसिद्ध नाम भएको बताउँदै त्यसमा पनि साहसिक पदयात्रा र हिमालय आरोहणको क्षेत्रमा नेपालको शेर्पा समूह अग्रणी मात्र होइन, अनुकरणीय कौशलताको एक पर्यायवाची नै भएको मोरको भनाइ थियो ।
नेपाली टोलीले गरेको केटूको सफल आरोहणबाट नेपालको प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व विशेषका क्षेत्रहरूलाई विश्वमा परिचित गराउन र कीर्ति फैलाउन ठूलो बल मिलेको अध्यक्ष मोरको धारणा थियो । परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले आत्मविश्वास, लगाव र कठोर मिहिनेतले प्राप्त गरेको सफलताले नेपालको नाम विश्वभर परिचित गराउनुका साथै नेपालको नाम उँचो भएको बताएका थिए ।