इन्धन मूल्य वृद्धिको विरोध

बिहिबार, ६ फागुन, २०७७
डिजिटल संस्करण

नेपाल आयल निगमले मंगलबार रातिबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेपछि सर्वत्र विरोध हुन थालेको छ ।

बुधबार दिउँसो जनता सामाजवादी पार्टीले माइतीघर मण्डलामा थाल ठटाएर, ग्यास सिलिन्डर प्रदर्शन गरेर मूल्य वृद्धिको विरोध गरेको छ । त्यस्तै, विद्यार्थी संगठन अनेरास्ववियूले बिहीबार बिहान ८ः३० बजे देशभरका कलेजअगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । इन्धन मूल्य वृद्धिको विरोधमा विगतदेखि नै विद्यार्थी संगठनले सशक्त विरोध गर्दै आएका छन् ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार दिउँसो बबरमहलस्थित आयल निगमको केन्द्रीय कार्यालयअगाडि धर्ना दिने तथा निगमका अधिकारीलाई मूल्य वृद्धि फिर्ताका लागि ज्ञापनपत्र बुझाउने जनाएका छन् ।

आयल निगमले मंगलबार रातिबाट लागू हुने इन्धनको मूल्य वृद्धि गरी काठमाडौं उपत्यकामा पेट्रोल १ सय १४, डिजेल तथा मट्टितेल समान ९७ रुपैयाँ र आन्तरिक विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य ६७ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । निगमले एक सातामा दुईपटक मूल्य वृद्धि गरेको भन्दै उपभोक्ता अधिकारकर्मीले समेत विरोध गर्दै आएका छन् ।

See More On

सुझावित समाचार