फेब्रुअरीमा म्यानमारको सेनाले सत्ता हत्याएयता युवाहरूले प्रतिरोधको नेतृत्व गरिरहेका छन्, जुन निकै उत्साहप्रद कुरा हो । तर, देशको राजनीतिक नेतृत्वको निरन्तरको असफलतामा उत्तिकै दुःख लाग्छ । ३३ वर्षअघि म्यानमारमा ८–८–८८ आन्दोलन भएको थियो । सन् १९८८ को सो राष्ट्रव्यापी आन्दोलनले सैन्य तानाशाहको अन्त्य र प्रजातान्त्रिक शासनको पुनस्र्थापनाको माग गर्दा म १४ वर्षको विद्यार्थी थिएँ ।
राजनीतिक गतिविधिको मेरो पहिलो अनुभव त्यही आन्दोनलमा भएको थियो । आज पुनः म सडकमा आइपुगेको छु र यसपटक उही पुरानो उद्देश्य प्राप्तिको माग गर्दै युवापुस्तासँग हातेमालो गर्नुपरेको छ । आङ सान सुकी र उनको नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले आफ्नो दोस्रो कार्यकाल सुरु गर्न लागेकै दिन सेनाले कु गरेको थियो ।
नोभेम्बरमा एनएलडीले अत्यधिक मत ल्याएर चुनाव जितेपछि पहिलोपटक संसद्को बैठक बस्दै थियो । तर, सत्ता कब्जामा लिएर सेना प्रमुख सिनियर जनरल मिन आङ ह्लाइनले एक वर्षका लागि संकटकालीन स्थिति घोषणा गरे । सैन्य कुलाई न्यायोचित ठहर्याउन ह्लाइनले चुनावमा व्यापक धाँधली भएकाले आफू सत्ता हातमा लिन बाध्य भएको बताए । छिटै चुनाव गराउने उनले प्रतिबद्धता पनि जनाएका छन् ।
तर, कुयता जनतामा दिनप्रतिदिन आक्रोश बढिरहेको छ । नयाँ गठित सैनिक सरकारले रातिको समयमा कफ्र्यु लागू गर्छ र याङ्गुनलगायतका स्थानमा पाँचजनाभन्दा बढी मानिसलाई भेला हुन निषेध गरिएको छ । तर पनि मानिस सैन्य नेतृत्वको विरोधमा सडकमा उर्लिरहेका छन् । अघिल्लो साता राजधानी नेपिडेमा भएको प्रदर्शनमा टाउकोमा गोली लागेकी एक युवती ‘ब्रेन डेड’ अवस्थामा छिन् । शुक्रबार झन्डै चार सय मानिस पक्राउ परे ।
आइतबार साँझ देशका विभिन्न सहरमा सेनाको बख्तरबन्द गाडी निस्किएका थिए । हालै याङ्गुनमा निस्किएका हजारौँ प्रदर्शनकारीहरू सहभागी र्यालीमा कैयौँले तीन औँलाको सलामी दिएर तानाशाहको विरोध जनाए । विरोधको यो शैली हलिउड फिल्म ‘द हंगर गेम’बाट प्रभावित भएको हो । प्रदर्शनकारीले ‘हाम्रो मतको सम्मान गर’, ‘सैन्य तानाशाह मुर्दावाद’, ‘हामी प्रजातन्त्र चाहन्छौँ’ लेखिएका ब्यानर बोकेका थिए । सैन्य नियन्त्रणको विरोधमा निजामती कर्मचारी (विशेषतः जनस्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी) भद्र अवज्ञा अभियान चलाएर काममा फर्किन मानिरहेका छैनन् । यस अभियानमा प्रहरीले पनि साथ दिएको देखिन थालेको छ ।
‘जनदबाबले मात्र वास्तविक राजनीतिक संक्रमण ल्याउने छैन’, हामीले सिकेको यो ज्ञान अहिलेको पुस्ताले चाँडै सिके राम्रो हुन्थ्यो । ठोस लक्ष्य प्राप्ति गर्ने रणनीतिविना ढिलो–चाँडो म्यानमार कुनै प्रकारको सैन्य शासनमा फर्किनेछ । एनएलडीका केही नेताले जनअसन्तोषलाई आफ्नो फाइदाका लागि प्रयोग गर्न खोजेको देखिन्छ । उनीहरू प्रदर्शनकारीलाई एनएलडीको झन्डा लिएर सडकमा आउन आह्वान गरिरहेका छन् । तर, प्रदर्शन भने अझै पनि अर्गानिक र नेतृत्वविहीन नै छ ।
म्यानमारको प्रजातन्त्र मरिसकेको छैन, तर प्रजातन्त्र पक्षधरहरूले सेनाको ‘फुटाऊ र राज गर रणनीति’विरुद्ध ठोस योजना ल्याउन ढिला गरे परिणाम गम्भीर हुन सक्छ
प्रदर्शनमा मैले कुराकानी गरेका धेरै युवाले सैनिक नियन्त्रणले देशलाई ‘अँध्यारो युग’मा फिर्ता गर्ने डर व्यक्त गरे । उनीहरू आङ सान सुकीको पक्षमा भन्दा पनि सेनको विरोधमा सकडमा उत्रिएको देखिन्छ । प्रदर्शनमा अल्पसंख्यक जातिका युवाहरू पनि आक्कलझुक्कल देखिन्छन् । अघिल्लो सोमबारको एक प्रदर्शनमा आफ्नो जातिगत पोसाक लगाएका यस्ता युवाहरू देखिए ।
उनीहरू ‘संघीयता हाम्रो लक्ष्य हो’, ‘जातीय समानता हासिल हुनैपर्छ’, ‘हामी गृहयुद्ध चाहँदैनौँ’ जस्ता नारा लगाइरहेका थिए । मेरो छेउमा रहेकी बामर समुदायकी एक युवती ती नाराबाट अन्योलमा देखिन्थिन् । उनले मतर्फ हेर्दै प्रश्न गरिन्, ‘उनीहरू विद्रोही होइनन् र ?’ लामो समयको नियन्त्रणकारी शासनका कारण देशको विविधताबारे सहरी युवा अन्जान छन् । अर्कोतर्फ आवश्यक परे प्रदर्शनकारीमाथि हल्का बल प्रयोग गर्ने सरकारको योजना छ । तर, बढ्दो असन्तोषमाझ सामान्य बल प्रयोगले पनि ठूलो प्रतिरोध निम्त्याउने र त्यसले रक्तपात निम्त्याउने डर देखिन्छ । यसले सेनालाई असर गर्ने भएकाले ऊ पनि यस्तो परिणाम चाहँदैन ।
सेनाले अहिले आफ्नो कदमको समर्थन गर्नेहरूबीचको गठबन्धन बनाउनेभन्दा पनि एनएलडीका कमजोरीमाथि आक्रमण गरिरहेको छ । यो कार्य सन् १९८८ कै पुनरावृत्ति हो । पछिल्लो समय प्रजातान्त्रिक समूह विभाजित छ । एनएलडीले सत्तामा रहँदा अपनाएको बहुसंख्यकवादी अहंकारका कारण धेरै समूह ऊबाट टाढिएका थिए । आङ सान सुकीबाट किनारा पारिएको महसुस गर्नेमा धेरै जातीय रजनीतिक दल, जातीय सैन्य समूहलगायत बामर समूह पनि छन् । सेनाले यही विभाजनलाई आफ्नो स्वार्थमा प्रयोग गर्न सुरु गरिसकेको छ ।
(जिन याङ्गुनस्थित ‘इन्स्टिच्युट फर स्ट्रेटेजी एन्ड पोलिसी’का कार्यकारी निर्देशक हुन्) न्युयोर्क टाइम्सबाट