सरकार, हामी कहाँ सुरक्षित छौँ ?

दुर्व्यवहार भन्ने कुरा सधैँ अरूले देखेकै हुन्छ भन्ने हुँदैन, यो अरूले देख्नेभन्दा बढी भोग्नेले महसुस गर्ने कुरा हो

सोमबार, ३ फागुन, २०७७
डिजिटल संस्करण

विद्यालय बालबालिकाको दोस्रो घर हो । त्यही घरमा असुरक्षित बालबालिका कहाँ सुरक्षित होलान् ? गत २१ गते नयाँ पत्रिकामा छापिएको समाचार मेरो म्यासेन्जरमा आइपुग्यो । ‘शिक्षकबाटै छात्रामाथि यौन दुर्व्यवहार, दुई घन्टा कोठाभित्र थुनेर हल्ला नगर्न निर्देशन’ शीर्षक दिइएको उक्त समाचारमा स्कुलको नाम लेखिएको गेटको फोटो थियो । झापाको कमल गाउँपालिका–३ स्थित श्री सहिद धर्मभक्त माध्यमिक विद्यालय ।

आफ्नै ठाउँको स्कुल देखेपछि हत्पत् भित्र छिरेर हेरेँ । आफूलाई कुनै समय दुर्व्यवहार गर्ने शिक्षक सोही स्कुलमा सरुवा भएको निकै वर्ष भएको थियो । उनले स्कुल छोडिसकेका होलान् भन्ने लागे पनि कताकता मनमा तिनकै नाम आए हुनेजस्तो लागिरहेको थियो । आँखामा झलझली उनको कलुषित अनुहार र उनले म र मजस्ता छात्रामाथि कक्षाकोठामा गरेका निच प्रयास दिमागमा आइरहेका थिए । नभन्दै अर्को हरफमा तिनै शिक्षकको नाम अर्काे शिक्षकका साथ अग्रपंक्तिमा देखेँ– शालिकराम पोख्रेल र शिव भट्टराई । अर्का आरोपी शिक्षकको बारेमा थाहा नभए पनि शालिकराम सरको यौन दुर्व्यवहारका बारेमा म स्पष्ट थिएँ ।

द अल्केमिस्ट किताबमा पाउलो कोहेलोले भनेको सम्झना भयो, ‘जब तिमी पूरै तन्मयका साथ कुनै कुरा प्राप्त गर्न चाहन्छौ, तब तिम्रो कामना पूरा गर्न पूरै ब्रह्माण्ड लागिपर्नेछ ।’ मेरो भित्री कामना शालिकराम पोखरेलले उहिलेदेखि गर्दै आएको घिनौना हर्कतको सजाय पाऊन् भन्ने थियो । म भित्रभित्रै खुसीले काँप्न थालेँ । उतिवेलाको आफ्नो समय सम्झेर झोँक चल्यो, उसका विरुद्ध बोल्न नसकेकोमा । अहिलेका बहिनीहरूको हिम्मत देखेर डाह लाग्यो । लोभ लाग्यो यो पुस्तासँग, कास ! म यतिवेला जन्मेकी हुन्थेँ भने । तर...... ?

हतार–हतार समाचार पढ्न थालेँ । आफूलाई यौन दुव्र्यवहार गर्ने शिक्षकविरुद्ध छात्राहरूले आवाज उठाउनुबाहेक अरू सबै चरम निराशा जगाउने कुरा मात्रै थिए, समाचारभरि । विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, गाउँपालिका, गाउँपालिकाको शिक्षा सञ्जाल सबैले विद्यार्थी तथा अभिभावकलाई तर्साएर, धम्क्याएर घटनालाई दबाउन खोजेको पढिरहँदा क्षणभरमा पलाएको हर्षको भ्रूणमै हत्या भयो । महिला राष्ट्रपति भएको देश र महिला अध्यक्ष भएको गाउँपालिकामा छात्राहरू विद्यालयभित्रै असुरक्षित छन् भने योभन्दा लज्जास्पद विषय अरू के हुन सक्ला ?

गाउँपालिका प्रशासन यति गम्भीर विषयमा मुखमा पानी हालेर बसेको देख्दा लाज आफैँ घुँडा टेकिरहेको छ । हामीले जनप्रतिनिधिलाई होइन, पार्टीका कारिन्दा र पितृसत्ताका मतियारलाई आफ्नो शासक बनाएर पठाएका रहेछौँ भन्ने महसुस भइरहेको छ । समाचार पढिसक्नासाथ वर्षौंदेखि नबोलेका साथीहरूलाई खोजीखोजी म्यासेन्जरमा लिंक पठाएँ । एकछिन इनबक्स नै भरिने गरी सँगै पढेका केटी साथीहरूको म्यासेज आयो, पाप धुरीबाट कराउँछ भन्थे हो रहेछ, त्यो त बोको नै हो नि, अझैसम्म छोडेको रहेनछ है त्यस्तो व्यहोरा !

माघ २१ गते छापिएको समाचारको चर्चा श्री कमला मदनआश्रित उमावि पढ्ने चिनेजानेका सबै साथीसँग भयो । अग्रजहरूलाई यो समाचार पत्याउन मुस्किल भइरहेको थियो । उहाँहरूले म्यासेन्जरमा सोधिरहनुभएको थियो, के यो साँचो हो ? यस्तो हुन सक्ला र ?

दुर्व्यवहार भन्ने कुरा सधैँ अरूले देखेकै हुन्छ भन्ने हुँदैन । यो अरूले देख्नेभन्दा बढी भोग्नेले महसुस गर्ने कुरा हो । त्यसमाथि यौनजन्य दुर्व्यवहार ! कसैले खराब नियतले हेर्यो भने पनि दुर्व्यवहार पीडितले महसुस गरिरहेको हुन सक्छ । थाहा पाएकाहरूले पनि बुझ पचाएको अवस्था छ । हामीलाई स्कुलमा सरले गल्ती नगर्दा पनि सजाय दिएको कुरा घरमा सुनाउँदा बाबुआमाले उल्टै हप्काउँथे । सुन्नुपर्दथ्यो, पढेको भए कहाँ कुट्थे सरले ? नपढ्नेलाई ठिक्क पारेछन् । यो एक–दुई विद्यार्थीका बाबुआमाले भन्ने वाक्य थिएन, सबैतिर चलनको रूपमा व्याप्त थियो ।

यस्तो वेला सरले जथाभावी जिउमा छोएको कुरा सुनाउने मनोबल हामीसँग थिएन । छोरा मान्छेलाई त झन् यस्तो कुरा भन्नै हुँदैन भन्ने लाग्थ्यो । न अहिलेजस्तो इन्टरनेटको जमाना थियो– चाहेको सूचना तुरुन्तै हात लाग्ने, न बालअधिकार, यौनशिक्षाबारे आधारभूत जानकारी नै थियो । सरले गरेको दुर्व्यवहार दुर्व्यवहार हो भनेरै पनि थाहा थिएन । नराम्रो लाग्थ्यो, त्यसैले हामी आफ्नै तरिकाले प्रतिकार गर्ने झिनो प्रयास गथ्र्यौं । केटाको होमवर्क परैबाट जाँच्ने ती सर हामीलाई भने ढाड सुमसुम्याउँदै आउँदा जिउ कक्रक्क पारेर बस्नुबाहेक अरू विकल्प हुँदैनथ्यो । खुकुरीको चोट अचानोलाई के थाहा भनेजस्तो केटाहरूले हाम्रो समस्या बुझ्दैनथे ।

हिम्मतिला बहिनीहरूले उनीहरूको शरीरमाथि लामो हात गर्न खोज्ने ती पिपासु सरको घिनौना हर्कत बाहिर ल्याएको त्यो समाचारसहितको स्टाटस फेसबुकको भित्तोमा सेयर गरेँ । कतिले अझै विश्वास गर्न गाह्रो भएको बताए । एउटै कक्षाभित्र बसेका छात्र र छात्राले भिन्नाभिन्नै मनस्थितिमा शिक्षा लिनुपर्ने अवस्था आजसम्म छ, समान अवसर र पहुँचको नारा सुनाइमा मात्र सीमित छ । अन्यायका विरुद्ध बीसौँ पुस्ताले निकालेको आवाज दबाएर यो राज्य, स्थानीय निकाय, विद्यालय प्रशासन, व्यवस्थापन समितिले के सन्देश दिन खोजेको ? ती कलिला बालबालिकाको मस्तिष्कमा यसले कस्तो छाप छोड्ला ?

आमछात्राहरूमाझ लामो समयदेखि ‘ओपन सेक्रेट’ बनेर बसेको यो विषय आज बजारमा आइपुगेको छ । आफ्नो शरीरमा दुर्नियतपूर्वक सल्बलाउने शिक्षकको हात हटाउन १८ वर्षपछिका बहिनीहरूले गरेको आँटप्रति म नतमस्तक छु । गलत छुवाइ र राम्रो छुवाइ हामी राम्रोसँग छुट्याउन सक्छौँ ।

युवा मन नेपाल नामको युट्युब च्यानलले लिएको पीडित बहिनीहरूको अन्तर्वार्ता हेरेपछि ढुक्क लागेको थियो, यसरी बोल्न सके पो न्याय पाइन्छ त ! शिक्षकको दुर्व्यवहार कक्षाकोठामै सहँदै बिताएको किशोरावस्था झल्झली सम्झिएँ । मैले सुनाइरहेको कुरा ०५९ सालको हो । जतिवेला म हालको कमल गाउँपालिका–२ (झापा) स्थित श्री कमला मदनआश्रित उमाविमा सात कक्षामा पढ्थेँ ।

शालिकराम पोखरेल हाम्रो स्कुलमा भर्खरै सरुवा भएर आएका थिए । उनले सात कक्षामा पढाएको विषय सम्झनामा धमिलिएको छ । तर, सानोतिनो गल्तीमा पनि ढाडमा कस्सेर हान्ने र त्योभन्दा बढी ढाड मुसारिरहने, समिजको फित्ता तानेर छोडिदिने, कोखातिर चिमोट्ने गरेको याद दिमागमा अझै ताजै छ । 

म पढाइमा औसत विद्यार्थी थिएँ । कक्षाको दोस्रो बेन्च म र मेरा साथीको रिजर्भ थियो । दोस्रो बेन्चको छेउमा बस्दा कालोपाटीका सेता अक्षर देख्न सहज हुने मात्रै हो, सरको सोझै आँखामा परिने भएकाले खासखुस गफ गर्न पनि नपाइने हुँदा मेरा लागि यो सधैँ अप्रिय स्थान हुने भइगयो । तर, घोक्नु भनेका पाठ कण्ठ गर्न माहिर भएकाले कहिलेकाहीँ सरको आँखामा नपरेर पढेको नासै होला भन्ने भावनाले स्वेच्छाले छेउमा बस्नेबाहेक म सधैँ कुनामै बस्न रुचाउँथेँ ।

प्रायः सधैँ सबैको बस्ने स्थान बेन्चमा निश्चित हुन्थ्यो । तर, सात कक्षामा पुगेपछि शालिकराम सरको पिरियडमा भने छेउमा बस्न कोही नमान्ने भएपछि हानाथाप सुरु भयो । सरले कुट्ने बहानामा हाम्रो जिउमा जथाभावी छुने भएकाले छेउका दुईवटा सिट सधैँ बार्गेनिङको रूपमा रहे । साथीलाई जित्न सक्दा भित्ता वा बीचतिर बस्न पाइन्थ्यो । नसके सधैँ छेउमा । सकेसम्म छेउमा बस्न नचाहने भएकाले हामी हत्पत् सरको पिरियड सुरु हुनुअघि बाहिर निस्किँदैनथ्यौँ, किनकि आफू बेन्चबाट उठिसक्दा छेउकी साथीले आफ्नो किताब छेउमा सारेर आफ्नो ठाउँ हडपिसक्थी । बिस्तारै पालैपालो छेउमा बस्ने अघोषित नियमै बन्यो, हाम्रो । 

छेउमा बस्ने बढी पीडित हुने भए पनि तन्केर कुट्न भेट्नेसम्मका प्रायः सबैले दुव्र्यवहार भोग्नुपथ्र्यो । आफू छेउमा बसेको दिन कुनै गल्ती नहोस् भनेर म भगवान्लाई पुकार्थें । गृहकार्य कुनै हालतमा छुटाउँदिनथेँ । तर पनि कक्षामा सोधिने सबै प्रश्नको जवाफ दिन नसक्दा सर ढाड मुसार्न आइपुगिहाल्थे । एउटा हातले मुन्टो घोप्ट्याउने र अर्को हातले ढाडमा हत्केला फिजाएर ढ्याप्प कुट्ने र कुटिसकेपछि औँला कुप्र्याएर ढाडमा गाड्ने वा हात रगड्ने गर्दथे ।

स्कुलमा कुटाइ खानु सामान्य कुरा थियो, हाम्रा लागि । तर, सरले गरेको हर्कतले असामान्य महसुुस गराइरह्यो । त्यसअघि अरू शिक्षकबाट मैले यस्तो व्यवहार भोगेकी थिइनँ । ढाडमा सरका हात सलबलाउँदा मन बेस्मारी काँप्थ्यो । दिगमिग लाग्थ्यो । ती सरले चिमोटेर कति साथीको समिजको खिप निकालिदिन खोजेको अहिले पनि बिर्सेकी छैन । भर्खर लगाउन थालेको हुपवाला समिज सरले खोलिदिएर बेइज्जत होला भनेर सेन्डोजस्ता केटीले लगाउने खाले समिज दुइटा खापेर लगाउन थालेकी थिएँ । तिनले पढाउन्जेल कतिवेला फ्याट्ट प्रश्न सोध्लान् र नजानेपछि जिउमा छुन आइपुग्लान् भन्ने एकखालको त्रास सधैँ रहन्थ्यो ।

पछाडिको बेन्चमा बस्ने, कक्षा दोहोर्याएका, अलि ठूला केटी साथीलाई सरले झनै हैरान पार्थे । एकपटक धरमपुर घर भएकी एउटी साथीले मुखमा आएसम्मको गाली गरेकी थिइन् । यो घटना बाहिर आएको थाहा पाउँदा ती साथीलाई सम्झेर सामाजिक सञ्जालमा खोजेँ । भेट्न सकिनँ । समकक्षी साथी गीता पराजुली पछुताइन्, ‘बुबालाई भनेको भए कारबाही हुन्थ्यो होला नि, भन्न सकिनँ ।’

उनका बुबा त्यतिवेला विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो । तर, यो खबर उहाँसम्म आफ्नै छोरीले समेत पुर्याउन सकिनन् । आमविद्यार्थी हेडसरका अघि ठाडो शिर गरेर बोल्नै सकिँदैनथ्यो । स्कुलको अफिसमा गएर आफ्ना समस्या राख्नुपर्छ भन्ने कुरा त्यतिवेला थाहा थिएन । गल्ती गर्नेलाई सजाय दिने ठाउँजस्तो लाग्थ्यो, स्कुलको अफिस हामीलाई । इमानदार विद्यार्थी भएर अफिस जाने काम नगर्नु नै आफूले बुझेको एक मात्र नैतिक शिक्षा थियो, उतिवेला ।

अचेल अभिभावकले छोराछोरीका कुरा सुन्न थालेका छन् । विद्यालय र अन्यत्र पनि अन्याय सहनुहुँदैन भनेर पढाउँछन् । तर, रूपान्तरणको प्रक्रियामा अझै माखो मार्न सकिएको रहेनछ । यो घटनाले विद्यालयको सिकाइ परीक्षा पास हुनका लागि मात्रै हो भन्ने कुरा चरितार्थ भएको छ ।

कतै मैले मात्रै पो दुर्व्यवहारको अनुभूति गरेकी हुँ कि भनेर आफूभन्दा माथिल्लो र तल्लो तहका साथीहरूसँग पनि यो खबर बाहिर आएपछि कुरा गरेँ । सरले यौनजन्य हिंसा गरेको कुरा मेरा धेरै समकालीन स्मरण गर्छन् । सोही साल ६ कक्षामा पढ्ने साथी सम्झिन्छिन्, ‘सरले जिउमा छुने पिरले स्कुलै नजानुजस्तो लाग्थ्यो ।’

कक्षा ६ कि ऊवेलाकी अर्की साथीले सरले आफूलाई दुव्र्यवहार नगरेको तर साथीहरूलाई दुर्व्यवहार गरेको देखेको, दुव्र्यवहारमा पर्ने साथीको गुनासो सुनेको बताइन् । आफू पढाइमा राम्रो विद्यार्थी भएको र सरको आफ्ना अभिभावकसँग पनि राम्रो चिनजान भएकाले आफू बचेको हुन सक्ने अनुुमान उनले गरिन् । आफ्नै कक्षाकी अर्की साथीले भनिन्, ‘सरले हिंसा गरेको याद छ, तर धेरै अघिको कुरा भएकाले ठ्याक्कै किटेर भन्न सक्ने आँट पलाउन सकिरहेको छैन ।’

आमछात्राहरूमाझ लामो समयदेखि ‘ओपन सेक्रेट’ बनेर बसेको यो विषय आज बजारमा आइपुगेको छ । आफ्नो शरीरमा दुर्नियतपूर्वक सल्बलाउने शिक्षकको हात हटाउन १८ वर्षपछिका बहिनीहरूले गरेको आँटप्रति म नतमस्तक छु । गलत छुवाइ र राम्रो छुवाइ हामी राम्रोसँग छुट्याउन सक्छौँ । हाम्रा ढाड र तत्तत् अंगहरू हाम्रा हुन् । तिनमा हाम्रो अधिकार छ ।

हामीलाई चर्काे स्वरमा ‘नाइँ’ भनेर सबैले सुन्ने गरी कराएर बोल्ने अधिकार छ । यसलाई अझै राजाको अनौठो लुगा मानेर अनदेखा गर्ने कि नांगोलाई नांगो भन्ने हिम्मत गर्ने ? यो एउटा स्कुल र केही विद्यार्थीहरूको मात्रै समस्या होइन । यो शिर उठाएर समस्या सुनाउन सक्ने संस्कारको अभाव, शिक्षकमा नैतिक चरित्रको स्खलनको नतिजा हो ।

भर्खरै सार्वजनिक भएको यसै घटनामा पनि सुरुमा मुद्दा दर्ता गर्न आनाकानी गरेर प्रहरीले देखाएको रवैया त झनै खतरनाक कुरा हो । स्कुलको कुरा बाहिर लैजानु हुँदैन भनेर ‘अर्ती’ दिन खोज्ने ठालुहरू गाउँघरमा प्रशस्त हुँदारहेछन् । यसर्थ, कलिला बालिकामाथि यौैन दुर्व्यवहार जस्तो जघन्य अपराध शिक्षकबाटै हुँदा राज्यले अपराधीलाई कडा कारबाही गर्न अग्रसरता देखाएन भने बर्मेली युवाहरूको शब्द सापटी लिएर भन्छु, ‘पितृसत्ताले गलत पुस्तासँग जोरी खोज्दै छ ।’

सुझावित समाचार