कोरोना भाइरसविरुद्ध खोप सुरु भएसँगै खोपसम्बन्धी गलत सूचना, मिथक र भ्रम पनि फैलिन थालेको छ । गलत सूचनाले खोपको स्वीकार्यतालाई प्रभावित बनाउँछ । खोप कार्यक्रम जति छिटो भयो, त्यति नै सामान्य जीवनतर्फको फिर्ती सजिलो हुन्छ । मैले आफ्ना बिरामी, मित्र तथा आफन्तबाट धेरै सुनेका सात मिथकलाई यहाँ प्रस्तुत गर्दै तिनको खण्डन प्रस्तुत गरेको छु ।
खोपसम्बन्धी मैले सबैभन्दा धेरै सुन्ने गलत धारणा हो, यो । अघिल्लो वर्ष एकजना जर्मन डाक्टर र एकजना पिफाइजरका पूर्वकर्मचारीले कोरोना भाइरसको सतहमा हुने काँडाजस्ता स्पाइक प्रोटिन र गर्भमा रहेको बच्चालाई सुरक्षा दिने सालमा हुने प्रोटिनबीच समानता छ कि भनेर प्रश्न उठाएका थिए ।
चासो व्यक्त गर्ने विज्ञले भाइरसको स्पाइक प्रोटिनविरुद्ध एन्टिबडी विकास गर्ने खोपले गर्भवती महिलालाई पनि असर गर्ने बहस चलाए । यही गलत बुझाइ अहिले व्यापक फैलिएको छ । तर, तथ्यले यो कुरालाई गलत भनेको छ । भाइरसको सतहमा भएको स्पाइक प्रोटिन र गर्भको सालमा हुने प्रोटिन बिलकुल फरक हुन्छन् । हालसम्म जति पनि अध्ययन भएका छन्, कुनैमा पनि खोपले गर्भको साललाई आक्रमण गर्ने एन्टिबडी बनाएको प्रमाण भेटिएको छैन ।
खोप सबैले लगाउन अति आवश्यक छ । स्वीकृति पाएका खोपले लक्षणयुक्त रोग उत्पन्न नगराउने हुँदा अस्पताल भर्ना हुने दर कम हुनेछ । साथै, खोपले मृत्यु पनि घटाउनेछ । तर, तिनले लक्षणविहीन संक्रमण रोक्छन् भन्ने अझै निश्चित भइसकेको छैन । त्यसैले खोप लगाएका व्यक्तिको शरीरमा भाइरस जीवित हुने सम्भावना छ । खोप लगाएका व्यक्तिलाई भाइरसले असर नगरे पनि तिनबाट खोप नलगाएका मानिसमा भाइरस सर्न सक्छ ।
खोप लगाएका व्यक्तिबाट भाइरसको विस्तार हुनेबारेमा भएका अध्ययनको नतिजा चाँडै आउने आशा गरिएको छ । त्यसअघि, खोप लगाएकाहरूले पनि मास्क लगाउने दूरी कायम गर्ने र होसियार हुन आवश्यक छ । ‘हर्ड इम्युनिटी’ हासिल भएपछि मात्र माहामारी अन्त्य भएको मानिनेछ । समाजका पर्याप्त मानिसहरू सुरक्षित भएको अवस्थालाई ‘हर्ड इम्युनिटी’ भनिन्छ । यस अवस्थामा समाजमा देखिने संक्रमणको दरलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।
एलर्जीकै कारण खोप नलगाउनु बुद्धिमतापूर्ण निर्णय होइन । कोरोना भाइरस खोप लगाएकामध्ये थोरै मानिसमा मात्र प्राणघातक हुन सक्ने एलर्जी रियाक्सन ‘एनाफाइलक्सिस’ देखिएको छ । अधिकांश व्यक्तिलाई भने खोप लगाएपछि जिउ दुख्ने, ज्यान चिसो हुने र ज्वरो आउनेजस्ता लक्षण देखिएको छ । तर, ती त्यति हानिकारक लक्षण होइनन् । यी लक्षणले खासमा शरीरको रोगप्रतिरोधात्मक प्रणालीले काम गरिरहेको देखाउँछ । पहिलो कुरा त कोरोना भाइरसको खोप निर्माणका लागि चिकित्सा विज्ञानको इतिहासमै सबैभन्दा धेरै वैज्ञानिक एउटै उद्देश्यमा केन्द्रित भए । त्यस्तो सहकार्यबाट प्रगति अपेक्षित नै हुन्छ ।
कोरोना भाइरस खोपबारे फैलिएका गलत सूचनाले मानिसलाई खोपसँग भयभीत बनाइरहेको छ, तिनलाई निराकरण गरिएन भने खोप कार्यक्रम नै प्रभावित हुने सम्भावना छ
कोरोना भाइरसको खोप निर्माणकार्य धेरै छिटो सुरु भयो । विगतमा कोरोना भाइरसकै अर्को प्रजातिबाट उत्पन्न सार्स प्रकोपको खोपको खोजमा धेरै जानकारी बटुलिएको थियो । ती तथ्यांक यसपटक उपयोगी साबित भयो । त्यसका अतिरिक्त अनुसन्धानमा ठूलो रकम सरकारी क्षेत्रबाट खर्च भएको र खोप बनेमा किन्न तयार विश्वव्यापी बजारलाई देखेर औषधि कम्पनी आकर्षित भए । त्यसैले धेरै औषधि कम्पनी खोप निर्माणमा अघि सरे ।
कुनै पनि खोपले स्वीकृति पाउन तीन चरणको अध्ययन पूरा गर्नुपर्छ । पहिलो परीक्षणमा थोरै मानिस (सम्भवतः १० जना) संलग्न गराइन्छ । यो चरणमा खोपको सुरक्षा हेरिन्छ । दोस्रो चरणमा अलि धेरै मानिसमा (सम्भवतः सयौँ) परीक्षण गरिन्छ । यस चरणमा रोगबाट जोखिममा रहेका व्यक्तिलाई समावेश गरिन्छ र खोपले उत्पन्न गराउन सक्ने समग्र प्रतिक्रिया हेरिन्छ (विशेषतः एन्टिबडी निर्माण) ।
तेस्रो चरणको परीक्षण भने निकै ठूलो समूहमा गरिन्छ (हजारौँदेखि दशौँ हजार मानिसमा) । यस चरणमा खोपले रोग नियन्त्रणमा कत्तिको प्रभावकारिता देखायो र के कस्ता साइड इफेक्ट देखिए भनेर हेरिन्छ । खोपको साइड इफेक्टलाई तुलना गर्दा मानिसहरू स्वस्थ मानिससँग तुलना गरिरहेका छन् । जबकि, कोरोनाको साइड इफेक्टलाई कोभिड–१९ ले उत्पन्न गर्ने जोखिमसँग तुलना गर्नुपर्ने हो । तर, समाजमा कोभिड व्याप्त रहेको र यसका कैयौँ जोखिम रहेको ख्याल गर्दा हामीले खोपलाई प्राथमिकतामा राख्नुपर्छ ।
(क्यारोल इन्डियना युनिभर्सिटी स्कुल अफ मेडिसिनका प्राध्यापक हुन्) न्युयोर्क टाइम्सबाट