नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको दाबी गरेका छन् । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित आदिवासी जनजाति मगर संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीले नेतृ झाँक्रीलाई पक्रन आदेश दिएको दाबी गरेका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई पक्रिनै प¥यो जसरी भए पनि पक्राउ गर भन्या छ भन्ने थियो । हामीले रोक्न बल ग¥याँै, हिजो बेलुकादेखि बिहानसम्म पनि । अहिले खबर आयो उनीहरूले जबर्जस्ती कमरेड रामकुमारीलाई पक्राउ गरेर लिएर गएका छन् ।’
झाँक्रीलाई पक्राउ गरेको घटनाले सरकारले उत्पीडित वर्ग जातिका प्रतिनिधिमाथि नै निसाना बनाएको भन्दै प्रचण्डले त्यसविरुद्ध एकजुट हुन आह्वान गरे ।
उत्पीडित जातिको प्रतिनिधित्वका लागि आफूले प्राप्त गर्न सक्ने जति उपलब्धि प्राप्त गरेको भन्दै उनले थप उपलब्धिका लागि प्रयासरत रहनुपर्ने बताए । कुनै एउटा वर्गको विचारले सम्पूर्ण रूपमा जितेर आएको संविधान नभएकाले केही राम्रा र केही नराम्रा पक्ष पनि रहेको भन्दै उनले जित्ने र हार्नेका बीचको सम्झौताको रूपमा बुझिदिन पनि उनले आग्रह गरे ।
उनले विगतमा भन्दा तुलनात्मक रूपमा स्थानीय तहदेखि केन्द्रसम्मको प्रतिनिधित्व कायम गर्न सक्नु पनि उपलब्धि नै भएको उनले बताए । उनले उपलब्धि जोगाइराख्न सरकारको प्रतिगमनविरुद्ध एकजुट हुन पनि सबैलाई अपिल गरे ।