सुरक्षा संयन्त्रमा सेटिङको सम्भावना

बिहिबार, २९ माघ, २०७७
डिजिटल संस्करण

व्यावसायिक निष्पक्षतामा गौरवशाली पहिचान बनाइसकेका सुरक्षा संयन्त्र कुनै समूहविशेषको सेटिङमा सहभागी हुने परिकल्पनासमेत गर्न सकिन्न 

‘सेटिङ’ अहिले बजारमा व्यापक खपतको शब्द बनेको छ । सेटिङ परस्परको लाभहानिका आधारमा गरिने गुपचुपको लेनदेन र षड्यन्त्रमूलक क्रियाकलाप हो । यस दुष्कार्यमा साझेदारी र हिस्सेदारीका आधारमा लेनदेन गरिने भएकाले परेका बखत एक–अर्कालाई हेरौँला भन्ने अनैतिक समझदारी कायम गरिएको हुन्छ । जुन विधिको उल्लंघन र कानुनी राज्यको उपहासको अवस्था हो । गैरकानुनी, छलकपटको निर्णयलाई सेटिङको निर्णय भनिन्छ । सेटिङमा बर्कत र हर्कतले काम गर्ने भएकाले लेन–देनमा सहभागी दुवै पक्षले आ–आफ्नो बर्कत (क्षमता) र हर्कत (कार्यको गम्भीरता) बमोजिमको सेवा लेन–देन गर्छन् ।

सेटिङ आफ्नो असफलता ढाकछोप गर्ने कमजोर तर षड्यन्त्रमूलक अस्त्र हो । यसमा आफ्ना निहित व्यक्तिगत स्वार्थका खातिर राज्यका सबै विधि र पद्धत्ति नै दाउमा राखिदिने दुष्कार्य गरिएको हुन्छ । सेटिङमा जवाफदेहिताको प्रश्नलाई नै समाप्त गरिने भएकाले राज्यसंयन्त्रले भ्रमपूर्ण अवस्थाको सिर्जना गर्न आफ्ना स्वार्थआबद्ध अनुयायीहरूलाई विभिन्न ढंगले परिचालन गरिरहेको हुन्छ । प्रधानमन्त्रीको संसद् विघटन र तत्पश्चात्का क्रियाकलापहरूले यस्तै सेटिङकै गन्ध दिन्छ ।

व्यवस्थापनका दृष्टिकोणमा ‘सेटिङ’ शब्द आफैँमा नकारात्मक भावको होइन । यसलाई चाँजोपाँजो मिलाई गरिने रणनीतिगत कार्ययोजना भन्ने अर्थमा बुझ्न सकिन्छ । तर, जब यस्तो चाँजोपाँजो दुराशयपूर्ण भावनाले गरिन्छ, त्यहाँ गर्न नहुने काम मिलेमतोमा गर्ने र परिस्थिति आफूअनुकूल कायम राख्ने रणनीतिगत दुस्प्रयास हुन्छ । जब राज्य स्वयंले नै संयन्त्रमा भन्दा षड्यन्त्रमा विश्वास गर्न थाल्छ, त्यतिवेला विधि, पद्धत्ति र प्रणाली निस्तेज हुन्छन् । 

सुरक्षा निकायको कार्यप्रकृति संयन्त्रमुखी हुन्छ । चेन अफ कमान्डको संयन्त्रमा रहने सुरक्षा शक्तिलाई दूषित मनसायले षड्यन्त्रमूलक ढंगले सञ्चालन गर्न खोजिएको अवस्थामा कानुनी राज्यको अस्तित्व व्यावहारिक रूपमै समाप्त भएर जान्छ । सरकारकृत सेटिङलाई सफल वा असफल बनाउनमा सुरक्षा संयन्त्रको महत्वपूर्ण भूमिका हुने भएकाले राज्यशक्तिले कुनै पनि सेटिङजन्य कार्य गर्नुअघि सुरक्षा संयन्त्रलाई सेटिङमा राख्ने प्रयास गर्छ । विरोधी विचारलाई वैचारिक रूपमा ठेगान लगाउन तन्त्रको प्रयोग, मानसिक दबाबमा पार्न मन्त्रको प्रयोग र भौतिक रूपमा दबाब पार्न संयन्त्रको दुरुपयोग हुन्छ ।

शान्तिविना विकास र विकासविनाको शान्तिको कल्पना गरिएको हुँदैन । मुलुकका सुरक्षा संयन्त्रहरू विकास र समृद्धिका संवाहक पनि भएकाले यिनको भूमिकालाई षड्यन्त्रमूलक ढंगले दुरुपयोग गर्ने दुस्साहस गर्नुहुँदैन ।
 

संयन्त्रले प्रणाली र विधिको अभ्यासलाई पारदर्शी र प्रणालीगत किसिमले सञ्चालन गर्ने नीति अवलम्बन गरेको हुन्छ, तर षड्यन्त्रले उल्लंघनात्मक रणनीतिमा जोड दिने भएकाले सुरक्षा संयन्त्रको भूमिकालाई दुरुपयोग गरिन्छ । सेटिङ र षड्यन्त्रका गतिविधि मूलढोकाबाट प्रवेश नगरी चोरबाटो वा झ्यालबाट छिराइन्छ । त्यसैले षड्यन्त्रमूलक ढंगका निर्णयहरू गुपचुपमा, पुरानो मितिमा, कार्यालय स्थान र समयभन्दा भिन्दै स्थान र समयमा सम्पन्न हुन्छन् । प्रणालीभन्दा बाहिरबाट गरिन्छन् । प्रणालीले पारदर्शिता, कानुनी पद्धति र जवाफदेहिता खोजेको हुन्छ, तर सेटिङले अपव्याख्याको माखेसाङ्लोलाई सुरक्षाकवच बनाउन खोजिरहेको हुन्छ ।

 मुलुकको विद्यमान अवस्थामा उच्चस्तरीय सेटिङको गन्ध राम्रैसँग महसुस र अनुभूत गर्न सकिन्छ । जे हो त्यो होइन, जे हुँदै होइन त्यही नै हो भन्ने पार्नका लागि सेटिङको व्यूह रचना गरिएको छ । संविधान र विधिको अपव्याख्या गर्ने भरमग्दुर प्रयास भएका छन् । कानुनको सुस्पष्ट र सीधा प्रबन्धनलाई कुल्चिएर, अपव्याख्याको सहारामा उल्लंघनका उपायको खोजी भइरहेको देखिन्छ । गैरसंवैधानिक कृत्यलाई सेटिङद्वारा संवैधानिक र विधिसम्मत करार गराउने कार्यमा राज्यका उच्चपदस्थहरूको भूमिकाले सिंगो मुलुक, संवैधानिक व्यवस्था र प्राप्त राजनीतिक उपलब्धि नै धरापमा पर्ने खतरा बढेर गएको छ । 

शान्ति सुरक्षाका दृष्टिकोणबाट हेर्दा हामी अहिले पनि संक्रमणकालीन अवस्थामै छौँ । शान्ति प्रक्रियाका तीन चरण छन्– किपिङ, मेकिङ र डेभलपिङ । विगतमा बृहत् शान्तिसम्झौतामार्फत द्वन्द्वलाई निश्चित रोडम्यापमा राख्ने काम सफलतापूर्वक सम्पन्न गरियो । यसलाई पिस किपिङको चरणका रूपमा बुझ्नुपर्ने हुन्छ । संविधान निर्माण, द्वन्द्व निरूपणका अभ्यास, लडाकुको समायोजनलगायतका गतिविधि पिस मेकिङको चरण भए । शान्ति सुरक्षाको तेस्रो चरणमा स्थायित्व र विकासको चरण आरम्भ हुन्छ । यो चरणमा आमनागरिकले वास्तविक रूपमा सामाजिक, राजनीतिक, धार्मिक, आर्थिक सुरक्षाका अधिकार प्रयोग गर्न पाउँछन् । यो शान्ति सुरक्षाको उपभोग गर्ने अवस्था हो । समृद्धि र सुरक्षा अनुभूत गर्ने विषय हुन् । त्यसैले त शान्तिविना विकास र विकासविनाको शान्तिको कल्पना गरिएको हुँदैन । मुलुकका सुरक्षा संयन्त्रहरू विकास र समृद्धिका संवाहक पनि भएकाले यिनको भूमिकालाई षड्यन्त्रमूलक ढंगले दुरुपयोग गर्ने दुस्साहस गर्नुहुँदैन ।

अहिलेको तरल अवस्थामा सुरक्षा संयन्त्रले पनि आफ्नो व्यावसायिक भूमिकालाई अझै जवाफदेही किसिमले निर्वाह गर्न आवश्यक छ । षड्यन्त्रका तानाबानालाई पूर्णरूपेण खारेज गर्ने व्यावसायिक हैसियत देखाउनुपर्छ । राज्यसंयन्त्रको अधीनमा रहने सुरक्षा संयन्त्रले विधिको शासनलाई पालना गराउँदा कतिपय अवस्थामा स्वयं राज्यका उच्च पदाधिकारीसमेतलाई सहमत गराउन सक्नुपर्ने हुन्छ । यो ऐतिहासिक जिम्मेवारी निश्चित र विशिष्ट अवस्थामा मात्र हासिल हुने भएकाले यसलाई ऐतिहासिक अवसरकै रूपमा ग्रहण गर्ने र उपयोग गर्नुपर्ने हुन्छ । सुरक्षा संयन्त्र स्वयंमा कानुनी संयन्त्र भएकाले षड्यन्त्र र सेटिङबमोजिम परिचालनमा आउनु हुँदैन । राज्यसंयन्त्रका वैधानिक आदेशबाहेक षड्यन्त्रका गैरकानुनी आदेशको पालना गर्ने छुट सुरक्षा संयन्त्रलाई हुँदैन । पछिल्लो समयमा हाम्रा सुरक्षा संयन्त्रमा व्यावसायिक र निष्ठापूर्ण सेवामा अविचलित रहने ठूलै युवापंक्ति नेतृत्व तहमा पुगेका छन् । उनीहरूको व्यावसायिक निष्ठालाई कसैले पनि सेटिङका आधारमा आफ्नो षड्यन्त्रको सुरक्षाकवचमा दुरुपयोग गर्न सकिन्छ कि भन्ने दुस्प्रयास नगरे हुन्छ । 

अहिलेको परिस्थिति विगतमा जस्तो सीमित घेराको नभई खुला र पारदर्शिताउन्मुख परिस्थिति भएकोले सुरक्षा संयन्त्रलाई निहित स्वार्थका लागि परिचालन गर्ने प्रयास आफ्नै लागि प्रत्युत्पादक हुन सक्छ । पञ्चायतकालमा सुरक्षा निकायको बलमा निर्वाचनको बाकस नै फेरेर चुनाव जित्ने वा विरोधी शक्तिलाई तह लगाउन सुरक्षा संयन्त्रको दुरुपयोग गर्नेजस्तो सम्भावना अहिले संस्थागत रूपमा सम्भव नै छैन । जसरी लोकतन्त्र र राजनीतिलाई जनताद्वारा जनताका लागि जनताले गर्न शासनका रूपमा व्याख्या गरिन्छ, उसैगरी सुरक्षा सेवा पनि जनताको, जनताद्वारा र जनताकै लागि कानुनबमोजिम सञ्चालनमा आउने संयन्त्र हो ।

जसरी आ–आफ्ना राजनीतिक विचार वा स्वार्थसमूहका आधारमा विभिन्न दल आ–आफ्नो विधान र झन्डाअन्तर्गत भिन्न–भिन्न दलका रूपमा रहने गरेका छन्, त्यसैगरी सुरक्षा निकायहरू पनि आ–आफ्नो विधान र झन्डाअन्तर्गत रहेका छन् । कानुनी राज्यको स्थापना र व्यावसायिक निष्पक्षतामा आफ्नो गौरवशाली पहिचान बनाइसकेका सुरक्षा संयन्त्रले अहिलेको खुला राजनीतिक अवस्थामा कुनै समूहविशेषलाई फाइदा पुग्ने गरी सेटिङको डिजाइनमा सहभागी हुने परिकल्पनासमेत गर्न सकिन्न । राज्यका अरू सबै निकाय वा निश्चित पदाधिकारीहरू सेटिङमा समाहित वा सहभागी भए पनि जबसम्म सुरक्षा संयन्त्र स्वयं ती दुष्कार्यमा संलग्न रहन्न, तबसम्म सेटिङ वा षड्यन्त्रमूलक कार्ययोजना र रणनीति सफल हुन सक्दैन । 

सेटिङका कार्ययोजनालाई बलपूर्वक परिचालन गरिने भएकाले यी कार्ययोजनालाई आफ्नो स्वार्थपरक ढंगले परिचालन गर्न खोज्दा परिचालनकर्ताले आफ्ना अनुयायीका सँगसँगै वैधानिक सुरक्षा संयन्त्रलाई पनि परिचालन गर्न खोज्छ । तर, सुरक्षा संयन्त्र तटस्थ रहेर विधिको पक्षमा उभिइरहँदासम्म राज्य सेटिङ सफल हुन सक्दैन । कानुनको पालना गराउने सुरक्षा संयन्त्रले विधिको शासनमा स्वार्थप्रेरित महत्वाकांक्षी षड्यन्त्र र सेटिङ सफल हुन सक्दैनन् भन्ने पाठ सिकाउने विश्वास निर्धक्क गर्न सकिन्छ । अन्यथा, कानुन, विधि र रीतिथिति सेटिङको दुष्चक्रमा पर्न गई मुलुक अनिश्चितताको भुमरीमा फस्ने जोखिम छ । 

(भण्डारी अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक हुन्)

सुझावित समाचार