बानेश्वरमा खुल्यो माटो ब्रान्डको पहिलो फ्रेञ्चाइजी स्टोर

बुधबार, २८ माघ, २०७७
डिजिटल संस्करण

गोल्यान एग्रो प्रालिले काठमाडौंको नयाँ बानेश्वरमा माटो ब्रान्डको पहिलो फ्रेञ्चाइजी स्टोर सञ्चालनमा ल्याएको छ । नेपाली कृषकहरूले उत्पादन गरेको अर्गानिक तरकारी, फलफूल, दलहन, चिया–कफी, अन्डालगायत स्टोरमा किन्न पाइनेछन् । नयाँ बानेश्वरस्थित लिभरपुल कलेजको ओरालोमा रहेको ‘माटो फ्रेस’ नामक स्टोरको मंगलबार गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले उद्घाटन गरे ।

यो समूहले स्वदेशी किसानहरूको कृषिजन्य उत्पादनलाई माटो ब्रान्डमा प्रवर्द्धन तथा बजारीकरण गर्दै आइरहेको छ । समूहका अध्यक्ष गोल्यानले नेपाली किसानहरूलाई अर्गानिक कृषि उत्पादनमा प्रोत्साहन गर्नका लागि माटो ब्रान्ड स्थापित गरेर अगाडि बढिरहेको बताए ।

माटो ब्रान्डका अर्गानिक उत्पादनहरू बजारमा पाइने औसत मूल्यमै बिक्री गरिरहेको उनको भनाइ छ । स्वदेशी उत्पादनलाई माया गर्ने जोस र जाँगर भएका युवाहरूलाई आत्मनिर्भर बनाउन फ्रेञ्चाइज मोडल सुरु गरेको उनले बताए । बिस्तारै फ्रेञ्चाइजी स्टोरहरू बढाउँदै जाने उनको योजना छ ।

नयाँ बानेश्वरको फ्रेञ्चाइजी आउटलेट सप्तरीको भारदहका १९ वर्षीय युवा आशिषकुमार चौधरीले सञ्चालनमा ल्याएका हुन् । १२ कक्षामा कम्प्युटर म्यानेजमेन्ट पढिरहेका उनले गोल्यान परिवारको ‘नेपाली किसान बचाउ’ अभियानलाई साथ दिन फ्रेञ्चाइजी स्टोर खोलेको बताए ।

उनले उत्साहित हुँदै भने, ‘मेरो पढाइ खर्च फुर्सदमा कम्प्युटर एसेम्बल्ड गरेरै पुर्‍याउन सक्छु, प्यासनले अर्गानिक तरकारी पसल खोल्ने हुटहुटी जागेको हो ।’ उनका हजुरबुबा अयोधी यादवको पवन गोल्यानसँग चिनजान भएकै कारण उनी माटो ब्रान्डमा जोडिन आइपुगेका हुन् ।

उनी बिहान के एन्ड के कलेजमा पढ्छन्, तरकारी पसल चलाउन साथी सचिन चौधरीले सहयोग गर्नेछन् । दिउँसो आफैँ पसलमा बसेर अर्गानिक उत्पादन बिक्री गर्ने उनले सुनाए । उनलाई स्टोरमा दिदी कविताले पनि सहयोग गर्नेछिन् जो अहिले मोडलिङ गर्दै आइरहेकी छिन् । उनले स्टोरमा १० लाख रुपैयाँ हाराहारी लगानी गरेका छन् । ‘भोलिका दिनमा माटो ब्रान्डको फ्रेञ्चाइजी स्टोर बढाउँदै लैजाने लक्ष्य छ,’ उनी सुनाउँछन्, ‘पारिवारिक पेसा कृषि हुनाले पनि कृषिमा जोडिन पाउँदा उत्साहित छु ।’

यसअघि गोल्यान एग्रोले माटो ब्रान्डको सानेपा, नारायणथान, कुपन्डाेल, गोल्फुटारमा स्टोर सञ्चालनमा ल्याइसकेको छ । छिट्टै झम्सिखेल, नक्साल, लाजिम्पाट र चन्डोलमा पनि माटोको स्टोर खोल्न लागेको गोल्यानले जानकारी गराए । उनले एक वर्षभित्र माटो फ्रेस स्टोर १०० पुर्‍याउने लक्ष्य लिएका छन् । ‘माटो ब्रान्डको स्थापना केवल आन्तरिक उत्पादनको उत्थानका लागि मात्र हो,’ उनले भने, ‘हामी नेपाली कृषक र ग्राहकहरूबीचको खाडल पुर्नका लागि कस्सिएका हौँ ।

गोल्यान एग्रोले देशभरका कृषकसँग अर्गानिक उत्पादन उचित मूल्यमा खरिद गरेर माटो ब्रान्डमा बिक्री गर्छ । अहिले माटो ब्रान्डसँग पूर्व–पश्चिम, हिमाल, पहाड र तराईसम्मका किसान जोडिन आइसकेका छन् । यो परिवार आफैँले पनि झापामा दुई सय बिघाभन्दा बढी क्षेत्रफलमा कृषि सुरु गरिसकेको छ ।

गोल्यान एग्रोले विभिन्न किसिमको तरकारी, कुखुरा र बट्टाईको अन्डा, एभोकाडो, स्याउ, स्ट्रबेरी, सुन्तला, केरालगायत फलफूल, बटर, घिउ, पानी, काजु, बदाम, किसमिस, चिया, कफी, च्याउ, आलु, प्याज, स्यानिटाइजरलगायत स्वदेशी उत्पादनहरू माटो ब्रान्डबाट बिक्री गर्दै आइरहेको छ । नेपाली किसानले उत्पादन गरेको दलहन पनि बिस्तारै माटो ब्रान्डबाटै बिक्री गर्न लागेको गोल्यानले बताए । उनी भन्छन्, ‘माटो ब्रान्डमा बिक्री गरिने उत्पादनहरू गुणस्तरीय हुनैपर्छ, हामी जस्तो पायो त्यस्तै उत्पादन र बिक्री गर्दैनौँ ।’

यो समूहले नेपाली कृषि उत्पादन विदेशमा निर्यात गर्ने सोच रोखेको छ । ‘हामीले स्वदेशमा अर्गानिक उत्पादन बिक्री गर्दा नाफा खोज्दैनौँ, स्वदेशी किसानलाई कृषिमा सघाउँदै उनीहरूको उत्पादनलाई उचित मूल्यमा किनेर बिक्री गरिदिने र उद्यमशीलता विकास गर्ने लक्ष्य हो,’ उनी भन्छन्, ‘नेपाली उत्पादन विदेशमा निर्यात सुरु गरेपछि मात्र नाफा कमाउने हो ।’ निकट भविष्यमा माटो ब्रान्डको स्प्रिङ वाटर (पानी) जापान निर्यात गर्न लागेको उनले जानकारी गराए ।

उनले स्वदेशमा कृषिको प्रशोधन उद्योग खोल्ने सोच पनि बनाएका छन् । ‘जुन ठाउँमा जे उत्पादन हुन्छ, त्यहाँ त्यस्तै खालको प्रशोधन केन्द्र स्थापना गरिनुपर्छ,’ उनी भन्छन्, ‘हामी बिस्तारै किसानको उत्पादन किनेर प्रशोधन गरी बजारमा पठाउने सोचमा पनि छौँ ।’ 

सुझावित समाचार