- पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुम जोड्ने मुख्य मार्गमा पर्ने पक्की पुल नबन्दा स्थानीयलाई सास्ती
- काम गरेको जस्तो गर्छन्, तर बढेको देखिन्न । समयमा काम सक्नेमा कसैको पनि विश्वास छैन - जयबहादुर चेम्जोङ, अध्यक्ष कुम्मायक गाउँपालिका
तमोर नदीको लुभुघाटमा बन्दै गरेको पक्की पुल आठ वर्षदेखि अलपत्र छ । आर्थिक वर्ष ०६८/६९ मा पुल निर्माण थालिएको हो । यो अवधिमा ठेकेदार कम्पनीले जम्मा चारवटा पिल्लर मात्रै बनाएको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण अहिलेसम्म पुल अलपत्र परेको र सरकारले पनि पुल निर्माणका लागि चासो दिन छाडेको स्थानीयको भनाइ छ ।
२६ असार २०७२ मा सक्ने गरी स्वच्छन्द निर्माण सेवा प्रालिले १३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौता अवधिभन्दा पाँच वर्ष बितिसक्दा पनि काम नसक्ने कम्पनीलाई सरकारले पटक–पटक समय थप्दै आएको छ । अहिले पुलमा काम गर्न भन्दै केही कामदार र एकजना इन्जिनियरलाई फिल्डमा पठाइएको छ । तर, पुलको कामले गति लिने अवस्था छैन । ठेकेदार कम्पनीले आगामी असारसम्म निर्माणको काम सक्ने दाबी गरेको छ । फिल्ड इन्चार्ज कमल कार्कीले भने, ‘बाटो नै नपुगेको ठाउँमा पुल बनाउन थालेपछि समस्या भएको हो । हामीले नै बाटो ल्याएर सामग्री ल्याउनुपर्यो । बाटो बनाउँदा–बनाउँदै समय बित्यो, अब अन्तिम प्रयत्नमा छौँ ।’
तोकिएको समयमा काम नसकेपछि पनि पटक–पटक समय माग्दै ठेकेदार कम्पनीले निर्माण कार्य लम्ब्याउँदै गएको छ । एक वर्षअघि मात्रै आयोजनाको म्याद थपिएको थियो । त्यो समय आगामी असारमा सकिँदै छ । तर, आठ वर्षमा नबनेको पुल अबको पाँच महिनामा बन्छ भन्नेमा स्थानीय विश्वस्त छैनन् । कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ भन्छन्, ‘काम गरेको जस्तो गर्छन्, तर बढेको देखिन्न । समयमा काम सक्नेमा कसैको पनि विश्वास छैन ।’
आधा काम सकिएको ठेकेदार कम्पनीको दाबी
एक सय ५० मिटर लामो पुलको करिब आधा काम सकिएको निर्माण कम्पनीको दाबी छ । ट्रस्ट र आरसिसीसहितको पुलमा ६ वटा पिल्लर बनाउनुपर्ने छ । वेलावेलामा हुने अनुगमनले पनि ठेकेदार कम्पनीलाई केही गर्न सकेको छैन ।
पाँचथरको कुम्मायक र तेह्रथुम जोड्ने मुख्य मार्गमा पर्ने पुल नबन्दा अहिले मोटरसाइकल नजिकै रहेको झोलुंगे पुलबाट लाने गरिएको छ । पुलबाट तेह्रथुम सदरमुकाम जोड्ने सबैभन्दा नजिकको दूरी पर्छ । अलपत्र अवस्थामा रहेको पुलबाट तेह्रथुमतर्फ १४ किलोमिटरमा सदरमुकाम म्याङलुङ पुगिन्छ । सहज आवागमन र यातायात सञ्चालनका लागि पनि समयमै पुल बन्नुपर्ने स्थानीयले माग राख्दै आएका छन् ।
तेह्रथुम र पाँचथर दुवैतर्फ बाटो पुलसम्मै पुगेको छ । यातायात सहज आवागमन हुनलाई पुल नबन्दा समस्या आएको हो । स्थानीयले कुरा उठाउन थालेपछि केही दिनका लागि काम गर्न गए जस्तो गरे पनि केही दिनपछि निर्माणस्थलमा कोही भेटिँदैनन् ।