फ्रन्टलाइनरलाई ‘कोभिड– १९ विशेष सम्मान’

शनिबार, १७ माघ, २०७७
डिजिटल संस्करण

कोभिड– १९ को महामारीका वेला फ्रन्टलाइनमा रहेर काम गर्ने विभिन्न विधाका उत्कृष्ट व्यक्ति तथा संस्थालाई ‘कोभिड– १९ विशेष सम्मान’ प्रदान गरिएको छ । बराबर  फाउन्डेसनले शुक्रबार चिकित्सा, नर्सिङ, पत्रकारिता र स्वास्थ्य सहयोगी विधाका फ्रन्टलाइनरलाई पुरस्कृत गरेको हो । 

सम्मानित हुनेमा १३ व्यक्ति र चार संस्था छन् । चिकित्सातर्फ त्रिवि शिक्षण अस्पतालका प्रा.डा. सुवास आचार्यलाई एक लाख एक रुपैयाँ राशिसहित सम्मान गरिएको छ । यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. अनुप बाँस्तोला र कोसी अस्पताल विराटनगरका डा. देवप्रसाद आचार्यलाई ६० हजार एक रुपैयाँ राशिसहित सम्मानपत्रले पुरस्कृत गरेको छ । 

त्यस्तै, नर्सिङतर्फ वीर अस्पतालमा कार्यरत स्टाफ नर्स ज्योति हमाल, सशस्त्र प्रहरी अस्पतालकी सपना रावल, सेती प्रादेशिक अस्पताल धनगढीकी भगवती बराल र नारायणी अञ्चल अस्पताल वीरगन्जकी श्रुति शाहलाई सम्मान गरिएको छ । पत्रकारिता विधातर्फ अनलाइनखबरका सागर बुढाथोकी, कान्तिपुरकी फातिमा बानु, देशसञ्चारकी फोटो पत्रकार वर्षा शाह र संस्थागततर्फ न्युज एजेन्सी नेपाल पुरस्कृत भएका छन् । नर्सिङ, पत्रकारिता र स्वास्थ्य सहयोगीतर्पm पुरस्कृत हुनेलाई जनही ५० हजार एक रुपैयाँसहित पुरस्कृत गरिएको छ ।

स्वास्थ्य सहयोगी विधातर्फ तीनजना पुरस्कृत भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हेल्थ असिस्टेन्ट रमेश काफ्ले, भेरी अस्पताल नेपालगन्जकी कर्मचारी सुशीला भण्डारी, भक्तपुरको स्वयंसेवी समूह आरएनए १६ का राजेन्द्र गोइजू सम्मानित भएका छन् । फाउन्डेसनले संस्थागततर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई विशेष सम्मान प्रदान गरेको छ । पुरस्कृत हुनेलाई वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नगदसहित सम्मानपत्रले सम्मानित गरेका थिए ।

सुझावित समाचार