उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सहिदको बलिदानीबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक शासन व्यवस्थाजस्ता उपलब्धिलाई संस्थागत गरेको संविधानको रक्षा गर्नु सबैको दायित्व भएको बताएका छन् ।
शुक्रबार सहिद दिवसको अवसरमा विज्ञप्तिमार्फत सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले संविधानको रक्षा गर्नु नै सहिदको सम्मान गर्नु भएको उल्लेख गरेका छन् । प्रतिनिधिसभा विघटनपछि संविधानको संरक्षण र पालन हुनुपर्नेमा कार्यान्वयनको प्रारम्भिक चरणमै देशमा अन्योल सिर्जना हुनु दुःखद भएको बताए ।
नेपाली जनताको लामो राजनीतिक संघर्षपछि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना गर्ने भन्दै यी उपलब्धिहरूलाई संस्थागत गरेको हाम्रो संविधानले राजनीतिक स्थिरताको परिकल्पना गरेको उल्लेख गरे ।
सहिद दिवसको अवसरमा शुभकामना दिँदै उनले विज्ञप्तिमा भनेका छन्, ‘सहिद दिवस– २०७७ को अवसरमा जहानियाँ राणा शासनविरोधी आन्दोलन तथा त्यसपछिका ठुल्ठूला राजनीतिक क्रान्ति तथा संघर्षहरूमा आफ्नो जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’