बैजनाथ गाउँपालिका– ३ नौबस्तामा निर्माणाधीन क्षेत्रीय कारागार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दोस्रो फेजअन्तर्गत निर्माणाधीन २५ वटा भवन निर्माण अन्तिम चरणमा पुगेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना इकाइ बाँकेका इन्जिनियर सुदीप झाले जानकारी दिए ।
उनले प्रशासनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरीका लागि दुई–दुईतले एक–एकवटा भवन निर्माण अन्तिम चरणमा पुगेको बताए । एउटा युनिटमा दुईतले दुईवटा जेल ब्लक, दुईतले शौचालय, दुईतले एउटा वर्कसप र एकतले डाइनिङ रुम गरी एक युनिटमा पाँचवटा भवन निर्माण भइरहेको इन्जिनियर झाले जानकारी दिए । ‘दोस्रो फेजमा यस्ता चारवटा ब्लक निर्माण भइरहेका छन् । चारवटै ब्लकमा ७० प्रतिशत काम पूरा भएको छ,’ उनले भने ।
उनले स्ट्रक्चर निर्माण पूरा भइसकेको बताए । भवनको छत ढलान भई दिवाल लगाउने काम भइरहेको उनको भनाइ छ । सेक्युरिटी वाल, सेनेटरी, इलेक्ट्रिक्स र फिनिसिङको काम भइरहेको उनले जानकारी दिए । ‘कामको प्रकृति हेर्दा वैशाखसम्म दोस्रो फेजअन्तर्गतका सम्पूर्ण संरचना निर्माण पूरा हुने देखिन्छ,’ झाले भने ।
पप्पु कन्स्ट्रक्सनका कारण निर्माणमा ढिलाइ
१० बिघा क्षेत्रफलमा बन्न लागेको क्षेत्रीय कारागारमा तीन हजार कैदीबन्दी अट्ने क्षमता छ । ८ कात्तिक ०७६ मा निर्माण सम्पन्न गर्ने गरी रसुवा–पप्पु कन्स्ट्रक्सन जेभीले मूल्य अभिवृद्धि करबाहेक ३८ करोड ६८ लाख ७९ हजार दुई सय ८१ रुपैयाँमा ठेक्का लिएको थियो ।
ज्वाइन्ट भेन्चरअन्तर्गत रसुवा–पप्पुले ठेक्का पाए पनि निर्माणको जिम्मा पप्पुलाई दिइएको थियो । तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का लिए पनि सो अवधिमा पाँच प्रतिशत मात्र प्रगति भएको थियो । ‘पप्पुले तीन वर्षमा पाँच प्रतिशत मात्र काम गर्यो । उसले काम गर्न नसकेपछि अहिले रसुवाले काम गरिरहेको छ,’ इन्जिनियर मिश्रले भने, ‘अहिले रफ्तारमा काम भइरहेको छ । यसले केही आशा जगाएको छ ।’
आगामी वैशाखभित्र दोस्रो फेजको निर्माण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको रसुवा कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर विनोद ज्ञवालीले बताए । उनले ६ महिनामा ७० प्रतिशत प्रगति भएको बताए । लकडाउनले निर्माणमा केही समस्या सिर्जना गरेको बताउँदै उनले सानातिना काम मात्र बाँकी रहेकाले वैशाख पहिलो साता संरचना हस्तान्तरण हुने जिकिर गरे । ‘तपाईंले कामको रफ्तार देखिहाल्नुभयो । वैशाखमा कारागार सञ्चालन गर्ने गरी निर्माणमा जुटेका छौँ,’ ज्ञवालीले भने ।
यसैबीच, तोकिएको समयमा निर्माण पूरा नभएपछि एक वर्ष म्याद थप गरिएको छ । थप गरिएको म्याद पनि ८ कात्तिक ०७७ मा सकिएको उनले बताए । उनले ८ वैशाख ०७८ सम्मका लागि म्याद थप्ने तयारी भइरहेको बताए । तेस्रो फेजमा थप ३० वटा भवन निर्माणको तयारी भइरहेको उनले बताए । ‘नौबस्तास्थित क्षेत्रीय कारागारमा कुल ५६–६० वटा भवन निर्माण हुन्छ,’ उनले भने ।
नेपालगन्ज कारागारका दुई सय कैदी स्थानान्तर गरिने
नेपालगन्ज कारागारमा रहेका दुई सय कैदीलाई वैशाख पहिलो साता स्थानान्तर गर्ने तयारी भएको बताए । अदालतबाट कैद सजाय फैसला भई नेपालगन्ज कारागारमा रहेका कैदीलाई त्यहाँ स्थानान्तर गरिने उनको भनाइ छ । आचरणमा सुधार भएका र कारागारमा रहेका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको उनले स्पष्ट पारे । ‘नेपालगन्ज कारागारमा कैद भुक्तानी गरिरहेका ज्येष्ठ नागरिकलाई खान, बस्न समस्या हुने गरेकाले पहिलो प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘पहिलो चरणमा दुईवटा जेल ब्लक संचालन गर्ने योजना छ ।’
कारागारमा वर्कसपको समेत व्यवस्था
क्षेत्रीय कारागारमा बस्ने कैदीले सीपमूलक तालिम र काम गर्ने अवसरसमेत पाउनेछन् । अहिले निर्माण भइरहेको दुईतले वर्कसप भवनमा बसेर कैदीले आफूले जानेको सीप प्रयोग गरी आयआर्जनको काम गर्ने जेलर सोनखरले बताए ।
उनले डिपिआरअनुसारको कारागार निर्माण पूरा भए कैदीलाई खान, बस्न समस्या नहुने जिकिर गरे । ‘कैदीका लागि हरेक ब्लकमा शौचालय, भान्सा, वर्कसप, खेल मैदानलगायत संरचना निर्माण भएपछि कैदीलाई सहज हुनेछ,’ उनले भने ।
खुला कारागारमा पनि वैशाखदेखि कैदी राख्ने तयारी
उनले गनापुरमा निर्माण भएको खुला कारागारलाई थप व्यवस्थित बनाएर वैशाखदेखि कैदी राखिने बताए । आचरणमा सुधार भएका र कैद भुक्तान गर्न थोरै समय बाँकी रहेकालाई खुला कारागारमा राखिने उनको भनाइ छ ।