भाजपामा पश्चिम बंगालमा पहिलोपटक सरकार बनाउन सकिने विश्वास बढेसँगै चुनावी ताप ह्वात्तै बढेको छ
अवधको अफ्नो समयका निकै लोकप्रिय सायर मरहुम रफिक सादानीले चुनावका दौरान नेता, पार्टी र सरकारको बदलिने स्वभावबारे लेखेका थिए– जब नगिचे चुनाव आवत है, भात मांगो पुलाव आवत है (जब चुनाव नजिक आउँछ, भात माग्नुस् पुलाव आउँछ) । यो पंक्ति पछिल्लो दिन पश्चिम बंगालमा सार्थक देखिँदै गएको छ।
चुनाव नजिकिँदै गर्दा भारतको केन्द्रमा सरकार बनाएर बसेको भारतीय जनता पार्टी (भाजपा)मा बंगालमा पहिलोपटक सरकार बनाउन सकिने विश्वास बढेको छ । यो सपना पूरा गर्नका लागि भाजपा ईश्वरचन्द्र विद्यासागर, रवीन्द्रनाथ टेगोर र स्वामी विवेकानन्दजस्ता नायकलाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्न अघि सरेको छ । पार्टीले मतदाताको भावनालाई आफ्नो पक्षमा पार्न कुनै कसर बाँकी राखेको छैन । हुन पनि उसको इतिहास साक्षी छ, ‘कमल फुलाउन’का लागि भाजपाले नायकहरूको ‘प्रयोग’ गर्नेदेखि मतदाताहरूको भावनालाई प्रभावित बनाउन सबै हतकण्डा अपनाउँछ ।
नरेन्द्र मोदी यस्तो ‘अभियान’मा आफू पार्टीको मात्र नेता नभएर देशको प्रधानमन्त्री भएको कुरा पनि ख्याल राख्दैनन् । यस्तै प्रकारको एक ‘अभियान’ अन्तर्गत जनवरी २३ मा नेताजी सुभाषचन्द्र बोसको जन्मजयन्तीमा कोलकातामा विशेष कार्यक्रम आयोजना भयो । उनको यो जन्मजयन्ती कार्यक्रम पूर्णतः चुनावी थियो । प्रधानमन्त्री भएपछि मोदीले पछिल्लो ६ वर्षमा कहिल्यै पनि सुभाषचन्द्र बोसको जन्मजयन्तीमा कोलकाता नपुगेको तथ्यले यसको पुष्टि गर्छ । यसपटक १२५औँ जयन्तीको वहनामा उनी कोलकाता पुगे । त्यस कार्यक्रममा मुख्यमन्त्री ममता बनर्जीले पनि बोलेकी थिइन् । उनको सम्बोधनका क्रममा मोदी समर्थकले अमर्यादित नाराबाजी गरेर अप्रिय स्थिति उत्पन्न गरे । यसबाट पनि मोदीको नेताजी सुभाषचन्द्र बोसप्रतिको धारणा चुनावी थियो भन्ने देखिन्छ । अन्यथा नेताजी बोसको सम्झनाका लागि आयोजित सरकारी कार्यक्रममा नेताजीको साटो श्रीराम र नरेन्द्र मोदीको जयजयगान नारा लगाउनुको के तुक थियो ?
पश्चिम बंगालको चुनावका दुई शक्ति देखिएका भाजपा र त्रिमुल कंग्रेस दुवैमा बराबर गर्मी बढेको छ । आखिर ताप नबढोस् पनि कसरी ? अहिले ममताले जुन भाजपाको सामना गरिरहेकी छिन्, त्यसलाई हालको मर्यादा तोड्ने स्थितिमा पुर्याउन उनको पनि केही न केही योगदान रहेको छ ।
बोल्ने क्रममा ममताले सरकारी समारोहको मर्यादा स्मरण गराइन् । साथमा कसैलाई आमन्त्रित गरेर अपमानित गर्नु उचित नभएको पनि उल्लेख गरिन् । एउटा अर्को कार्यक्रममा नेताजी बोसलाई सम्झना गर्दै ममताले कोलकातासमेत भारतमा चार राजधानी आवश्यक रहेको बताएर आफैँले मर्यादा तोडिन् । अर्थात् दुवैतर्फ बराबर गर्मी बढेको छ । आखिर आगो नबढोस् पनि कसरी ? अहिले ममताले जुन भाजपाको सामना गरिरहेकी छिन्, त्यसलाई हालको मर्यादा तोड्ने स्थितिमा पुर्याउन उनको पनि केही न केही योगदान रहेको छ ।
प्रधानमन्त्री मोदी आजकल नेताजी सुभाषचन्द्र बोस जीवित भएको भए देशको आजको पराक्रम देखेर खुसी हुन्थे भनिरहेका छन् । तर, जानकारका अनुसार प्रधानमन्त्री जुन आरएएसको आधारमा उभिएका छन्, त्यसलाई सुभाषचन्द्र बोस उखेलेर फ्याँक्न चाहन्थे । बोसले कंग्रेस अध्यक्ष हुँदा सन् १९३८ डिसेम्बर १६ मा पार्टी विधान संशोधन गरेर साम्प्रदायिक संगठनका सदस्यलाई पार्टीको चुनावी समितिमा चुनिनबाट रोक लगाइदिएका थिए । साम्प्रदायिकताको मुद्दामा ती दिन हिन्दू महासभाका नेता डा. श्यामाप्रसाद मुखर्जीसँग पनि सुभाषचन्द्र बोसको टक्करको स्थिति थियो ।
आज नेताजी सुभाषचन्द्र बोस जीवित हुन्थे भने उनी भाजपा र उसको सरकारले धर्मनिरपेक्ष दुई तरिकाले चल्छ भनेर बिर्सिएको कुरामा दु:खी हुन्थे होलान् । धर्मनिरपेक्षता स्विकारेको राज्य या सबै धर्मसँग समान दूरी बनाएर बस्छ या त सबै धर्मसँग समान प्रेम कायम राख्छ । तर, भारतमा अहिले यो दुवै काम भएको छैन । केन्द्रमा सरकार बनाएको पार्टी देशको सबैभन्दा ठूलो धार्मिक समुदायसँग नजिक देखाएर अल्पसंख्यकहरूको धर्म दोस्रो दर्जाको र राज्य बहुसंख्यक समुुदायको धर्मबाट टाढा बस्न सक्दैन भनेर देखाउन खोज्दै छ ।
दोस्रोतर्फ ममता बनर्जीजस्ता नेता वा दलको समस्या के हो भने उनले हिजो भाजपासँग लामो सहकार्य गरेकी थिइन् । लामो समयसम्म उनले भाजपाको समर्थनका लागि प्रयास गरेकी थिइन् । आम यथार्थ हो, मित्र दुस्मन बन्यो भने त्यो सबैभन्दा खतरनाक हुनेछ । उनले पछुताउनुको अर्थ तब मात्र हुन्छ, जब उनी सारा सम्मान–अपमान भुलेर चराले खानाबाट बचेको आफ्नो खेत बचाउन सतर्कता अपनाउँछिन् । उनी यसमा सफल हुन्छिन् कि हुन्नन्, त्यसमै उनको भविष्य निर्भर छ ।
(सिंह पश्चिम बंगालमा बसेर पत्रकारिता गर्छन्)
द प्रिन्टबाट