तानसेन नगरपालिकाले सडक उपयोगको नाममा मनोमानी शुल्क लिन थालेपछि गुल्मीका व्यवसायी आन्दोलित

बुधबार, १४ माघ, २०७७
डिजिटल संस्करण

कुनै पनि राजमार्ग तथा सहायक राजमार्गमा सडक उपयोगको नाममा कुनै शुल्क लिन नपाउने कानुनी व्यवस्था छ । तर, पाल्पाको तानसेन नगरपालिकाले स्थानीय पूर्वाधार सडक उपयोगको नाममा मनोमानी शुल्क लिइरहेको छ । पाल्पाको बतासे र होलाङ्दीमा नगरपालिकाले केही समयदेखि शुल्क उठाउँदै आएको छ । 

गुल्मी र पश्चिम बाग्लुङ जाने निजी तथा सार्वजनिक सवारीका साधनसँग नगरपालिकाले धमाधम शुल्क उठाउन थालेपछि गुल्मीका व्यवसायी आन्दोलित भएका छन् । सोही विषयलाई लिएर मंगलबार गुल्मी उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत पाल्पाका प्रमुख जिल्ला अधिकारी र तानसेन नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । 

तानसेन नगरले आफ्नो स्वार्थमा ऐन–कानुनविपरीत सयाैँ सवारीसाधनसँग लिएको शुल्क तत्काल बन्द गर्न वाणिज्य संघले माग गरेको छ । नगरको मनोमानी तत्काल बन्द नगरे शुल्कको अवज्ञा गर्नुका साथै पाल्पा नै पुगेर आन्दोलन गर्ने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । ‘यो पाल्पाले गुल्मेलीलाई हेपेको पहिलो उदाहरण होइन,’ भलामीले भने, ‘पाल्पा प्रशासन र तानसेन नगरको ध्यानाकर्षण नभए सशक्त आन्दोलन गर्छौँ ।’ 

गुल्मीबाट पाल्पा हुँदै दैनिक सयौँ गाडी आवतजावत गर्छन् । हलुका २० र हेभी सवारीसाधनबाट तानसेन नगरपालिकाले ४० रुपैयाँ उठाउन एकतर्फी उठाएको उद्योग वाणिज्य संघका महासचिव तारा भुसालले बताए । दैनिक आउजाउ गर्ने हलुकाले ४० र हेभी सवारी साधनले ८० बुझाउने गरेका छन् । ‘तानसेनले जस्तै प्रत्येक स्थानीय तहले शुल्क उठाए काठमाडाैं पुग्ने सवारीले के कमाउँछ,’ भुसालले भने, ‘ब्रह्मलुट तत्काल बन्द होस् ।’ 

गुल्मीको रुरु क्षेत्र गाउँपालिकासँग तानसेनको सीमा पर्छ । बुटवलतर्फ तिनाउ गाउँपालिका छ । बरतुङबाट स्याङ्जा, कास्की, पर्वत र बाग्लुङ जाने अर्को राजमार्ग छ । तर, तानसेन नगरपालिकाले गुल्मी र पश्चिम बाग्लुङका नागरिकलाई हेपेर बतासे र होलाङ्दीमा मात्र स्टेसन राखेर कर उठाउँदै आएको महासचिव भुसालले बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विधि र परिधि मिचेर कर ल्याउन नपाइने भएकाले पाल्पा प्रशासनसँग समन्वय गरेर समस्या समाधानको पहल गर्ने बताइन् । 

सुझावित समाचार