प्रदेश नम्बर १ मा आइएमई भरोसा कोषको रकम वितरण

मंगलबार, १३ माघ, २०७७
डिजिटल संस्करण

कोभिड–१९ महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’अन्तर्गत प्रदेश नम्बर १ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ । आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोडमा एक कार्यक्रमबीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहयोग राशिबराबरको चेक हस्तान्तरण गरेका हुन् । 

चेक हस्तान्तरणपछि अध्यक्ष ढकालले कोभिड–१९ का कारण ज्यान गुमाउन बाध्य प्रवासी श्रमिकका आश्रित परिवारलाई सक्दो सहयोग गर्नु कोषको मुख्य उद्देश्य रहेको बताएका थिए । कोषबाट आवेदकलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको कम्पनीले जनाएको छ । प्रदेश नम्बर १ अन्तर्गतको बिर्तामोड क्षेत्रबाट कुल चारजनालाई अध्यक्ष ढकालले उक्त सहयोग राशि हस्तान्तरण गरेको जनाइएको छ ।

कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरी आइएमईले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोषको स्थापना गरेको जनाएको छ । कोषले विभिन्न प्रदेशमा सहयोग रकम हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ । प्रदेश नम्बर २ को राजधानी जनकपुरमा छिट्टै नै सहयोग रकम हस्तान्तरण गर्ने योजना बनाएको कम्पनीले जनाएको छ ।

सुझावित समाचार