एचआइभी उपचारको खोप काबेनुवालाई एफडिएको स्वीकृति

आइतबार, ११ माघ, २०७७
डिजिटल संस्करण

दुईवटा औषधिको संयोजनबाट बनाएको एचआइभी उपचारसम्बन्धी इन्जेक्सन (खोप) लाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले प्रयोगका लागि स्वीकृति दिएको छ । मासिक रूपमा इन्जेक्सनमार्फत दिइने यो औषधिमा विभिन्न अनुसन्धान भइरहेका थिए । एफडिएको स्वीकृतिसँगै दैनिक तीनवटा औषधि सेवन गर्नुपर्ने बिरामीले विकल्प पाएका छन् ।

बिहीबार एफडिएका विज्ञहरूको प्यानलले दुईवटा औषधिबाट बनेको यस इन्जेक्सनलाई प्रयोग गर्न अनुमति दिएको हो । जसको नाम काबेनुवा राखिएको छ । यो भ्याक्सिन दैनिक प्रयोगमा ल्याइने ट्याबलेटभन्दा एचआइभी नियन्त्रणका लागि निकै प्रभावकारी देखिएको छ । सामान्यतया दैनिक सेवन गरिने औषधिहरूमा प्रि–एक्सपोजर प्रोफेलेक्सिस र पिआरइपी प्रयोग गरिन्छ । 

यसअघि एचआइभी संक्रमितले दैनिक रूपमा औषधि प्रयोग गर्नेपर्ने हुन्थ्यो । कारणवश औषधि सेवन नगर्दा शरीरमा अन्य भाइरस संक्रमणको जोखिम हुन्थ्यो । औषधिको अभावमा शरीरको प्रतिरोधी क्षमता कमजोर हुँदै जाने भएकाले सामान्य स्वास्थ्य समस्याले पनि जटिल रूप लिन सक्थ्यो । तर, अब मासिक रूपमा इन्जेक्सन लिए पनि हुने भएको छ । धेरै झन्झट नहुँदा बिरामीको शारीरिकसँगै मनोवैज्ञानिक अवस्थाममा पनि सुधार आउने विज्ञहरू बताउँछन् ।

काबेनुवामा गरिएको क्लिनिकल ट्रायलमा सहभागीमध्ये ९९ प्रतिशत बिरामीले दैनिक ट्याबलेटको तुलनामा मासिक इन्जेक्सन रोजेका थिए । अर्थात् महिनामा एकपटक इन्जेक्सन लगाएपछि दैनिक औषधि लिनु नपर्ने हँुदा अधिकांशले इन्जेक्सन रोजेका हुन् । काबेनुवा क्याबोटेब्राभिर र राल्पाइवाइन नामक दुईवटा औषधिको मिश्रणबाट बनाइएको हो । यो औषधिमा करिब दुई वर्षसम्म अध्ययन गरिएको थियो । एचआइभीका बिरामीमा यो औषधि प्रभावकारी देखिएपछि एफडिएले स्वीकृति दिएको हो । विज्ञहरूले काबेनुवा इन्जेक्सन प्रयोगपछि साइडइफेक्ट देखिने अनुमान गरेका छन् । काबेनुवासँगै संक्रमितले अर्को औषधि पनि प्रयोग गर्नुपर्ने हुन्छ । 

एफडिएले स्वीकृति दिएसँगै युरोपियन युनियन र क्यानडाले पनि इन्जेक्सन प्रयोगमा ल्याउन अनुमति दिएका छन् । अर्थात् क्लिनिकल ट्रायलमा प्रभावकारी देखिएसँगै एचआइभी नियन्त्रणमा सहयोग पुग्ने भन्दै विज्ञहरूले राम्रो समाचारको रूपमा लिएका छन् । 
–एजेन्सीको सहयोगमा 
 

सुझावित समाचार