सामान्यतया नेपाली सेयर बजारमा १ वर्षको लाभांश पाएपछि अर्को वर्ष नभई लाभांश नपाउने भएकाले तत्कालै मूल्य बढ्ने सम्भावना हुने गर्दैनथ्यो । लाभांश समायोजनपछि पनि मूल्य खासै नबढ्ने गरेकामा अहिले भने परिदृश्य उल्टिएको छ ।
लाभांश समायोजनपछि बजार पस्ने लगानीकर्ताले समेत मूल्य परिवर्तनका आधारमा औसतमा १६ प्रतिशतसम्म प्रतिफल लिन सकेका छन् । अधिकांश कम्पनीहरूको पुस मसान्तभित्र साधारणसभा सकिने र अर्कोपटकको लाभांशका लागि १ वर्ष कुर्नुपर्ने भएकाले बजारमा पुस मसान्त प्रभाव देखिन्थ्यो । चैत अन्त्यपछि भने वार्षिक वित्तीय अवस्थाको आकलन गर्न सकिने र त्यसै आधारमा लगानी बढ्ने गर्थ्यो । पछिल्ला वर्षमा कम्पनीहरूको वार्षिक साधारणसभा गर्ने क्रम पुसपछि पनि हुन थालेसँगै पुस प्रभाव बजारमा देखिन छाडेको थियो । यद्यपि, कम्पनीहरूको लाभांश समायोजनपछि तत्कालै मूल्य उच्च दरमा बढ्ने भने गर्दैनथ्यो ।
यसपटक बैंकहरूमा रहेको अधिक तरलताको लाभ पाएको बजारमा लाभांश समायोजनपछि पनि अल्पकालीन ट्रेडिङ बढ्दा लगानीकर्ताले अधिकतम १ सय १५ प्रतिशत लाभ उठाउन सके । हालसम्म ६९ कम्पनीको साधारणसभा प्रयोजनका लागि बुक क्लोज भइसकेको छ । यसमध्ये ६० भन्दा बढीले लाभांश घोषणा गरिसकेका छन् । नियमित कारोबार भइरहेका ५९ वटा यी कम्पनीमध्ये मात्रै २ कम्पनीका लगानीकर्ताले नोक्सान व्यहोरेका छन् । अरुण भ्याली हाइड्रो र रिडी कम्पनीको मूल्य समायोजनपछि सेयर खरिद गर्ने लगानीकर्ताले करिब ५ देखि ९ प्रतिशतसम्म गुमाएका छन् ।
एकाधले लाभांशपछि पनि हकप्रद घोषणा गरेकै कारण पनि मूल्य अधिक वृद्धि भएको थियो । त्यस्ता कम्पनीको हकप्रद सेयरको समायोजनपछि पनि मूल्य बढ्दो क्रममा देखिएको छ । नागरिक लगानी कोष यसैको एउटा उदाहरणसमेत हो । कम्पनीको लाभांश समायोजनपछि पनि हकप्रदका कारण मूल्य ५ हजार रुपैयाँसम्म पुगेको थियो । हकप्रद समायोजनले मूल्य २ हजार ९ सय २३ आइपुगेको भए पनि पुनः बढ्ने क्रममा रह्यो । त्यसपछि पस्ने लगानीकर्तालाई समेत करिब १८ प्रतिशतको फाइदा भइरहेको छ ।
४ प्रतिशत बढ्यो नेप्से
गत साता नेप्से परिसूचक ४ दशमलव २० प्रतिशतले बढेर २ हजार २ सय ८६ बिन्दुमा आइपुगेको छ । समूहगत परिसूचकका आधारमा सबैभन्दा धेरै वित्त कम्पनी समूहमा वृद्धि भएको छ । यो समूहको परिसूचक ११ प्रतिशतसम्म बढेर ९ सय ९३ बिन्दुसम्म पुगेको छ ।
४ दिन कारोबार भएको बजारमा २२ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ । सातामा कारोबार रकम सामान्य घटे पनि ४ दिन मात्र कारोबार भएकाले औसत कारोबार रकम भने करिब २५ प्रतिशतले बढेर ५ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । प्रभु बैंकको कारोबार सबैभन्दा धेरै भएको छ । बैंकको ९१ करोड रुपैयाँभन्दा धेरैको कारोबार
भएको हो ।
साताको अन्तिम दिन बनेको डोजी आकृतिले लगानीकर्ता अन्योलमा रहेको संकेत गर्छ । यद्यपि, केही समयदेखि सेयर बजार सानो करेक्सन हुने र थप बढ्ने गर्दै आएको छ । नेप्सेको ७ दिने मुभिङ एभरेज रेखा २१ दिनेभन्दा माथि नै छ । बजार बुलिस प्रवृत्तिमै रहेको यसले संकेत गर्छ ।
