र्याली तथा प्रदर्शन देखिन छाडे पनि आज बेलारुसका नागरिक सानो स्तरको अवरोध तथा प्रतिरोधी संकेत प्रदर्शन गरिरहेका छन्
अगस्ट २०२० को धाँधलीपूर्ण निर्वाचनपछिका सय दिन बेलारुसका राष्ट्रपति एलेक्ज्यान्डर लुकासेन्कोका लागि संघर्षपूर्ण रह्यो । चुनावी धाँधलीको विरोधमा उठेको शान्तिपूर्ण प्रदर्शनलाई दबाउन लुकासेन्कोले कुनै कसर बाँकी राखेनन् । दमनका बाबजुद मिन्स्क र अन्य सहरबाट सुरु भएको र्याली तथा प्रदर्शन बिस्तारै देशभर फैलिएको थियो । सरकारविरोधी ह्याकरले सरकारका वेबसाइट ह्याक गरे । यस क्रममा राज्यको गलत कार्य र सुरक्षा निकायको क्रूरता उदांगो भयो ।
पत्रकारहरूलाई रिपोर्टिङमा प्रतिबन्ध लगाइँदा नागरिकहरूले सम्पूर्ण कुरा आफैँले रेकर्ड गरी पत्रकारको भूमिका निर्वाह गरे । यो राज्यले नागरिकमाथि गर्ने अपराध लुक्न नसक्ने चेतावनी थियो । र्याली तथा प्रदर्शन देखिन छाडे पनि आजसम्म बेलारुसका नागरिक सानो स्तरको अवरोध तथा प्रतिरोधी झन्डा र संकेत प्रदर्शन गरिरहेका छन् । र, लुकासेन्को अझै प्रतिरक्षात्मक रहेका छन् । उनले सम्पूर्ण व्यवस्थाविरोधी ग्राफिटी तथा चित्रकला हटाउन निर्देशन दिएका छन् । व्यवस्थाविरोधी गतिविधिले सरकारमाथि अतिरिक्त बोझ थोपरेको छ ।
तेल तथा खाद्यान्नको न्यून मूल्य, कोभिड–१९ महामारी, युरोप तथा अमेरिकाको प्रतिबन्धका कारण राज्यमाथि गम्भीर वित्तीय भार बढेको छ । यस्तोमा आइएमएफलगायत युरोपेली सहायता निकायले पनि उसलाई वित्तीय सहयोग दिन अस्वीकार गरेको छ । यी कदमबाट कठिनाइ व्यहोरेका लुकासेन्को सार्वजनिक वित्त मिलानका लागि देशको मुद्रा भण्डारणबाट १.५ अर्ब डलर खर्च गर्न बाध्य भए । एक स्वतन्त्र बेलारुसी अर्थशास्त्री अलाक्नोभिचका अनुसार राज्य बिस्तारै आर्थिक पतनतर्फ अघि बढिरहेको छ । सेप्टेम्बर १ मा देशको केन्द्रीय बैंकमा ७.५ अर्ब डलरको सञ्चिति थियो । तथापि तिनमा जम्मा ४० प्रतिशत मात्र विदेशी मुद्रा देखिन्छ ।
अहिलेको स्थितिमा लुकासेन्कोलाई सघाउन सक्ने एक मात्र राष्ट्र रुस हो । तर, रुसी राष्ट्रपतिसँग उनको सौहार्दपूर्ण सम्बन्ध छैन ।
रुबलको विनियम दर ०.३९ डलर कायम छ । यस हिसाबमा बेलारुसको वित्त मन्त्रालयमा रहेको रकम केही महिनासम्म अर्थतन्त्रलाई तुलनात्मक रूपमा स्थिर राख्न सक्षम हुन्छ । तर, त्यसपछि वित्तीय पतनको दर बढ्नेछ र यो थप स्पष्ट हुँदै जानेछ । त्यसले पुनः अर्को चरणको प्रदर्शन निम्त्याउन सक्छ । एलेस अलाक्नोभिचले औँल्याएजस्तै सन् २०२० को बजेट घाटा दुई अर्ब डलर पुग्न सक्छ । र, सन् २०२१ मा सोही दर पुग्न सक्छ । लुकासेन्कोले ऋण तिर्न चार अर्ब डलर ल्याउनुपर्नेछ, साथमा अर्को दुई अर्ब डलर व्यापार घाटा चुकाउन पनि आवश्यक पर्नेछ । अहिलेको कठिनाइको समयमा लुकासेन्कोलाई ठूलो वित्तीय सहयोग दिन सक्ने राष्ट्र रुस मात्र हो ।
तर, आफूले दिएको ऋण फिर्ता गर्न नसक्ने बुझेको रुसले या त ऋण दिन आनाकानी गर्नेछ, या त ऋणका लागि कडा सर्तहरू राख्नेछ । ऋणको बदलामा सायद क्रेमलिनले बेलारुसको राष्ट्रपतिलाई कमजोर बनाउने र रुसी अभिजातहरूलाई त्यहाँको बजारमा खुला प्रवेशको माग राख्नेछ । लुकासेन्कोले यी माग सत्तामा रहेर पूरा गर्न सक्दैनन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र लुकासेन्को एक–अर्कालाई मन पराउँदैनन् भन्ने सबैलाई थाहा छ । वर्षौंसम्म लुकासेन्कोले ‘सार्वभौमसत्ताका लागि तेल’का विभिन्न सहमतिहरू पालना नगरेर क्रेमलिनलाई छक्याइरहे । यही इतिहासका कारण रुसले बेलारुसको प्रदर्शन दबाउन प्रत्यक्ष हस्तक्षेप गरेन । यदि रुसमैत्री उत्तराधिकारी आए भने क्रेमलिनले लुकासेन्कोको पतनलाई सजिलै पचाउन सक्छ । यही उद्देश्यका लागि रुसले आफूनजिकको पार्टी निर्माण गर्न लागेको मस्कोस्थित एक स्वतन्त्र पत्रिका द इन्साइडरले बताएको छ ।
‘पिपुल्स ल’ नाम रहने रुसनजिकको पार्टीले बेलारुसको अर्थतन्त्रलाई थप रुससँग एकाकार गराउने लक्ष्य बोकेको छ । यस पार्टी निर्माण क्रेमलिनले विशेष परियोजना चलाएको र त्यसमा बेलारुसका मिडिया तथा व्यापारीलगायत विपक्षी पार्टीका मानिसलाई संलग्न गराइएको बुझिएको छ । नयाँ पार्टीका विभिन्न नीतिमध्ये एक निजीकरणलाई तीव्रता दिनुपर्ने पनि छ । यस्तो नीतिले रुसी अभिजात वर्ग र सरकारी संस्थानलाई फाइदा पुग्नेछ ।
रुसले विगतमा मोल्दोभा, जर्जिया र अर्मेनियामा पनि अलोकतान्त्रिक सरकारलाई अपदस्थ गर्न आफूप्रति सकारात्मक हिस्सालाई सघाएको इतिहास छ । बेलारुस उल्लिखित मुलुकको तुलनामा क्रेमलिनका लागि निकै महत्वपूर्ण देश हो । रुसले युक्रेनको अनुभवबाट शक्ति प्रयोग नगरिहाल्ला । बरु लुकासेन्कोविरुद्ध भावी दिनमा सुरु हुने आन्दोलन रुसमैत्री शक्ति उदयका लागि सुनौलो अवसर हुन सक्छ । तर, भावी आन्दोलनमा रुस हाबी होला नै भन्ने स्थिति पनि छैन । अहिले सडक शान्त देखिए पनि असन्तुष्टि साम्य भएको छैन । राज्य हरेक स्तरमा मक्किरहेको समयमा भावी धक्काले यो धर्मराउने सम्भावना धेरै छ ।
(स्लाओमिर सिएराकोव्स्की वार्सास्थित इन्स्टिच्युट अफ एड्भान्स स्टडीकी निर्देशक तथा जर्मन काउन्सिल अन फरेन रिलेसनका सिनियर फेलो हुन्)
कपिराइट : प्रोजेक्ट सिन्डिकेट