बहुप्रतिक्षित राष्ट्रिय गौरवको कोसी करिडोर आयोजना सम्पन्न गर्ने नयाँ संशोधित मिति आर्थिक वर्ष २०८०/८१ लाई तोकिएको छ । यो आयोजना थालनी गर्दा अनुमान गरेको भन्दा १० वर्षले ढिलो हो । आर्थिक वर्ष २०६५/६६ मा आयोजना निर्माण थालनी गर्दा कोसी करिडोर आव २०७०/७१ मा सम्पन्न गर्ने लक्ष्य तोकिएको थियो ।
यस आयोजनाअन्तर्गत खाँदबारीदेखि किमाथांकासम्म ट्रयाक खोली दुई लेन सडकमा स्तरोन्नति गर्ने कार्यक्षेत्र रहेको छ । त्यस्तै, लागतमा पनि ठूलो बढोत्तरी भएको छ । आयोजना थालनी गर्दा २ अर्ब ५ करोड ९३ लाख लागत अनुमान गरिएको थियो । तर, अहिले त्यो वृद्धि भएर नयाँ संशोधित लागत १६ अर्ब २० करोड पुगेको छ ।
अहिलेसम्म कति काम भयो ?
आयोजना थालनी भएदेखि चालू आर्थिक वर्ष २०७७÷७८ को कात्तिक महिनासम्ममा कुल २१ प्रतिशत भौतिक प्रगति भएको छ । यो पछिल्लो १२ वर्ष ४ महिनाको प्रगति हो । अहिलेसम्म कुल १६२ किलोमिटरमध्ये १४८ किलोमिटरमा ट्र्याक खुलेको छ भने ६८ किलोमिटरमा ग्राभेल भएको छ । बाँकी १४ किलोमिटरको ट्र्याक खोल्ने कार्य नेपाली सेनामार्फत भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
भौतिक प्रगतिजस्तै वित्तीय प्रगतिमा पनि आयोजना सुस्त देखिएको छ । अहिलेसम्म वित्तीय प्रगति १८ दशमलव ७८ प्रतिशत छ । यो कुल १६ अर्ब २० करोड बजेटमध्ये ३ अर्ब ४ करोड रुपैयाँ मात्र खर्च हुनु हो । आयोजना थालनीका वर्षमा आयोजनाले पर्याप्त बजेट पाएको थिएन । तर, पछिल्लो समयमा भने बजेटको अभाव नभएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।
चालू आवमा ७ किलोमिटर कालोपत्रे र १७ किलोमिट ग्राभेल गरिने
चालू आवमा आयोजनाले ७ किलोमिटर सडक कालोपत्रे गर्ने र १७ किलोमिटर ग्राभेल गर्ने लक्ष्य निर्धारण गरेको छ । त्यस्तै, चारवटा पुल निर्माण गर्ने लक्ष्य छ । कात्तिकसम्ममा २ किलोमिटर कालोपत्रे र ५ किलोमिटर ग्राभेल र दुईवटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेकोमा २ मिटर सडक चौडा गर्ने काम मात्र पूरा गरेको छ ।
त्यस्तै, चालू आवमा कुल ८६ करोड ७४ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा कात्तिकसम्ममा ३ लाख १० हजार रुपैयाँ मात्र खर्च भएको छ । जबकि पहिलो चौमासिकमा ३० लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
आयोजनाका समस्या
विस्फोटक पदार्थको अभाव, मकालु–वरुण राष्ट्रिय निकुञ्जभित्र निर्माण कार्य गर्नुपर्ने हँुदा विभिन्न समयमा निर्माण अवरुद्ध हुने गरेको छ । त्यस्तै, घर–टहराहरू सडक सिमानाभित्र पर्दा मुआब्जासम्बन्धी विवाद हुने गरेको जस्ता विषय रहेको आयोजनाका कार्यालयले जानकारी दिएको छ ।
उत्तर–दक्षिण जोड्ने कोसी करिडोर तथ्यांकमा
सडक कुल लम्बाइ : १६२ किमि दुई लेनको कालोपत्रे सडक
निर्माण थालनी आर्थिक वर्ष : २०६५/६६
संशोधित नयाँ निर्माण सम्पन्न गर्ने आर्थिक वर्ष : २०८०/८१
लाभान्वित जनसंख्या : २६ लाख
संशोधित लागत अनुमान : १६ अर्ब २० करोड रुपैयाँ