हामीले सामाजिक सञ्जालका एप प्रयोगका सम्बन्धमा विकल्प खुला राख्नुपर्छ, तर केही समय अडिएर सोच्नुपर्ने भएको छ
यदि तपाईं ह्वाट्सएप चलाउनुहुन्छ भने यसको आगामी परिवर्तनबारे अवगत भइसक्नुभयो होला । फेब्रुअरी ८ सम्ममा ह्वाट्सएपले आफ्ना हरेक प्रयोगकर्तालाई आफूले गर्न लागेको ‘सर्त तथा गोपनीय नीति अपडेट’को जानकारी दिनेछ । ह्वाट्सएपले परिवर्तनबारे केही लुकाएको छैन । उसका अनुसार आगामी अपडेटले कम्पनीले आफ्नो डाटालाई केकसरी प्रोसेस गर्छ भन्ने कुरालाई प्रभावित गर्नेछ । त्यस्तै नयाँ परिवर्तनपछि विज्ञापनदातालाई केही नयाँ फिचर उपलब्ध हुनेछ, जसले ह्वाट्सएपको सपिङ विशेषतालाई फेसबुकको बृहत्तर व्यवसायसँग जोड्नेछ । पछिल्लो घोषणाले ह्वाट्सएपको प्रयोगकर्ता फेसबुकको उपभोक्ता भएको तथ्यमाथि थप प्रकाश पारेको छ ।
विगतमा यी दुई सेवा पूर्णतः अलग भए पनि यो एकीकरणको प्रक्रियामा अघि बढिरहेको छ । ह्वाट्सएपसँग रहेको सबैभन्दा महत्वपूर्ण डाटा प्रयोगकर्ताबीच हुने संवाद हुन् र तिनलाई अझै उत्तिकै महत्व दिइनेछ । ह्वाट्सएपमा गरिएका च्याट पठाउने र पाउनेले मात्र हेर्न सक्ने गरी इन्क्रिप्टेड हुन्छन् । ती च्याटलाई ह्वाट्सएप वा अरू कसैले समेत चियो गर्न सक्दैन । इन्क्रिप्सन कानुन पालन गराउने निकायबाटै यसमाथि पटक–पटक आक्रमण भएको देखिन्छ । ती निकाय सन् २००० को दशकमा जस्तै फोन कम्पनीबाट म्यासेज मगाएर आपराधिक षड्यन्त्र पत्ता लगाउन सकिने दिनमा फर्कन चाहन्छन् । तर, फेसबुक भने सरकारी दबाबविरुद्ध अडिग भएर उभिने गरेको छ र थप इन्क्रिप्सनतर्फ अघि बढेको छ ।
सन् २०१९ मा इन्क्रिप्सन विस्तारको घोषणासँगसँगै मार्क जुकरबर्गले ‘फोन नम्बर साझा नगरी ह्वाट्सएपमै फेसबुक एकाउन्टमा पठाइएका म्यासेज पाउने व्यवस्थामा’ काम भइरहेको बताएका थिए । घोषणाको दुई वर्षपछि यो लक्ष्य यथार्थनजिक देखिन्छ । अहिले नै फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताले एप नबदली एकअर्कालाई सन्देश पठाउन सक्छन् । फेब्रुअरीमा लागू भएको पछिल्लो परिवर्तनले फेसबुक तथा ह्वाट्सएपको मिलनलाई समेत गहिरो बनाउनेछ । त्यसपछि प्रयोगकर्ताले फेसबुकमा राखिएका विज्ञापनधनीसँग ह्वाट्सएपबाटै अन्तरक्रिया गर्न सक्छन् ।
ह्वाट्सएपले अझै पनि निकै कम डाटा संकलन गर्छ । नयाँ परिवर्तनबाटै आत्तिनुपर्ने अवस्था आइसकेको छैन । तर, गोपनीयतालाई गम्भीरतापूर्वक लिने प्रयोगकर्ताले वैकल्पिक माध्यम खोज्ने सम्भावना छ ।
यदि तपाईंलाई फेसबुक तथा उसको एकदम नजिकको सहायक एप इन्स्टाग्रामको हालको डाटा प्रयोगबाट खासै समस्या छैन भने ह्वाट्सएपको नयाँ परिवर्तनमा पनि चासो नहुन सक्छ । एप्पलले भर्खरै फेसबुकलाई प्रयोगकर्ताबाट केकस्ता डाटा संकलन हुन्छन् भन्ने जानकारी खुलाउन बाध्य गरायो । एप्पलको आइओएस माध्यमबाट फेसबुक सञ्चालन गर्नका लागि यस्तो पूर्वसर्त राखिएपछि फेसबुकले आफूले संकलन गर्ने सय विभिन्न प्रकारका डाटाबारे जानकारी गरायो । उसले संकलन गर्ने धेरैजसो डाटा प्रत्यक्ष रूपमा प्रयोगकर्ताको प्रोफाइल, स्वास्थ्य तथा फिटनेस डाटासँग जोडिएको हुने रहेछ । त्यसबाहेक ‘संवेदनशील सूचना’ र सर्च हिस्ट्री पनि संकलन हुने रहेछ । दुवै खाता भएका प्रयोगकर्ताका लागि ह्वाट्सएपमा केही नयाँ सूचना थप्दा खासै परिवर्तन हुँदैन । तर, नयाँ परिवर्तनपछि एकथरी ह्वाट्सएप प्रयोगकर्तामा फेसबुकको प्रभावविनै एप चलाउन सकिन्छ भन्ने जुन सोच थियो, त्यसमा धक्का लागेको छ ।
दुईवटा एपको बिल्कुल फरक इतिहास तथा उद्देश्यका कारण यो फरक–फरक जनसंख्यामाझ चर्चित छ । ह्वाट्सएप प्रयोगकर्ता यसको इन्क्रिप्सन र विज्ञापनमुक्त प्रकृतिका कारण फेसबुक नचलाई ह्वाट्सएप मात्र प्रयोग गर्छन् । ती प्रयोगकर्ताका लागि पछिल्लो निर्णय महत्वपूर्ण क्षण बनेर आएको छ । हुन त अझै पनि ह्वाट्सएप एकाउन्ट र फेसबुक एकाउन्ट फरक रहनेछन्, तर अब हरेक नयाँ परिवर्तन एउटै दिशातर्फ अघि बढ्नेछ । ह्वाट्सएपले अझै पनि निकै कम डाटा संकलन गर्छ । अहिले नै आत्तिनुपर्ने अवस्था आइसकेको छैन । तर, गोपनीयतालाई गम्भीरतापूर्वक लिने प्रयोगकर्ताले वैकल्पिक माध्यम खोज्ने सम्भावना छ । र, अहिले नै पनि हामीसँग विकल्पहरू विद्यमान छन्, जसमध्ये सिग्नल सबैभन्दा परिचित नाम हो।
ह्वाट्सएपको इन्क्रिप्सन प्रणाली निर्माण गर्ने गैरनाफामूलक संस्थाले विकास गरेको सिग्नल निःशुल्क एप हो । सिग्नलको प्राविधिक मजबुती अन्य कुनै एपभन्दा उत्कृष्ट छ र यसले वर्षौंदेखि आफूलाई प्रयोगकर्ता केन्द्रित सेवाका रूपमा विकास गर्ने प्रयास गरिरहेको छ । सिग्नलप्रतिको विश्वासका कारण इलन मस्कले केहीअघि ट्विटरमा ‘सिग्नल प्रयोग गर्न’ आह्वान गरेका थिए । तपार्इंले अलग एप प्रयोग गर्ने सम्बन्धमा जे निर्णय गर्नुभए पनि भविष्यमा आइपर्ने अवस्थाका लागि भने विकल्प खुला राख्नुपर्छ । हामी सबैले सबै ‘टम्र्स एन्ड कन्डिसन’ पढ्न नसकौँला । तर ‘एग्री (सहमत छु)’ दाब्नुअघि तर केही समय अडिएर सोच्नुपर्ने भएको छ ।
(एलेक्स हर्न द गार्जियनका प्रविधि सम्पादक हुन्)
द गार्जियनबाट